यात्रा अनुभव :हरियो जुम्ला, गुलजार गुठीचौर

सामाजिक सञ्जालमा ‘हिउँले छोपिएको सेतै जुम्ला’ तस्वीरहरू देखा परे । अनलाइन पोर्टलहरूमा समाचार प्रकाशित भए– चिसो मौसम सकिनै लाग्दा जुम्लामा हिमपात । यो मेरो त्यो बेलाको सम्झना हो, जतिबेला जुम्लाले हरियो रंग ओढेको थियो ।

त्यो बिहान म उठ्दा खलंगा वरपर वर्षौंदेखि सगर्व उभिइरहेका डाँडालाई छिचोल्दै घामका कलिला किरण मेरो कोठाको झ्यालबाट जबर्जस्त छिर्दैथिए । सुसाउँदै तिला नदी फाँटका हरिया धानहरूमा प्राण भरेर बग्दैथियो । प्रभातकालीन नित्य पूजासँगै भगवान दत्तात्रयको वन्दनामा बजाइएको शंख–घण्टको श्रुतिमधुर सङ्गीत खलंगाभरि सुनिन थाल्यो ।

म त्यही संगीत पछ्याउँदै मन्दिरतिर लम्किएँ । कान्जिरोवा होटलदेखि १० मिनेट हिंडेपछि पुगिन्छ, दत्तात्रय ९चन्दननाथ० मन्दिर । पित्तलले बनेको शिवलिंग आकारको छत । चारैतिर एकतले घरले घेरिएको दत्तात्रय मन्दिरसँगै बटुक भैरव मन्दिर पनि छ ।

दर्शन सकेर खलंगालाई आँखाभरि हेर्ने रहर बोकेर म डाँडातिर उक्लिएँ । माथि डाँडामा दुदुल छोप्तेन स्तूप मलाई नै पर्खिरहेको थियो । उकालो चढ्दा मैले धेरै अघि पढेको राधा पौडेलको ‘खलंगामा हमला’ पुस्तक सम्झिएँ र सम्झिएँ त्यो बर्बर रातले बनाएका घाउ र खाटाहरू जसका आला कथाहरू मैले त्यही किताबमा पढेको थिएँ । खलंगा हमलाको खती र क्षति सम्झिएर निराश हुँदै म स्तूप पुगें तर मेरो उकालोको नैराश्यलाई स्तूपबाट देखिएको फराकिलो उपत्यकाले किनारा लगाइदियो ।

स्तूपबाट खलंगालाई अँगालेर म होटल फर्किएँ, खाना खाएँ र निस्किएँ मेरो गन्तव्य गुठीचौर । दानसाँघु, धिता हुँदै मेरो यात्रा अघि बढ्यो । तिला नदी कर्णाली नदी भेट्टाउन ओरालो बगिरह्यो म गुठीचौर पुग्न उसकै किनारै किनार उकालो हिंडिरहें ।

बीच बीचमा केही गाउँहरू भेटिए । हरेक गाउँमा जमघट र चहलपहल थियो, कारणः भोलिपल्ट आइतबार साउने सङ्क्रान्ति थियो, आज हरेक गाउँमा खसी काटिंदै थियो । भेटिने हरेक जसो ठाउँमा रोकिएर म सोध्थें, ‘कति किलो भयो हौ सिकार रु’ सबैतिरबाट हाँसेरै जवाफ फर्किन्थ्यो, ‘पुग्दो भयो ’

घर कता नि तपाईंको ?

‘इलाम’, म पनि हाँसेरै जवाफ दिन्थें ।

चिया त है  ? प्रायः सबैले भने ।

चियामै सही हरेक दिन प्रभातको चुस्कीमा देशभर इलाम पुगेको सुन्दा मलाई खुसी लाग्छ ।

‘अनि इलामदेखि घुम्न आउनुभएको ?’

‘हजुर‘, इलामदेखि’ म उत्तर दिन्थें ।

म इलामको मान्छे जुम्ला आएँ अब तपाईंहरू इलाम जानुस् है । स्याउ र चिया साट्नुपर्छ ।

भूपी शेरचनले लेखेझैं म बाटोभरि अलिअलि इलाम छर्दै छर्दै हिंडें । उपरखेत, लामाखाडा, देपालगाउँ, जजल्ला, गज्र्याङकोट, सिमचौर हुँदै मेरो यात्रा अघि बढिरह्यो । त्यो दिन आकाश विछट्टै खुलेको थियो । यात्राभरि सडकका डिलमा रातै आरू र स्याउका बोटहरू उसैगरी मुस्कुराइरहेका थिए ।

 

