ज्ञानेन्द्र शाही भन्छन : जुम्लाको विकास मैले मात्रै गरे भन्दिन

विद्युतीकरण, कृषि उपज बजारीकरण गर्नेदेखि ढटेलो र चोतो ब्राण्डिङ गर्ने आश्वासन

जुम्ला : प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले जुम्ला जिल्लाको विकासका लागि सबैको साझा पहल आवश्यक रहेको बताएका छन् । आफू निर्वाचित भएदेखि जुम्ला जिल्लाको विकासका लागि परेको उनले बताएका हुन् । सोमबार नेपाल पत्रकार महासंघ जुम्लाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्य शाहीले आफ्ना पाँच चुनावी एजेण्डा अनुसार काम गरिरहेको बताए ।


उनका अनुसार जुम्लाको विद्युतीकरण, कर्णाली राजमार्ग र सहायक सडक स्तरोन्नती,कृषि सामग्रीको बजारीकरण,जुम्ला विमानस्थल विस्तार लगायतका काम भइरहेको छ । ‘म मेरा चुनावी ऐजेण्डामा स्पष्ट छु । एक वर्षको अवधिमा सक्ने जति पहल गरेको छु । पाँच वर्षमा नाग्म गमगढी सडक खण्ड कालोपत्रे गर्नुछ । विद्युतीकरण हुनेछ । ढटेलो र चोतो ब्राण्डिङ गर्नुछ ।’ उनले भने । जुम्ला विमानस्थल स्तरोन्नतीका लागि आफूले सुरुदेखि नै पहल गरेको दाबी गरे ।


पछिल्लो समय जुम्ला विमानस्थलको बहस चलिरहेको बताउँदै आफू निर्वाचित हुन वित्तिकै पर्यटन मन्त्रालयमा सबैभन्दा पहिला पत्राचार गरेको शाहीले जानकारी बताए । कुनै अमुक नेताको पहल भन्दा पनि आवश्यकता भएर सरकारले निर्माण गर्न लागेको उनले बताए ।
जुम्लाबाट प्रतिनिधित्व गर्ने चार जना सांसद मिल्न नसकेको पत्रकारको प्रश्नमा प्रतिनिधिसभा सदस्य शाहीले म कहिले पो नमिलेको छु त भन्दै प्रति प्रश्न गरे । शाहीले भने,‘ म पार्टीको प्रमुख सचेतक छु । सिंहदरबारमा मेरो कार्यकक्ष छ । जुम्लाबाट निर्वाचित सांसद म,अरु पार्टीका सांसद (पार्टीले बनाएका सांसदहरु) बसौ भन्दा नमान्ने, हस्ताक्षर गरौ भन्दा नमान्ने । तीन जना जम्मा भयौ । कोही आउँदैनन् त मेरो के दोष हजुर ?,’
अधिकांश समय समसामयिक विषयमा पत्रकारको उत्तर दिएका शाहीले केही व्यक्तिगत प्रश्नमा समेत सवाल जवाफ गर्न भ्याए । पत्रकार सम्मेलनमार्फत उनले आफू विवाहित भएको पनि स्वीकार गरे । यही असोज १० गते म्यारिच ऐनिभर्सरी भएको समेत खुलासा गरे ।
यस्तै जुम्लाबाट निर्वाचित भएपछि अर्थमन्त्री बन्छु भन्नु भएको थियो नी भन्ने प्रश्नमा आफूले त्यसको लागि प्रयास गरेको बताए । पार्टी सरकार जाँदा आफ्नो पार्टीले अर्थ मन्त्रालय नपाएको समेत बताए । पार्टीले आफूलाई खेलकुद् मन्त्री बन्न अफर गरेपनि आफूले अस्वीकार गरेको उनको भनाइ थियो । आफूले पर्यटन र उर्जा मन्त्रालयमा जान खोजेको भन्दै अन्त्यमा पार्टी अध्यक्ष जाने भएपछि आफू सरकारमा नगएको शाहीले जानकारी दिए । यद्यपी जुम्लाको प्रतिनिधि अहिले राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेको उनले बताए ।