संसदको सबैभन्दा ठूलो शक्ति नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको बलियो दावेदार हुनुहुन्छ । तर,काँग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अभ्यास रहेकाले पर्सि बुधवार हुने दलको निर्वाचनबाट बल्ल त्यसको औपचारिक टुंगो लाग्नेछ । कांग्रेसमा इतर समूहबाट गगन थापाले चुनौती दिने देखिएपनि अंकगणित देउवाको अनुकूल हुँदा दलको निर्वाचन औपचारिक मात्रै हुने धेरैले दावी गरेका छन् ।
यता,०६२/६३ पछिका सबै प्रधानमन्त्रीको प्रस्तावक रहनुभएका माओवादी अध्यक्ष प्रचण्डले पनि यसपटक आफैं सरकारको नेतृत्व लिने चाहना व्यक्त गर्नुभएको छ । तर, निर्वाचनमा माओवादीलाई अपेक्षित परिणाम नआएकाले तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्ने उहाँको चाहना तत्काल र सहजै पूरा हुने देखिंदैन । तथापि संसदमा माओवादीको उपस्थिति निर्णायक रहेकाले उसलाई बाहिर राखेर सरकार बन्ने सहज अवस्था नरहेकाले प्रचण्डको दावी स्वभाविक देखिन्छ ।
त्यसो त,गठबन्धनभित्र प्रधानमन्त्रीमा आलोपालो सहमति भैसकेको स्वयं प्रचण्डले नै सार्वजनिक गर्नुभएको छ । आज गृहजिल्ला चितवनबाट उहाँले त्यसको खुलासा गर्नुभएको हो । आलोपालो गर्न सहमत भए पनि पहिलो खेपमा को प्रधानमन्त्री हुने भन्नेमा भने विवाद देखिन्छ । उमेरले ८० पुगिसक्नुभएका देउवाले मुखै खोलेर अर्को दुई वर्ष कुर्न नसक्ने प्रचण्डलाई सुनाइसक्नु भएको छ । प्रधानमन्त्री दावी गरिरहेका गगन थापालाई ‘देखाइदिन’ पनि पहिलो कार्यकाल आफूले पाउनुपर्ने उहाँको अडान छ भनिन्छ ।
सरकार बनाउन अहिले नै ‘भ्यागुताको धार्नी’ पुर्याउनुपर्ने अवस्था रहेकाले दुई वर्षपछि प्रधानमन्त्री हुनेमा प्रचण्ड पनि ढुक्क हुनुहुन्न । त्यसकारण अहिले नै प्रधानमन्त्री बन्न उहाँले बढी जोडबल गरेको प्रष्टै बुझिन्छ । यही अप्ठेरोका बीच सात दिनभित्र प्रधानमन्त्रीको उम्मेदवार ‘फाइनल’ गर्नुपर्ने दबाबमा परेका गठबन्धनका नेताहरुले दुवै तहका सरकारको नेतृत्वसहित पावर शेयरिङ प्याकेजमै गर्ने तयारी थालेको चर्चा छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दावी बढाएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले भागबण्डाको सहमति प्याकेजमै गर्नुपर्ने अडान राखेको बताइन्छ ।
यता,गठबन्धनभित्र दुवै तहका सरकारको नेतृत्वसहित प्रमुख पदहरुमा प्याकेजमै सहमति जुटेको विश्वस्त स्रोतले दावी गरेको छ । उक्त स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रबीच अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने पूर्वसहमतिअनुसार पहिलो खेपमा देउवालाई प्रधानमन्त्री दिन प्रचण्ड राजी भएपछि सहमति बनेको हो ।
सरकारको नेतृत्व कांग्रेसले पाउँदा माओवादीले सभामुखसहित महत्वपूर्ण मन्त्रालय लिने र एकीकृत समाजवादीलाई राष्ट्रपति दिने मोटामोटी सहमति जुट स्रोत दावी गर्छ । सहमतिअनुसार उपराष्ट्रपति माओवादी र उपसभामुख कांग्रेसको भागमा परेको छ । प्रदेशको हकमा काँग्रेसले चार र माओवादीले दुई अनि समाजवादीले १ प्रदेशको सरकारमा नेतृत्व लिने सहमति जुट्न सक्ने स्रोत बताउँछ ।
हिजोसम्म प्रधानमन्त्रीमै रस्साकस्सी गरिरहेका दलहरुबीच रातारात यस्तो सहमति कसरी सम्भव भयो ? गोप्य स्रोतका अनुसार भारतीय दूतावासले यसमा भूमिका खेलेको छ । नेपालको सत्ता समीकरण मिलाइदिन भारतीय खुफिया एजेन्सी “र” का दुई जना पूर्वअधिकारीहरु हिजो काठमाडौँ उत्रिएको पनि त्यही स्रोतले दावी गरेको छ ।
त्यसो त,चुनावको प्रारम्भिक परिणाम सार्वजनिक हुँदै गर्दा भारतीय राजदूत नविन श्रीवास्तवले दलका शीर्ष नेताहरुलाई पालैपालो भेटेर यहाँको सत्ता राजनीतिमा प्रत्यक्ष चासो व्यक्त गरेका थिए । अघिल्लो हप्ता भारतीय दूतावासका एक कर्मचारी नविनकुमारले सुनाएको पावर शेयरिङको सूत्रअनुसार नै अहिले सहमति बनेको स्रोतले बतायो ।
जुम्ला दर्पण । ४ पुष २०७९, सोमबार २२:०५