तातोपानी पत्रकार मञ्चद्वारा दशैँबारे विमर्श सञ्चालन

जुम्ला : जुम्लामा पहिलोपटक दशैँ विमर्श कार्यक्रम भएको छ । तातोपानी पत्रकार मञ्चकाे आयाेजनामा दशैँका बारेमा पहिलो पटक विमर्श भएको हो ।१६ औँ शताब्दितिर जुम्ला राज्य स्थापना हुनेबेला बाबा चन्दननाथले मार्सि धानको बिउ पत्ता लगाएको र त्यसयता देखि चन्दननाथ भैरवनाथको मन्दिरमा लिंगा खडा गर्ने पम्पराबाट दशैँ मनाउन सुरु भएको इतिहास रहेको छ ।

उक्त मार्सिधानको बिउ सबै भन्दा पहिले तातोपानीको गुरुफोक्टोमा लछालकृति पैकेलोलाई धानखेतिको विस्तार र विकासका लागि दिएको कुरा संस्कृतिमा लेखिएको पाण्डुलिपिको नेपालीमा अनुवाद गरिएको छ ।

कार्यक्रममा दशैँका बारेमा समेटिएको कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महेश नेपालीले चन्दननाथ भैरवनाथ मन्दिरमा चारवटा लिंगा फेरिएसँगै दशैँ औपचारिक रुपमा सुरुवात हुने बताए । घटस्थापनाको साँझ सबैले आफ्नो खेतमा पाकेको धान काटेर चिउरामा मह र दहि मिसाई खाने परिकारलाई नगि नामकरण भएको उनकाे भनाइ छ ।

नेपालीले भने, `दशैँ अनिवार्य रुपमा मनाउने चलन जुम्ला राज्यलाई गोर्खालिहरुले जितेपछि व्यापक भएको हो । खस साम्राज्यमा जनताबाट उठाईने छत्तिस करको अर्थ सिंजा साम्राज्यमा टिका र पिठाको चलन इशाको १३ औँ शताब्दितिर भएको तत्यबाट पुष्टि हुने उनको भनाइ छ ।

दशैँको दिन जमरा सिउरिने र पिठाको टिका लगाउने हुनाले टिकाको दिनलाई सिउरी पिठा भन्न थालिएको नेपालीले बताए । अहिले दशैँमा चामलको टिका लगाउने चलन छ उनले भने, दशैँमा जौँको जमरा कानमा सिउरिने गरिन्छ । खस साम्राज्यको उत्तरार्धतिर उत्पादन र विकास भएको मार्सि धानलाई निधारमा लगाउनु अगाडि पिठो लगाउने गरिन्थ्यो ।

अहिले लामो विदा, आफन्तहरुसँगको भेटघाट, टाढा गएका आफन्तहरु घर फर्किने र जमघट गर्नुलाई दशैँ प्रमुख पर्वका रुपमा स्थापित भएको नेपालीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । यस्तै, जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीका पालामा गोर्खाली शैन्यले जाजरकोटबाट जुम्ला पस्न खोज्दा ठुलो कष्ट र हानि व्यहोर्नु परेको थियो ।

जुम्ली राजालाई पक्राउ गरेपछि सूर्यमान शाहीका भाई सोभान शाही खडा भएका थिए । गोर्खालिहरुले १८४६ असोज २३ मा जुम्ला राज्यको केन्द्र छिनासिम जिते पनि जुम्ला, मुगु र हुम्लाका गाउँतिर गोर्खालि विरुद्ध विद्रोह भइरहेको थियो । अन्तिममा गोर्खालिहरुले हुम्लामा समेत आक्रमण गरेपछि सोभान शाही तिब्बत तिर भागेको र गोर्खालिहरुले जुम्लामा मारकाट सृखंला चलाएको र यसबाट जनताका प्रतिनिधि डराई गोर्खालिहरुको जित भयो भनि सम्झौता भएको नेपालीले बताए ।

उक्त सम्झौतापछि चन्दननाथ भैरवनाथ मन्दिरमा चार लिंगामा हरेक वर्ष ५२ हातका लिंगासँगै २६ हातको जय स्तम्भ ठड्याउने सहमति भएबाट दशैँ औपचारिक रुपमा सुरु हुने उहाँको कार्यपत्रमा लेखिएको छ । नेपालीले प्रस्तुत गरेको पाँच पृष्टको कार्यपत्रबाट दशैँका बारेमा उल्लेख गरिएको कुरालाई बढी जोड दिईएको हो । उक्त विमर्श कार्यक्रममा बोल्दै तातोपानी पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले दशैँका बारेमा विमर्श गर्न पाउँदा खुसी भएको बताए ।

हिन्दुधर्मसँग जोडिएको दशैँका बारेमा पहिलो पटक गाउँपालिकामा भएको विमर्श कार्यक्रमले यसको महत्वका बारेमा स्पष्ट पारेको उनले बताए। जुम्लामा टिकाटालो गर्ने, दशैँमा जमरा कानमा सिउरिने र पिठा लगाउने लगायतका बारेमा कार्यपत्रबाट प्रष्ट भएको चौलागाईको भनाइ छ ।

वडादशैँ, शुभदिपावलि तथा छठ पर्वका अवरमा आयोजना गरिएको दशैँ विमर्श कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेवति रावल, प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायत र वडाध्यक्ष लगायतले शुभकामना व्यक्त गरेका छन् । गाउँपालिकामा भएको दशैँ विमर्श कार्यक्रमले दशैँ पर्वका बारेमा स्पष्ट हुने अवसर प्रदान गरेको उनिहरुको भनाइ छ । तातोपानी पत्रकार मञ्चका अध्यक्ष सागर परियारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।