जुम्ला : जिल्लाकाे ताताेपानी गाउँपालिका वडा नम्बर ३ काे सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे छ । शुक्रबार ३ नं.वडा कार्यालयकाे आयाेजना र तातोपानी मल्टिमिडिया प्रा.लि.जुम्लाकाे सहजीकरणमा सार्वजनिक सुनुवाइ सम्पन्न भएकाे हाे ।
सार्वजनिक सुनुवाइको अवसरमा आ.व. २०८०/०८१ मा ३ नं. वडामा लागू गरिएका कार्यक्रम र सम्पन्न याेजनाबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।
वडाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ताताेपानी गाउँपालिका ३ नं.वडाका वडा सचिव विकास आचार्यले आ.व. २०८०/०८१ मा कुल ६० लाख बजेटमा ११ शीर्षकमा याेजना सम्पन्न भएकाे बताए ।
उनका अनुसार गत आवमा वडामा पर्यटन,विपद् व्यवस्थापन,उर्जा,राेजगार शीर्षकमा याेजना लागू गरिएकाे थियाे । यस्तै,कृषि,सुनाैलाे हजार दिनका आमाका साथै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि बजेट छुट्याइएको थियाे ।
यस्तै जनतासँग अध्यक्ष कार्यक्रम अन्तर्गत दुई लाखमा बाम्नी थान र जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत पाँच लाखमा राजमार्गदेखि लाछुसम्म रेलिङ निर्माण गरिएकाे उनले बताए ।
उक्त आवमा १५ लाख लागतमा ताहा ज्युलादेखि कर्णाली राजमार्गसम्म पिपिसी बाटाे निर्माण गर्नुका साथै प्रधानमन्त्री राेजगार कायर्यक्रम अन्तर्गत पाँच लाखमा हतर्के,बेलडाँडा घाेरेटाे बाटाे निर्माण गरिएकाे उनले बताए ।
लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाभित्रका ६८ वर्षमाथिका ७० जना जेष्ठ नागरिक,६० देखि ६८ वर्ष उमेर समुहका ६१ जेष्ठ नागरिक,असहाय र एकल महिला २० जना, १४ जना अपांगता भएका व्यक्ति,अति विपन्न ५ जनागरी १७० जनालाई न्यानाे कपडा र काेरियन कम्मल वितरण गरिएकाे थियाे ।
वडाले गत आवमा विभिन्न शीर्षकमा ९६ हजार,२८१.१४ राजस्व संकलन गरेकाे थियाे । ३४४ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए । चालु आव २०८१/०८२ मा वडामा १४ याेजना लागू छन् ।
सार्वजनिक सुनुवाइकाे अवसरमा २१ वटा प्रश्न प्रश्नकर्ताहरूले साेधेका थिए । स्थानीय तहका जिज्ञासामा जवाफ दिदै वडाअध्यक्ष गाेकर्ण रावलले वडा विकासकाे लागि आवश्यक याेजनालाई प्राथमिकता दिएर काम भइरहेकाे बताएका थिए ।
सार्वजनिक सुनुवाइकाे प्रमुख अतिथिसमेत रहेका तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले सकारात्मक साेच र सहयाेगी भावनाका साथ जनता र सरकार मिलेर विकासमा हातेमालो गर्न आवश्यक रहेकाेमा जाेड दिए ।
गाउँपालिका उपाध्यक्ष रेवती रावलका अनुसार तातोपानीले सुशासन कायम गर्न वडाहरूमा सार्वजनिक सुनुवाइ गरिरहेकाे छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जनता,कर्मचारी र जनप्रतिनिधिकाे सहकार्यमा समृद्ध पालिका निर्माणमा हातेमालो आवश्यक छ ।
उक्त अवसरमा तातोपानी गाउँपालिका ३ नम्बर वडाका स्थानीय,समाजसेवी,बुद्धिजीवी तथा सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे ।
डिल्ली कामी । ४ आश्विन २०८१, शुक्रबार २२:०६