कर्णालीका दुर्गम जिल्लामा नेपाल एयरलाइन्सको अनलाइन टिकट प्रणाली लागु

जुम्ला । नेपाल एयरलाइन्सको नेपालगन्जदेखि दुर्गमका जिल्लामा उडान हुने जहाजमा अनलाइन टिकट प्रणाली लागु गरिएको छ । नेपालगन्जबाट उडान हुने जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरामा अनलाइन टिकट लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख किरण श्रेष्ठले बताए।

दुर्गममा जहाजको टिकट शक्ति र पावरको आधारमा मात्रै वितरण हुने र सर्वसाधारणलाई जहिले पनि टिकट लिन सास्ती हुने भएकाले ई–टिकट प्रणाली गरिएको उनको भनाइ छ। माघ १९ गतेबाट नेपाल एयरलाइन्सको कर्णालीका सबै जिल्लामा ई–टिकट प्रणाली लागु भएको उनले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटमा नागरिकले सास्ती भोग्नु परेको अवस्थाले तत्काल ई–टिकट लागु गरिएको भएको बताए ।

हवाई र यातायातको समस्याबारे निरन्तर आवाज उठाउँदै आएकी जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छिरिङ ल्यामु लामा तामाङले जुम्लासहित कर्णालीले समस्या भोग्नुपरेको समस्या भनेको जहाज र यातायातको रहेको बताए । नेपाल एयरलाइन्स जुम्लाका कर्मचारी डम्बर खत्रीले जिल्लामा पनि अनलाइन टिकट कार्यान्वयन भएको बताए ।