आईएनएफको समावेशी स्वास्थ्य सेवा परियोजनाको सामाजिक परिक्षण सम्पन्न

जुम्ला- जुम्लाको हिमा गाउँपालिका र तिला गाउँपालिका सञ्चालित आई.एन.एफ.नेपालको समावेशी स्वास्थ्य सेवा परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । तिला मल्टिप्रपोज प्रालिको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो । आईएनएफद्धारा हिमा र तिलामा लागु भएको समावेश स्वास्थ्य सेवा परियोजनाको कार्य प्रगति,अवधि,बजेट,कार्यक्षेत्र र परियोजनाको क्षेत्रबारे व्यापक समिक्षा गरिएको समावेशी स्वास्थ्य सेवा परियोजनाका अधिकृत राम बुढामगरले जानकारी दिनुभयो ।
सो परियोजना अन्र्तगत भएका गतिविधिहरु र संस्थाको संस्थागत आर्थिक सुशासनदेखी संस्थाले विगतका वर्षहरुमा संचालनमा ल्याएका कार्यक्रम तथा परियोजनाहरुले लक्षित समुह अधिकारवाल वा लाभान्वित समुहमा पारेका प्रभावहरुका बारेमा मुल्यांकन तथा समीक्षात्मक विश्लेषण गर्ने उद्देश्यले सामाजिक परिक्षण गरिएको परियोजनाका अधिकृत बुढामगरको भनाइ छ ।
आई.एन.एफको समावेशी स्वास्थ्य सेवा परियोजनाले तिला गाउँपालिकामा अपाङ्गता र स्वास्थ्य क्षेत्रमा नमुना काम गरेको छ । यहाँका स्वास्थ्य चौकीमा पालिकाको लागत साझेदारीमा अपाङ्गता मैत्री संरचना निर्माण,आवश्यकयुक्तामा आधारित अपाङ्गता सहायत सामग्री प्रदान र अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता मैत्री घरको संरचना परिमार्जन गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।
विशेषगरि अपाङ्गता क्षेत्रमा उक्त परियोजनाले उपलब्धीमुलक कार्यक्रम संचालन गरेको तिलाका वडाध्यक्षहरुको भनाइ छ । हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र राज्यबाट दिने सेवा सुविधाबारे जानकारी लिन र दिन सो परियोजनाले यहाँका अपाङ्गता व्यक्तिलाई सशक्तिकरण गरेको बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउनका लागि उद्यमशिलतामा जोड्नका लागि पालिकाले भावी योजना तथा कार्यक्रमका लागि आइ.एनं.एफसंग सहकार्य र समन्वय गरेर काम गरिने हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले जानकारी दिनुभयो । परियोजनाको अवधि डिसेम्बर २०२२ देखी डिसेम्बर २०२५ सम्म रहेको छ । कार्यक्षेत्र मुगु र जुम्लामा लागु भएको छ । जुम्लाको हिमा र तिलामा यो आवको परियोजनाको जम्मा बजेट १ करोड ४० लाख ९५ हजार ९५२ रुपैयामध्ये १ करोड ३५ लाख १७ हजार खर्च भएको छ । ५ लाख ७८ हजार खर्च भएको छैन । समग्र परियोजनाको ९५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको परियोजना अधिकृत बुढामगरले जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण एवं परिचालनका लागि तिलामा १४ र हिमामा १२ वटा गरि २६ वटा अपाङ्गता समुह गठन गरिएको छ । दुई वटै पालिका ६१९ जना अपाङ्गता भएका व्यक्तिहरु सो परियोजनामा समेटिएको आई.एन.एफ.नेपालको समावेशी स्वास्थ्य सेवा परियोजनाले जनाएको । कार्यक्रमका सहभागीले उठाएका जिज्ञाशाहरुको उत्तर परियोजना अधिकृत बुढामगले दिएका थिए ।