कविता: छोरी हुनु अभिषाप हो र ?

गर्भदेखि यो सुन्दर धर्तिमा
आउनबाट नै वञ्चित हुनपर्ने
पटकपटक किन मारिन्छन् ?
छोरा जन्माउने आशमा स्याहार सुसार
पाइरहेकी आमा जब पेटमा छोरी छ
भन्ने थाहा पाएपछि किन अपमान र हिंसा गरिन्छ ?

आमाको पेटमा खेलीरहेको सन्तान
जब डाक्टरले तपाईँको गर्भमा
छोरी हुर्किरहेको छ भने’सि
किन भ्रुण हत्या गराइन्छ ?
किन छोरीलाई यो संसार हेर्ने अधिकार पनि दिइँदैन ?
के छोरी हुनु साच्चै अभिषाप हो र ?

कसैको कोखबाट धर्तिमा जन्मिएपछि,
शुभ र अशुभ, लछिन र अलक्षिनको आरोप छोरीमाथि नै किन लगाइन्छ ?
बढ्दै जाने क्रममा अनेक दु:ख पाउनु पर्ने,
महिनावारी हुदाको पीडा खेप्दै गर्दा
बाबा र दाजुभाइले देख्न समेत किन नहुने ?

मैले टेकेको र मैले छोएको ठाउँ
अपवित्र कसरी हुन्छ ?
म कसरी अछुत र अपवित्र ?
छाउपडीको पीडा , बढ्दै जाँदा पुरुषको गिद्दे नजर ,
किन मैले यी सबै अन्याय सहन पर्ने ?
के छोरी हुनु अभिषाप हो ?

मलाई डर यही कुराको लाग्छ कतै एक्लै हुदा ,
कतै मलाई कुनै पुरुषले बलात्कार गरेर जीवनको अन्त्य त गरिदिदैन मेरो ?
जब म बलात्कृत हुन्छु ,
आफूले आफूलाई मार्न पर्ने अवस्था आउँछ ,
मैले चाहेर त म बलात्कार हुँदिन नि!
म अन्यायमा पर्दा न्यायको सट्टा,
अपहेलित हुन्छु , समाजको नजरमा गलत बन्छु,

मेरो पनि त आफ्नो सपना छ,
मेरो पनि त धारणा छ ,
मेरो पनि रहर छ,
म पनि उड्न चाहान्छु पखेटा फिँजाएर,
म पनि त बग्न चाहान्छु ,
त्यो नदी जस्तै सबै भुलेर,
तर म यो सबै अधिकारबाट वञ्चित छु,
के छोरी हुन अभिषाप हो र ?

बुहारी बनेर कसैको घरमा भित्रिन्छु,
त्यहाँ पनि मैले नै अपहेलित हुनपर्छ,
शिरको सिउँदो खोसिन्छ,
म विधुवा हुन्छु ,
त्यहाँ पनि म अन्यायमा पर्छु,
मैले कसैसँग बोल्दा,
म गलत हुन्छु,

जब म गरिब हुन्छु,
बोक्सीको आरोप पनि मेरै शिरमाथी थुप्रिन्छ,
यी सबै त छँदै छ नै ,
मलाई आनन्दले मर्ने अधिकार पनि छैन,
म मरेँ भने पनि मैले गल्ति गरेर नै मरेको हुन्छु त !
यो प्राकृतिक प्रक्रिया हैन र !
के म छोरी हुनु अभिषाप हो र ?

ललीता गजमेर/ सिन्धुपाल्चोक