कृषि विकास बैंक द्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘वाटर वर्ड’ मेसिन हस्तान्तरण

जगत तिरुवा

जुम्ला । कृषि विकास बैंक लिमिटेड जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘वाटर वर्ड’ मेसिन हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रतिष्ठानलाई पाँच लाख लागतको चिसो,तातो र मनतातो पानी आउने मेसिन हस्तान्तरण गरेको हो ।

आईतबार बैंकका कर्णाली प्रदेशका प्रादेशिक निर्देशक डाक्टर सुरज टण्डनले प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतलाई तातो,चिसो र मनतातो पानी आउने ‘वाटर वर्ड’ मेसिन हस्तान्तरण गरेका हुन् ।

मेसिन दिउँद र वर्खा समयको लागि उपयुक्त हुने छ । वित्तिय साक्षरता कार्यक्रम संगै प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गरिएको कृषि विकास बैंक ली.जुम्ला शाखाका प्रमुख खम्बीलाल शर्माले बताए । जुम्लामा चिसो क्रमिक बढ्दो छ ।

बृद्धबृद्धा,महिला,बालबालिकाहरु चिसोबाट बढी प्रभावित छन् । उनले भने,“अब अस्पताल आउने विरामीले चिसो तातो र मनतातो पानी पिउने छन् । बढ्दो चिसो मौसमले प्रभावित विरामीहरुलाई मेसिनले राहत प्रदान गर्ने आशा छ ।”

बैंक तथा बित्तिय संस्थाले कुल नाफाको केहि रकम अनिवार्य सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान छ । अधिकांश बैंक वित्तिय क्षेत्रले नागरिकको बृहत्तर हितका लागि लगानी गरेको पाईदैन् ।

तर कृषि विकास बैंकले नमुना कार्यका रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत प्रतिष्ठानलाई तातो चिसो पानी आउने मेसिन हस्तान्तरण गरेको छ । बैंक र प्रतिष्ठान एक आपसमा विगत एक दशकदेखि समन्वय सहकार्य गर्दै आएका छन् ।

बढ्दो विरामीको चाप र चिसो मौसमलाई मध्यनजर गर्दै अस्पतालमा ५ लाखबढी लगानीको एक सय लिटर क्षामताको वाटर वर्ड मेसिन हस्तान्तरण गरिएको कृषि विकास बैंक लीमिटेड कर्णाली प्रादेशीक निर्देशक सुरज टण्डनले बताए । उनका अनुसार आगामी दिनमा बैंकले दुर्गम क्षेत्रका नागरिकको हितका लागि लगानी गर्ने छ । बैंकले विश्वसनीय छिटो छरितो सेवा प्रवाह संगै सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिने दाबी गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानमा अत्याआबश्यक रहेको चिसो तातो पानी आउने मेसिन प्राप्तसंगै राहत भएको बताए । अन्य समय भन्दा चिसो समयका लागि अझ बढी प्रभावकारी हुने छ ।

उनले भने,“अस्पतालमा विरामीको चाप बढ्दो छ । हरेक वार्डमा सानो क्षामताको पानी आउने मेसिन राखिएको छ । तर त्यसले माग अनुसार पुर्ति छैन् । कृषि विकास बैंकबाट प्राप्त मेसिनले ठुलो संख्यामा विरामीलाई राहत मिल्ने छ । यसको संरक्षण र दिगो व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।”

२०२४ सालमा स्थापना भएको कृषि विकास बैंकले सुगमदेखि दुर्गम सम्म बैंकिङ सेवालाई विस्तार गर्दै आएको छ । सेवाग्राहिमा देखिएको अन्यौलता कम गर्न तथा सेवालाई चुस्त र छिटो छरितो बनाउन नियमित बित्तिय साक्षरता कार्यक्रम समेत गर्दै आएको बैंकले जनाएको छ ।