जुम्ला सदरमुकाम खलंगाबाट हिंडेको ८ घण्टापछि गुठीचौर पुगियो । वरिपरि हरियो डाँडा, चरनको लागि ल्याइएका गाईका बथान र गोठहरू । हावासँगै वेगिएर यताउता गरिरहने घोडाका हूल र तिनको घाँटीमा बाँधिएका घण्टीको आवाज । घुम्न आएका मानिसको चहलपहल र यी सारा माहोलबीच छातीमा हरियै घाँस र रातै फूल फुलाएर मस्त थियो गुठीचौर ।

गुठीचौर टेकिसक्दा मेरा आँखा शीतल बनाउने एकैपटक यति धेरै रमणीय दृश्यहरू देखिरहेको थिएँ, जसले मेरो यात्रालाई स्याबासी दिइरहेका थिए । सुन्दरताका अनेकौं आभाबीच म गुठीचौर टेकेर गुठीचौरमै हराइरहेको थिएँ ।छिनालाग्ना र चिमाराका लेक, उत्तरतिरका डाँफे लेक वर्षौंदेखि उभिएर उपत्यकाको चहलपहल हेरिरहेका छन् । पूर्वमा दानसाँघु, उत्तरमा रातामाटा, पश्चिममा खलाचौरसम्म फैलिएको जुम्ला उपत्यका ।

वारिपारि साना–ठूला पहाड र तिनै पहाडहरूका बीचमा लामो जुम्ला उपत्यका छातीमा कलकल तिला बगाएर हरियो–भरियो छ । हरियो खेतको फाँट, खलंगा, भारतीबाडा, छिनासिम, कार्कीबाडा, तलीचौर, बोहरागाउँ, विजयनगरसम्म फैलिएका घर, क्या सुन्दर देखिन्छ तर यो सुन्दरताको बीच खलंगा बजारमा समय विकासक्रमसँगै निर्माण भएका कंक्रिट घरहरूले जुम्लाको मौलिकता भनिएका पुराना शैलीका घरहरूलाई खिसी गरिरहेझैं लाग्छ ।

विस्तारै जुम्लाका पुराना शैलीका घरहरू क्रमशः हराउँदै गइरहेका छन् । लस्करै जोडिएर बनाएका घरहरूलाई बाडा र माटोले छाएको छतलाई थाडा भनिन्छ जुन आजपर्यन्त जुम्लाको मौलिकताका विम्बहरू हुन्– तिनीहरूको संख्या घट्दो छ, जुम्लामा ।

मानौं उज्यालिएको आकाश र मलाई देखेर तिनीहरू पनि हाँसिरहेका छन् । तर सडकको अवस्था बिल्कुल ठीक थिएन । खै किन हो, यहाँको सौन्दर्यलाई यहाँको सडकले गिज्याएझैं लाग्यो ।

मैले कतै सुनेको थिएँ— २००७ सालमा प्रजातन्त्र स्थापना भएको खबर मात्र पनि जुम्ला पुग्न लामो समय लागेको थियो रे तर जुम्लाको सडक र कष्टको समाचार राजधानी पुग्न कति समय लाग्ने हो कुन्नि रु यसै पनि मलाई एउटा कुराले खाइरहन्छ हिमाली, पहाडी भेगका गाउँतिर सडक किन त्यतिबेला मात्र पुग्छ जतिबेला गाउँ नै शहर पुगिसकेको हुन्छ ?

सिमचौर कटेपछि उकालो बाटो सुरु भयो । करिब आधा घण्टाजति उकालो हिंडेपछि म केही समय आराम गर्न बसें । अनि त्यहीं भेटिए— सन्तोष हमाल ।
सन्तोष परिवारका अन्य सदस्यसँगै गुठीचौर घुम्न जाँदै रहेछन् । सामान्य गफगाफ, परिचय पछि सन्तोषको काकीले गहुँको रोटी त्यसमाथि आलु फ्राई र अलिकति अचार राखेर मतिर हात अघि सार्नुभयो ।

खलंगादेखि हिंडेको म भोकाएको थिएँ । कृतज्ञता सहित करपात्रीले झैं मैले रोटी समाएँ र खपाखप खाएँ । पुनः उकालो यात्रा सुरु भयो । सानो छँदा म सोच्थें, यो वरिपरिको डाँडाभन्दा बाहिर के छ होला रु कति सुन्दर ठाउँहरू छन् होला । गडगडाएर बग्ने पुवा खोला कहाँ पुग्छ होला । चराले गाउने गीत कहाँबाट सिक्छ होला ।

घाम झुल्काउने श्रीअन्तु र लुकाउने गिद्धिथुम्का डाँडापारि के होला । यिनै कौतूहलको जवाफमा सुदूर पूर्वेली शरीर लिएर पश्चिम कर्णाली जुम्लाको उकालो हिंडिरहेको थिएँ । आकाशका बादलहरू पन्छाएर घाम सबैतिर छरिएको थियो । कतै जंगल, कतै खुला ठाउँ उकालोमा घामसँग मेरो लुकामारी चलिरह्यो । म छलिन कोसिस गरिरहें घाम पोखिन खोजिरह्यो । घामले मलाई पछ्याइरह्यो ।

