कर्णाली प्रदेशमा हालै सम्पन्न खेलकुद प्रतियोेगिता व्यवस्थित नभएको भन्दै खेलाडी र प्रशिक्षकहरुले आक्रोश पोखेका छन् । व्यवस्थापन पक्ष, खानपिन र बसाईको व्यवस्था नभएको भन्दै कर्णाली प्रदेशको विभिन्न जिल्लाबाट खेलकुद प्रतियोगितामा गएका खेलाडीहरुले प्रदेश खेलकुद विकास परिषद् गैरजिम्मेवार भएको आरोप लगाएका छन् । खेल अवधिमा निकै कष्टकर अवस्था भोग्नुपरेको सल्यानका कराँते प्रशिक्षक चित्र रानाले बताए ।
परिषद्को सदस्य समेत रहेकी हेमा खड्काले सदस्य सचिव र उपाध्यक्षको गैरजिम्मेवार क्रियाकलापको कारण खेलाडीहरुको खानपिन र बस्ने ब्यवस्था भत्ता प्रमाणपत्र समेतको व्यवस्था नभएको बताइन् । यस्तो नलायक क्रियाकलापले खेलाडीहरुमा नैरास्यता पैदा भएको उनको भनाइ थियो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले विभिन्न जिल्लाबाट आउने जाने खर्च जिल्ला खेलकुद विकास समितिले गर्ने व्यवस्था रहेको बताउँदै बाँकी खर्च बस्ने खाने र दैनिक १ हजार भत्ता लगायतको खर्च परिषदले व्यवस्थापन गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘तर कोलेनिकाले निकासा नदिएकोले खेलाडीको हातमा समयमै क्यास दिन सकिएन । व्यवस्थापनमा केही समस्या पैदा भएको हो । म कालिकोट गएको थिएँ । म प्रमाणपत्र छपाएर आएको पनि होइन प्रमाणपत्रमा मेरो नाम राखिएको रहेछ । म पुगेर हस्ताक्षर गरी जिल्लामा प्रमाणपत्र पठाउने व्यवस्था गर्छु ।’
त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद्की सदस्य हेमा खडका र सरोज शाहीले राष्ट्रिय स्तरमै यति ठुलो ९ औं राष्ट्रिय खेलमा सबै खेलका विधाको बारेमा परिषद्का सदस्यसँग सल्लाह लिएर हरेक सदस्यलाई जिम्मेवारी दिनु पर्नेमा जिम्मेवारी नै नदिएर सदस्य सचिव कालिकोट गएको आरोप लगाए ।
उनीहरुले मनोमानी ढंगबामट एकलौटी निर्णय गर्ने प्रवृत्तिले सदस्य सचिव र उपाध्यक्षले सधैं सदस्यलाई आरोप मात्र लगाएको बताए । यस्तै कार्यशैली हो भने कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न गाह्रो हुने उनीहरुको भनाइ छ ।
त्यस्तै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिवलाई आफ्नो गृह जिल्ला कालिकोट राखिएको खेलकुद प्रतियोगितामा जानुपुर्व सुर्खेतमा हुन लागेको प्रतियोगितामा खेलाडीलाई दिने मेडल प्रमाणपत्र व्यवस्था गरेर जानु पर्ने उनीहरुको भनाइ छ । आफूहरुले बजेट अभाव भएका कारण यस्तो तरिकाले खेलकुद आयोजना नगरौं, कि बजेट माग गरेर खेल सम्पन्न गरौं भन्दा हतार हतारमा खेल कहाँ गर्ने, कसरी गर्ने, कसरी बाँडफाँड गर्ने जिल्लाहरुमा सल्लाह नगरी उपाध्यक्ष र सदस्य सचिवले शक्तिको आडमा निर्णय गरेको उनीहरुले आरोप लगाए ।
सदस्य हेमा खड्का भन्छिन्, ‘सुर्खेतमा हुने प्रतियोगितामा कर्णाली प्रदेशको सबै जिल्लाबाट खेलाडी आउनुभयो । कुनै खेलाडी बाटोबाट होटेलबाट खानपिन मेडल भत्ता लगायतको व्यवस्थापन किन भएन भने मलाई फोन आउँछ सदस्यज्यू हाम्रो भत्ता खै भनेर ? यो स्थिति किन सदस्य सचिव र उपाध्यक्षकै कारण भयो । खेल क्षेत्र र खेलाडीको लागि यो निकै अपमान हुनुको साथै आत्मसम्मानमा चोट पुग्ने काम भयो । कर्णाली सरकारले १० औं राष्ट्रिय खेलको तयारीका लागि अरबौ बजेट त दियो तर खेल सरचनामा दियो नाकी कुनै इभेन्टका खेलहरुमा ।’
यस्तै सुर्खेत जिल्ला फुटबल संघ प्राविधिक प्रमुख तथा एन्फा प्रशिक्षक दिलिप बस्यालले कर्णाली प्रदेश खेलकुद परिषद्ले गण्डकी प्रदेशमा हुन लागिरहेको प्रतियोगिताको पुर्वसन्ध्यामा बिरेन्द्रनगरमा खेलकुद प्रतियोगिताको लागि वैकल्पिक खेलमैदानको रूपमा कालिङचोकको चौरलाई असार मसान्तसम्म निर्माण काम पूर्णरूपमा नगरी रकम भुक्तानी दिने काम भएको आरोप लगाए । उनले भने, ‘राष्ट्रिय गहनाको रूपमा रहेका खेलाडी र खेलहरुको लागि ज्यान दिने गरी कर्णालीका विभिन्न जिल्लाबाट सुर्खेत आएका खेलाडीको अपमान हुने गरी न त प्रमाणपत्र न त आवतजावतको खर्च व्यवस्थापन न कुनै सम्मान, अस्तव्यस्त हुने गरी खेलाडीहरुको अपमान गरियो ।’
