नेपाल पत्रकार महासंघ जुम्लाद्धारा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम- jumladarpan.com

जुम्ला । जुम्लाका सरोकारवालाले नयाँ वर्ष–२०८२ लाई जिल्लाको विकास र आर्थिक समृद्धीको वर्ष बनाउनु पर्नेमा जोड दिएका छन् ।  जिल्लाको भौतिक विकास,आर्थिक समृद्धी,उत्पादन बृद्धि तथा किसानको आयस्तर बृद्धिको वर्षका रुपमा नयाँवर्षलाई विकास र समृद्धीको वर्ष बनाउन जोड दिएका हुन् ।

आईतबार नेपाल पत्रकार महासंघ शाखा जुम्लाद्धारा आयोजित नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले गएको वर्षको समिक्षा गर्दै नयाँ वर्षलाई समृद्धीको वर्ष बनाउनु पर्ने बताए । जिल्लाको विकासका लागि दलगत स्वार्थ भन्दा माथि उठ्न आबश्यक छ ।

उनले भने,‘जुम्लाको स्याउलाई आर्थिक समृद्धीको आधार बनाउन हामी एकै ठाउँमा उभिन आबश्यक छ । प्रदेश सरकारले जुम्लाको कृषि उत्पादनलाई ब्राण्डिङ गर्न ठोस नीति ल्याउन सकेको छैन् । हाम्रो पहल जारी छ । जिल्लाको भौतिक विकासमा हुनुपर्ने जती अझै भएको छैन् । २०८२ लाई विकासको वर्ष बनाउन हामी एकमत हुन आबश्यक छ ।

जुम्लाको समृद्धीका लागि तीन क्षेत्र–उर्जा,कृषि र पर्यटनसंगै पूर्वाधार विकासमा विशेष जोड दिन आबश्यक छ । आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाएर जुम्लामा विकास बजेट भित्रयाउन सबै केन्द्रित हुनु पर्नेमा प्रदेश सभा सदस्य शाहीको जोड छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आर्चायले २०८१ मा जुम्लाले कृषि क्षेत्रबाट राम्रै लाभ लिएपनि पूर्वाधार विकासमा सोचेजस्तो काम हुन नसकेको बताए । बहुउदेश्यीय सभाहल देखी विद्युत आयोजना वर्षौदेखि अलपत्र छन् । उनले भने,‘विकासका मुद्धामा दलहरु अझै एकैठाउँमा उभिन सकेका छैनन् । जिल्लाको हितका लागि एक हुनुको विकल्प छैन् । २०८२ समृद्धीको वर्ष बनाउन सबैले आआफ्नो तहबाट सहयोग गरौ । सहकार्य गरौ ।’

त्यसैगरी पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा,भूमि आयोग जुम्लाका अध्यक्ष सुरत बहादुर शाही,नेपाली काँग्रेसका उपसभापति कार्मा बुढा,नेकपा एमालेका अध्यक्ष शान्तिलाल महत लगायतका वक्ताले नयाँ वर्षलाई समृद्धीको वर्ष बनाउन एकमत रहेको प्रतिबद्धता गरे ।

उनिहरुले पूर्वाधार विकास,उर्जा,खानेपानी,सिँचाई,उत्पादन बृद्धिका सवालमा कसैले राजनीति रंग देखाउन नहुने र विकासका मुद्धामा एकजुट हुनु पर्नेमा जोड दिएका छन् । भने पत्रकारहरुले जिल्लाको सुशासन,विकास र सेवा प्रवाहका विषयमा सुक्ष्म रुपमा अध्यायन गरी सुसुचित बनाउन सुझाब दिएका छन् ।

पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले आम नागरिकको जनजीवन संग ठोकिने हरेक विषयमा पत्रकारहरुले प्रथामिकता साथ पैरबी गर्ने बताए । विकास र समृद्धीसंगै नयाँ वर्षलाई सुशासन वर्ष बनाउनु पर्ने जोड दिए । विकासमा हुने अनियमितता,सेवा प्रवाह हुने ढिलाई लगायतका समस्याहरुको अन्त्य गर्न संचार माध्यमले निरन्तर खबरदारी गर्ने उल्लेख गरे ।

कार्यक्रममा सहभागी शसस्त्र प्रहरी बल,नेपाली सेना,नेपाल प्रहरी राष्ट्यि अनुसन्धान केन्द्रका प्रमुख,विषयगत कार्यालयका प्रमुख लगायत सबै सहभागीले शुभकामना सन्देश दिएका थिए  ।