तातोपानी गाउँपालिका ४ का दलित यूवाहरु निगालोका सामाग्री बनाएर आत्मनिर्भर हुदै

डिल्ली अन्जान

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं.४ का दलित यूवाहरु निगालोका सामाग्री बनाएर आत्मनिर्भर हुन थालेका छन् । सिप सिकेसंगै वन जंगलमा पाईने निगालोबाट बन्ने विभिन्न सामाग्री बनाउन थालेका हुन् । विगतमा डोको मात्रै बुन्ने तातोपानी–४ का खड्क सार्कीले सिप सिकेपछि थरीथरीका सामाग्री बनाएर विक्री गरी आम्दानी गर्न तर्फ अग्रसर भएका छन ।

पहिला डोको बाहेक अरु बनाउन आउन्थेन् । उनी भन्छन,‘निगालोका सामाग्री बनाउने तालिम लिएपछि अहिले स्याकुँ (पानी पर्दा ओड्ने परम्परागत छाता),सुपो अन्नबाली छान्ने भाडो,डालो,छाप्री रोटी राख्न प्रयोग हुने भाडो लगायतका सामाग्री बनाउन सिकेका छौ । निगालोका सामाग्रीको माग बढ्दो छ । अब आबश्यकता अनुसार बनाउँछौ । सिप सिकेपछि व्यवसायीक बन्ने चाहना छ । तर अर्थ अभावले रोकिनु परेको छ ।’

परम्परागत सिप आत्मनिर्भरको माध्यम बनेको छ । निगालोको सामाग्री बनाउने सिप सिकेसंगै तातोपानी–४ कै पृथ्वी सार्की पनि उत्साहित छन् । काठ दाउरा बोक्ने समयमा डोको,जेठमा रोपाई गर्दा अत्यधिक माग हुने स्याकुँ,डालो छाप्री,लगायतका सामाग्री बनाउने सिप सिक्दा अब आम्दानी बढ्ने भन्दै पृथ्वीले खुसी व्यक्त गरे ।

उनी भन्छन,‘सामाजिक विकास कार्यालयले सिप सिकाई सक्यो । अब उद्योगकै रुपमा अघि बढाउन आर्थिक अभाव छ । थोरै हामी आफै लगानी गर्छौ,स्थानीय सरकारले पनि पुँजी सहयोग गरे व्यवसाय संचालन गर्ने ईच्छा छ । यो सिपमा आम्दानी गर्ने प्रशस्त सम्भावना छ ।’

निगालोका सामाग्री बनाउने सिप सिके संगै खड्क र पृथ्वी सार्की जस्तै तातोपानी–४ का १० जना यूवा व्यवसायीक रुपमा अघि बढ्ने सोचमा छन् । सामाजिक विकास जुम्लाको दलित समुदायको परम्परागत सिपको प्रर्बद्धन कार्यक्रम अन्तरर्गत निगालोको सामाग्री बनाउने सिप सिकाइएको हो ।

तीन लाख लगानी गरेर जाजरकोटबाट प्रशिक्षक बोलाई जुम्लामा आबश्यक पर्ने सामाग्री उत्पादन गर्न आबश्यक सिप सिकाईएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले बताए ।

उनका अनुसार अझै एड्भान्स तालिम दिएर व्यवसायीक रुपमा अघि बढाउन आगामी आवमा थप सहयोग गरिने छ । भने निगालोका सामाग्री बनाउने ९ दिने तालिम सोमबार समापन समेत गरिएको छ

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जंगलमा खेर गईरहेको निगालोको सदुपयोग पनि हुने,परम्परागत कला पनि बच्ने र आम्दानी पनि हुने भएकोले यस्ता तालिमको निरन्तरता दिनु पर्ने बताए । पुरानिदै गएको निगालो खेर जाने भएकोले सिप मुलक कार्यक्रम संचालन गरी यूवालाई उत्पादन संग जोड्ने र स्रोतको प्रयोग हुने गरी नीति बनाउन समेत जिसस प्रमुख आर्चायले पालिकालाई आग्रह गरे

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले निगालोका सामाग्री निर्माणले वनजंगलमा पाईने कच्चा पर्दाथ (निगालो)को सदुपयोग हुने र आयआर्जन पनि बृद्धि हुने बताए । निगालोबाट बन्ने सामाग्रीको उत्पादन बृद्धि तथा व्यवसायीकरणका लागि पालिकाले ठोस नीति बनाएर लगानी गर्ने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे,चार नम्बर वडाध्यक्ष अम्मर बहादुर रोकाया लगायतले परम्परागत सिपको संरक्षण गर्दै आयआर्जन बृद्धि हुने खालका कार्यक्रममा लगानी बढाउन जरुरी रहेकोमा जोड दिएका थिए ।

जुम्लाका आठै पालिकाको वन जंगलमा प्रयाप्त मात्रामा निगालो पाईन्छ । तर बढ्दो बेरोजगारी न्युनिकरण गर्न निगालोको सदुपयोग र यूवा रोजगारीमा स्थानीयतहले लगानी गर्न सकेका छैनन् । जसका कारण प्राकृतिक स्रोत खेर गईरहेको छ र निगालोको प्रयोग गरि आत्मनिर्भर हुन सकिने सामाजिक विकास कार्यालय जुम्लाका सूचना अधिकारी शिवशंकर चौलागाईंको भनाइ छ ।