तातोपानी गाउँपालिका : बेसाहाराको साहारा,असहायको सारथी

शुभाकर विश्वकर्मा,जुम्ला
तातोपानी–३ की लाउरी रावल लामो समयदेखि माससिक समस्यासँग जुधिरहेकी थिइन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उनको उपचार गर्न सकेका थिएनन् । रावलको मानसिक सन्तुलन समेत गुमेपछि परिवारले अस्पताल पु¥यायो । त्यतिबेलासम्म लाउरीले पूर्ण रुपमा मानसिक सन्तुलन गुमाइसकेकी थिइन् । केही दिनको सामान्य उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचारका लागि जिल्ला बाहिर लैजानु पर्ने बतायो । लाउरीको उपचारको लागि जिल्ला बाहिर लैजान सक्ने आर्थिक हैसियत परिवारको थिएन । परिवारले सरोकारवाला गुहार्यो ।
स्थानीय सरकार समस्यामा परेका रावल परिवारको साहारा बनिदियो । उनको उपचारको जिम्मा गाउँपालिकाले लियो । केही दिनको प्रयासपछि तातोपानी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्व्यमा पाटन अस्पताल पु¥याइयो । गाउँपालिकाको सहयोगमा केही महिना उपचारपछि लाउरी निको भइन् । गाउँपालिकाको सहयोगमा पुनस्थापित भएकी लाउरी भन्छिन्,‘गाउँपालिकाले धेरै ठूलो सहयोग गरेको छ । अहिले मेरो अवस्था ठिकै छ । अहिलेपनि गाउँपालिकाको सहयोग पाइरहेकी छु ।’

अहिले तातोपानी गाउँपालिकाले लाउरीका २ जना छोराछोरीलाई पालनपोषण गरिरहेको छ । लाउरीका लागि मासिक रुपमा खाद्यन्न सहयोग गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई बताउँछन् । अध्यक्ष चौलागाईका अनुसार विपन्न आवास कार्यक्रम अन्तर्गत लाउरीको घर समेत पालिकाले बनाइदिएको छ । विगत एक वर्षदेखि गाउँपालिकाले मासिक ३० केजी चामल, नुन,तेलसहित खाद्यन्न सहयोग गरिरहेको छ ।
यस्तै,तातोपानी–७ का एक दृष्टिविहीन दम्पतिपनि लामो समय बेवारिसे अवस्था थिए । उनीहरुको घरको आर्थिक अवस्था कमजोरी थियो । श्रीमान र श्रीमती दुवै जना दृष्टिविहीन भएकाले घरमा आम्दानीको स्रोत थिएन । साँझ विहान हातमुख जोर्न समेत धौधौ भएका उनीहरु अहिले भने पक्की घरमा बस्छन् । रोजीरोटीका लागि खर्च समेत स्थानीय सरकारले व्यवस्थापन गर्दै आएको छ । गाउँपालिकाको सहयोगमा दृष्टिविहीन दम्पति मानबहादुर कुँवर र गोरीकला कुँवरका लागि पक्की आवास निर्माण भएको छ । उनीहरुले अहिले उक्त आवास मै बस्दै आएका छन् । ‘दुवै परिवार दृष्टिविहीन थिए । उनीहरु गाउँपालिकासम्म पुग्दा अवस्था नाजुक देखियो । त्यसपछि स्थानीय सरकारले साहारा दिएको छ,’ जुम्लादर्पणसँग कुराकानी गर्दै अध्यक्ष चौलागाईले भने ।


मानसिक सन्तुलन गुमाएका तातोपानी–६ हियाँखोलाका सन्तोष सुनारको पनि हाल काठमाडौँमा उपचार भइरहेको छ । उनलाई घरदेखि काठमाडौँसम्म पु¥याउन गाउँपालिकाले सहयोग गरेको थियो । गाउँपालिकाको एम्बुलेन्समार्फत एकतर्फीको पेट्रोल खर्च व्यहोरेको अध्यक्ष चौलागाईको भनाइ छ । सन्तोषका दाई डिल्ली कामीले भाइको स्वास्थ्य अवस्था सुधारउन्मुख अवस्थामा रहेको बताए । उनका अनुसार सन्तोषको लागि उपचारका लागि गाउँपालिकाले पनि सहयोग गरेको छ । भाईलाई काठमाडौँ ल्याउन सवारीको समस्या हुँदा गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएको डिल्ली बताउँछन् ।
मानव सेवा आश्रमबाट तीन जना घर फर्किदै
लाउरी, मानबहादुर दम्पति र सन्तोष मात्रै होइन गाउँपालिकाले सडकमा अलपत्र परेका, अपांगता भएका तथा बेसाहाराहरुलाई साहारा दिएको छ । गाउँपालिकाको अगुवाई र समन्वयमा सुर्खेतस्थित मानव सेवा आश्रममा पु¥याइएका तीन जना घर फर्किदैछन् । यही दशैँमा तीनै जना घर फर्किने गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।

घर फर्किने तातोपानी–२ का ठक्करे कामी,नरेश कामी र तातोपानी–४ की मल्के पाण्डे रहेका छन् । उनीहरु गत वर्ष मात्रै सुर्खेतस्थित मानव सेवा आश्रममा पठाइएको थियो । ठक्केरे र नरेश जर्मी गाउँका हुन् । उनीहरु लामो समयदेखि मानसिक स्वास्थ्य समस्याले ग्रसित थिए । दुवै जनालाई परिवारको आग्रहमा गाउँपालिकाले व्यवस्थापन गरेको थियो । ‘हामीले गत वर्ष तीन जनालाई सुर्खेत पठाएका थियौँ । उनीहरु अहिले सन्चो भइसकेका छन् । यहि दशैँमा घर आउँदैछन्,’ चौलागार्ईले भने ।

गाउँपालिकाले हरेक वर्ष विविध खर्च शीर्षकमा बजेट छुट्याउँदै आएको छ । सोही बजेटबाट गाउँपालिकामा निवेदन दिएका विपन्न नागरिकहरुलाई सहयोग गर्दै आएको छ । वडाबाट सिफारिस गरिएका र सिधै गाउँपालिकामा निवेदन परेकाहरुको सम्पूर्ण आवस्था बुझेर आवश्यकता अनुसार सहयोग गर्दै आएको अध्यक्ष चौलागाईको भनाइ छ । यस्तै वर्षेनी गाउँपालिकाले गाउँपालिकाका विभिन्न बस्तीका नागरिकहरुलाई समेत सहायता प्रदान गर्दै आएको छ ।