मनसुन पदयात्राको उत्कृष्ट गन्तव्य : बाजुराको बडीमालिका र त्रिवेणीपाटन (फोटोफिचर)

 काठमाडौँ – धार्मिक रूपले निकै महत्वपूर्ण शक्तिपीठ हो बडीमालिका। तर हामी सबैले कल्पनामा राखेको सुन्दर फाँटहरूका तस्बिर भने त्रिवेणीपाटनका हुन्। प्रचारप्रसारको सुरूआती दिनमै बडीमालिका भनेर तस्बिरहरू बाहिर आएपछि धेरैको मनमा त्यस्तो पर्न गएको हो।

त्रिवेणीपाटन वरपरका थुम्काहरूमध्ये सबैभन्दा पश्चिमपट्टिको थुम्कामा अवस्थित छ बडीमालिका मन्दिर। हरेक साल यहाँ बाजुरा, अछाम र कालीकोटका स्थानीयसँगै नेपालभरिका तीर्थारुहरूको भीड लाग्ने गर्छ। सुदूरपश्चिममा पर्ने भए पनि यहाँ पुग्न पहिलेजस्तो लामो समय लाग्दैन।

त्रिवेणीपाटनको भूबनोट त आश्चर्यमयी छ नै, सँगै परम्परासम्म फैलिएको विशाल पाटन र ‘विन्डोज एक्सपी’ को वालपेपरजस्ता पहाडहरूसँगै भातीज्युलका साना पोखरीहरू अनन्य छन्। नेपालभरिमै सायदै यस्तो भूगोल अन्त कतै पाइएला

बर्खामासमा यहाँ बसाइएका गोठ र त्रिवेणी धामका धर्मशालाले बसाइ केही सहज बनाइदिन्छ। मौसम खुलेको बेला अपि र साइपाल श्रृंखला देखिन्छ भने रातमा नांगो आँखाले ‘मिल्की वे’ नियाल्न अर्कै आनन्द हुन्छ। सँगसँगै पाटनदेखि बडीमालिका सम्मको यात्रा उत्तिकै रोमान्चक छ।

जनै पूर्णिमाकै बेला पुगे त झन् कर्णाली र सुदूरपश्चिमका फरक लाग्ने बोली र संस्कृतिसँग प्रत्यक्ष उठबस गर्न पाइन्छ। प्राकृतिक सुन्दरता सँगसँगै तीर्थ गरेको पुण्य आर्जन त हुने भैहाल्यो।

कसरी जाने

नेपालगन्जबाट धनगढी हुँदै बाजुराको मार्तडी अथवा कालीकोटको मुम्राबाट लगभग डेढदेखि दुई दिनको हिँडाइमा त्रिवेणीपाटन पुग्न सकिन्छ। त्रिवेणीपाटनबाट बडीमालिका करिब चार घण्टाको दूरीमा छ।