शुभाकर विश्वकर्मा,जुम्ला
खसिया : खस जाति वा मानिस
आखर :शब्द,अक्षर वा रेख
खसिया र आखर खस शब्द हुन् । यी दुई खस शब्द संयोजन गर्दा ‘खसिया आखर’हुन्छ । खस भाषा कथ्य रूपमा मात्रै जीवित छ । जुम्लामा नेपाली भाषाको पनि माउ भाषाको रूपमा रहेको खस भाषालाई समेटेर शब्दकोशको रूप दिने काम भइरहेको छ ।
शब्दकोश लेखन सुरू भएको पनि लामो समय भइसक्यो । कथ्य रूपमा मात्रै जीवित रहेको खस भाषाका शब्द संकलन गरेर शब्दकोशको रूप दिने काममा सक्रिय छन्, ७८ वर्षीय रमानन्द आचार्य । उनी ‘खसिया आखर’का प्रधान सम्पादक हुन् ।
‘बाह्र वर्षपछि खोलो पनि फर्किन्छ’ भने झै ‘खसिया आखर’ लेखन सुरू भएको १३ वर्षपछि शब्दकोश प्रकाशित हुने भएको छ । खसिया आखर (नेपालीको केन्द्रीय (माझाली) भाषिकाको शब्दकोश) नाममा खस भाषाको शब्दकोशका रूपमा प्रकाशित हुनेछ ।
खसिया आखर शब्दकोशका प्रधान सम्पादक रमानन्द आचार्य
२०६५ सालमा आाचार्यको व्यक्तिगत पहलमा ‘खसिया आखर’ लेख्न सुरु गरिएको थियो । अनौपचारिक रूपमा २०६५ सालमा शब्दकोश लेखनको पहल भएपनि २०७७ सालबाट औपचारिक रूपमा सुरू भएको आचार्य बताउँछन् । पछि तत्कालीन जिविस,हाल (जिल्ला समन्वय समिति), प्रधान सम्पादक रहेका आचार्य र जुम्ली अगुवाले शब्दकोश लेखनको लागि पहल गरेका थिए ।
शब्दकोश लेखन सुरू भएको मात्रै १३–१५ वर्ष पुगिसकेको छ । अब भने वयोवृद्ध आचार्यको ‘खसिया आखर’ सपना पुरा हुने चरणमा रहेको पुगेको छ । प्रधान सम्पादक आचार्यका अनुसार शब्दकोश प्रकाशनको अन्तिम तयारीमा छ । शब्द संकलन र लेखन सकिएको उनले बताए । यसका लागि पाँच सदस्यीय समिति समेत गठन गरिएको थियो ।
सुरूमा समितिमा रहेका सदस्यहरूले विभिन्न स्थानमा गएर शब्द संकलन गरेका थिए । तर, शब्दकोशलाई अहिलेको अवस्था सम्म पुर्याउन भने आचार्य अहोरात्र खटिएका थिए÷छन् । ‘निकै ठुलो उतारचढाव र अभावका बाबजुद एउटा सपना पुरा हुँदै छ । शब्द संकलन लेखन र कम्पुटाइज्ड सम्पन्न भएको छ । ‘अ’देखि ‘ज्ञ’ वर्णसम्मका शब्द संकलन,लेखन र ‘कम्प्युटराइज्ड’ गरिसकिएको छ’, आचार्य भन्छन्, ‘अन्तिम सम्पादन भइरहेको छ । दशैपछि प्रेसमा जान्छ ।यो वर्षभित्रै शब्दकोश प्रकाशित गर्ने मेरो लक्ष्य छ ।’
शब्दकोशका लागि अन्दाजी ३०–३५ हजारसम्म शब्द संग्रहित भएको हुन सक्ने भन्दै अहिले शब्द एकिन नभएको उनको भनाइ छ । शब्दकोश १ हजार पृष्ठसम्मको हुनेछ । शब्दकोशमा अनुमानित ४० हजार भन्दा बढी शब्द अटाउनेछन् । कर्नालीका झर्रा खस शब्द मात्र समेटिनेछन, ‘खसिया आखर’ मा । शब्दकोश प्रकाशनपछि नेपाली बृहत शब्दकोशमा समावेश भन्दाबाहेकका शब्दहरू थपिनेछन् । खस भाषालाई संस्थागत बनाउनेछ,शब्दकोश प्रकाशनले ।