उनी अगाडि भन्छन्, ‘९ औं राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा हुन लागिरहेको छ । कर्णाली प्रदेशमा अनिमियता भ्रष्टाचार मनोमानी गरिरहेको अवस्था छ । कर्णाली प्रदेशको गौरव आयोजना अन्तर्गत रंगशाला बन्दै छ । यसको वैकल्पिक मैदानको रुपमा कालिङचोकको मैदान योजनामा पर्छ । असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने यो मैदानको भुक्तानी सबै चुक्ता गरिसक्यो । तर मैदान भने तयार छैन । कर्णाली खेलकुद परिसदले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पूर्ण खेल वैकल्पिक मैदान कालिङचोकमा गर्ने गरी मुख्यमन्त्री, सदस्य सचिव, उपाध्यक्षले दैनिक निरीक्षण गर्दा पनि यस्तो लापरबाही भएको छ । अनि हाम्रो प्रदेशको खेलाडीहरुलाई बञ्चित गरेर अन्य बाहिर प्रदेशबाट मान्छे बोलाएर हाम्रो प्रदेशमा खेल खेलाउने हाम्रो प्रदेशको खेलाडीले खेल खेल्न नपाउने सदस्य सचिवले बाहिर प्रदेशबाट खेलाडीको नाम दर्ता गरेको छ ।’
सुर्खेत जिल्लामा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फूटबल खेलको खेलाडी छनोटका लागि जिल्ला फूटबल संघलाई हाल सम्म कर्णाली विकास खेलकुद परिषद र जिल्ला खेलकुद बिकास समितिबाट कुनै पनि अधिकारीक पत्र नआएको उनले जानकारी दिए । उनले भने, ‘जिल्ला र प्रदेशमा हुन गइरहेको खेलाडी छनोटमा सम्बन्धित खेलको अधिकारिक संघले जिम्मेवारी पाउनु पर्ने हाम्रो बुझाई रहेको छ । तसर्थ फुटबल संघलाई कुनै पनि जानकारी नआएको हुँदा यो संघ पुरुष र महिला खेलाडीलाई फुटबल खेलाडी छनोटबारे उचित र अधिकारिक जानकारी दिन असमर्थ रहेको छ । खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिले खेल भावनालाई लिएर गरिएको यस किसिमको व्यवहारप्रति जिल्ला फुटबल संघ खेद प्रकट गर्दछ । खेलाडीहरुमा पर्न गएको मर्का प्रति हामी दुखी छौं ।’
सल्यानका कराँते प्रशिक्षक चित्र रानाले कर्णाली प्रदेशको राजधानीमा कर्णाली प्रदेश खेलकुद परिषदले खेलाडीका लागि कुनै पनि व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको बताए । उनले भने, ‘यस्तो अस्तव्यस्तताले खेल क्षेत्र र खेलाडी उत्साहित हुने नभएर निरुत्साहित गर्ने काम भयो । खेल सम्पन्न पश्चात् न त मेडल प्रमाणपत्र प्रदान गर्न सक्ने स्थिति रह्यो । सदस्य सचिव र उपाध्यक्ष कालिकोटमा जानु भयो भन्ने थियो । प्रमाणपत्रमा हस्ताक्षर नगरिएकोले पछि जिल्लामा नै पठाई दिने भन्ने कुरा सुनियो ।’
उनी अगाडि भन्छन्, ‘खेलाडीको लागि खाना बस्नको व्यवस्थापन भएन । प्रमाणपत्रमा हस्ताक्षर नै छैन । खेलाडीहरुमा यस्तो बिजोगको अवस्था छ । कर्णाली प्रदेश खेलकुद परिषदको निकै गैरजिम्मेवार कामले ठुलो अपमानको साथै आत्मसम्मानमा चोट पुगेको छ । खेल खेलेर घर फर्किदा मसानघाट आएको खेलाडीमा फिल भएको छ ।’
जाजरकोटका कराँते खेलाडी विवश विक्रम शाहले व्यवस्थापनमा निकै नै कमजोरी देखिएको बताए । कर्णाली खेलकुद विकास परिषद न खेलाडीलाई उच्च मनोवल गराउन दुर्गम जिल्ला जाजरकोटदेखि बोलाएर मेडल र प्रमाण पत्रको व्यवस्थापन नभएको उनको गुनासो थियो । त्यो सँगै दैनिक पाउने भत्ता पनि ढिलो गरेको हुँदा खेलाडी व्यवस्थापनमा समस्या परेको उनले बताए । उनले भने, ‘ खेलाडीलाई अहिलेसम्मकै सबैभन्दा नराम्रो व्यवहार गरेको छ । अहिलेसम्म खेलाडीले पाउने सेवा सुविधामा कटौती गरेको छ ।’
जुम्ला दर्पण । २६ भाद्र २०७९, आईतवार २०:०५