 

उकालो भर सन्तोष र उनको समूहसँग अनेक विषयमा गफगाफ भयो । परिवेश, पर्व, परिकार, पकवान, पहिरन– अरू कति कति । तिनै कुराहरूको लहरो समाएर उकालो यात्रा सकियो । सानो गुठीचौर आइपुग्यो । एक दुई वटा घर, सडकको बायाँपट्टि हरियो डाँडा, तलपट्टि पाटन अनि पाटन बीच स्याउ बगैंचा । गज्जब सुन्दर ठाउँ । सानो गुठीचौरले अन्दाजा दियो, ठूलो गुठीचौर कस्तो छ भनेर । मेरो लागि पहाड नौलो कुरा थिएन तर पहाडबीच यो विशाल चौर नौलो थियो । कुनै चित्रकारले वरिपरि हरियै पहाडले घेरेर बनाएको सुन्दर क्यानभास झैं यो ल्याण्डस्केप नौलो थियो ।

मान्छे अनुसार घुमघामको शैली फरक होला, परिवेशको आनन्द लिने तरिकाहरू फरक होला तर प्रकृतिको यति सम्मोहन आएर प्रकृतिको सुन्दरता हेर्ने शैली उही हो, सम्मोहित हुने ।

गुठीचौर पुगेर मैले झोला बिसाएँ, जुत्ता खोलें र छिपछिपे पानी बगिरहेको चौरीमा हिंड्दै हिंड्दै नजिकैको गोठतिर लागें । सन्तोष र अरूहरू छोडिए । म गोठ पुग्दा खीर पाक्दै थियो । छेवैमा जमाएर राखेको दहीको ठेकी थियो र यी दुवै उनीहरूको व्यापार थियो । मैले एक बटुको खीर किनेर खाएँ र त्यहाँबाट फर्किएँ ।

फर्कंदा रातो टीका, रातै पहिरनमा सजिएर उनीहरू देउडा खेलिरहेका थिए । सन्तोषले मलाई पनि बोलाए । म गएँ । मान्छे जता जता गए पनि केही स्वभाव एउटै जस्तो हुने रहेछ । जमघट र रमाइलो । ऊ रमाउन चाहँदो रहेछ, हराउन चाहँदो रहेछ । देउडा गुञ्जिरह्यो ।

त्यतिन्जेल धेरै घुमन्ते आउजाउ गरिरहे । नाचगान चलिरह्यो, घोडचडी चलिरह्यो , गुठीचौरका अनेकौं फोटोहरू खिचिए जुन कोसेलीझैं नजिक, टाढा लगिनेछ र प्रेमले खोलिनेछ । त्यो दिन दिनभर गुठीचौर गुलजार भइरह्यो ।

 

समयको नियति हो, यो कहिल्यै रोकिंदैन । घडीका काँटाले म फर्कने बाटो कोरेपछि म हिंड्ने तरखर गर्न थालें । सन्तोष र उनको समूहलाई धन्यवाद भनें ।

गुठीचौरको माटोलाई एकपटक ढोगें र उकालो लागें । गुठीचौरबाट मास्तिर उक्लिंदै गर्दा बाटोमा भेटिने एउटा चियापसलमा रोकिएँ । चिया अर्डर गरें । त्यहाँबाट फेरि गुठीचौर नियाल्न थालें । स्वर्गको टुक्रा झैं थियो गुठीचौर । यो बेला मलाई स्वर्ग कस्तो छ होला भनेर कसैले सोधे म उसलाई गुठीचौर देखाइदिएर भनिदिन्थें— ठ्याक्कै गुठीचौर जस्तै ।

म गुठीचौरतिर हेर्दै सोच्न थालें, यात्रामा निस्किएपछि जति नै सुन्दर भए पनि मोहनी लगाउने गुठीचौर जस्ता ठाउँहरू छोडेर हिंड्नुपर्ने रहेछ । सायद यात्राको अर्थ यही नै होला ।

स्वर्गको कल्पना गर्ने म स्वर्ग नै छोडेर हिंड्नु परेको यो अनुभूतिले पिरोलिइरहेको थिएँ । साहुनीले मेरो हातमा चिया थमाउँदै सोधिन्, ‘अनि बाबुको घर कता हो नि ?’
‘इलाम’, मैले जवाफ फर्काए ।

‘ओहो  बाबुको घर त नेपालकै स्वर्गमा रहेछ नि १’ साहुनीले तल गुठीचौरतिर हेर्दै भनिन् ।

ओहो  स्वर्गको परिभाषा सबैका लागि आफ्नै किसिमको हुँदोरहेछ