‘खसिया आखर’ व्याकरणमा नयाँ नियम अवलम्बन हुन्छ,’भाषाविद् समेत रहेका आचार्य भन्छन्,‘खस भाषा अभिलेखिकरणमा महत्वपूर्ण भुमिका खेल्नेछ । भाषिक अनुशासन यसमा पाइनेछ ।’ शब्दकोशमा धेरै शब्द समेट्न बाँकी रहेको उनी बताउँछन् । जुम्लामा बोलिने यावत् शब्द मध्य २५(३० प्रतिशतसम्म मात्रै समेटिएका छन् । कर्नाली शब्दको धनी भएको र ती शब्दको अभिलेख राख्न जरूरी रहेको उनले बताए ।
खस राज्यको पहिचान जीवन्त राख्न ‘खसिया आखर’ शब्दकोश
विसं १८४६ पूर्व ‘खस’ राज्य शक्तिशाली थियो । १८४६ मा तेस्रो प्रयासमा बहादुर शाहका सेनासँग पराजित भएपछि खस राज्य कमजोर हुन थाल्यो । उहिले देखि अहिलेसम्म कर्नाली क्षेत्र सत्ताको उपेक्षामा रहदै आएको छ । यहाँको भाषा समेत सझै ओझेल मै रहयो । उक्त शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न ‘खसिया आखर’ शब्दकोश निर्माण गर्न थालिएको भाषाविद् आचार्यले बताए ।
खसिया आखरका प्रधान सम्पादक आचार्य कार्यकक्षमा
शब्दकोशमा तत्कालीन खस राज्य सिंजा उपत्यकाभित्र र त्यस वरपरका बस्ती तथा कर्नालीमा बोलिने भाषामा प्रयोग हुने शब्द सङ्गृहीत छन् । खस भाषा अहिले कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न ‘खसिया आखर’ निर्माणमा लागिएको हो ।
यसका लागि आचार्यहरूले डोल्पाको तलिभोटान, कालिकोटको रासकोट, मुगु र हुम्लाका विभिन्न गाउँ पुगेर शब्द संकलन गरेका हुन् । समिति सदस्यहरू गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं,दयादत्त हमाल लगायतले सहयोग गरेका थिए ।
पुराना शब्द संकलनमा सिंजाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तुंगानाथ उपाध्यायको पनि सहयोग रहेको छ । खस भाषा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोश आवश्यक रहेकोमा उनको जोड छ ।
‘खसिया आखर’का केन्द्रबिन्दु : भेक र दरा
शब्दकोशमा भेक र दरालाई मुख्य केन्द्रबिन्दु बनाइएको छ । जुम्लाका सिंजा, पाँचसय, चौधबीस र असी भेकलाई केन्द्रबिन्दु बनाइएको हो । यसमा पहिलो असी दराली भाषिकाका उपभाषिकाभित्र असीदरा, पाँचसय दरा, सिञ्जा दराका शब्द राखिएका छन्। दोस्रो, तिब्रिकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन्।
तेस्रो, रास्कोटी भाषिकाभित्र कालिकोटमा बोलिने भाषा छन्। चौथोमा मुहु भाषिकाभित्र मुगु र हुम्लामा बोलिने भाषालाई समावेश गरिएको छ। यतिमात्र होइन ठाउँ ,गाउँ र जात अनुसार फरक बोलिने शब्द समेत समेटिएको छ । जीवनको उत्तरार्धमा नयाँ पुस्तालाई महत्वपूर्ण कोसेली छोड्न अहोरात्र खटिएका आचार्यको साधनाले मुर्तरुप पाउँदैछ ।
जुम्ला दर्पण । २७ भाद्र २०८०, बुधबार ११:५०