जुम्लामा अत्याधुनिक रंगशाला निर्माण सुरु(भिडियोसहित)

कुल ५० कराेड लागतमा रंगशालासहित वडा कार्यालय र कालाेपत्रे सडक समेत निर्माण गरिने भएकाे छ ।

शुभाकर विश्वकर्मा,जुम्ला
जुम्लामा अत्याधुनिक सुविधासहितको रंगशाला निर्माण सुरु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ५ स्थित राजसिममा रंगशाला निर्माण सुरु भएको हो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले रंगशालासहित संरचना निर्माण सुरु भएको जनाएको छ । जिल्ला मै पहिलोपटक रंगशाला निर्माण भदौ २३ गतेबाट सुरु भएको हो ।

सघन सहरी विकास कार्यालय जुम्लाले रंगशालासहित अन्य पूर्वाधार निर्माण हुने जनाएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत रंगशालासहितका संरचना बन्ने भएका हुन् ।
कार्यालयले रंगशालासहितका संरचना निर्माणका लागि ५० करोड लगानी गर्नेछ । निर्माणधिन रंगशालाको नाम ‘हरि बहादुर रोकाया रंगशाला’ नाम रहनेछ ।

अहिले रंगशाला निर्माण भइरहेको स्थानमा रोकायाले लामो समयदेखि खुल्ला चौरमा एथ्लेटिक्सका खेलाडीहरुलाई प्रशिक्षण दिदैँ आइरहेका थिए । जुम्लामा अहिलेसम्म व्यवस्थित रंगशाला छैन ।

रंगशाला नभएकै कारण यहाँका खेलाडीहरु भीरपाखामा अभ्यास गर्न बाध्य छन् । जिल्लामा विभिन्न समयमा हुने खेलकुद प्रतियोगिता समेत नेपाली सेनाको स्वामित्वमा रहेको टुंडिखेलमा हुँदै आएका छन् ।
रंगशालासहितका संरचना कविन्द्र निर्माण सेवा कम्पनी लिमिटेड काठमाडौले निर्माण गरिरहेको छ । इन्जिनियर वीरेन्द्र महतोका अनुसार प्रारम्भिक चरणमा फाउन्डेसन निर्माणको काम काम भइरहेको छ ।

उनले ८५ फिट लामो सुविधासम्पन्न प्याराफिट बन्ने बताए । ग्राउण्ड फ्लोरमा शौचालय,डे«सिङ रुम र अन्य कोठासमेत निर्माण हुनेछन् । त्यसमाथि व्यवसायिक सटर निर्माण गरिने भएको छ । अहिले निर्माण भइरहेको संरचनाको माथिल्लो भागमा सुविधा सम्पन्न प्याराफिट निर्माण हुनेछ ।
पहिलो चरणमा साढे ४२ मीटर क्षेत्रफलमा संरचना निर्माण सुरु भएको इन्जिनियर महतोले बताए । शौचालय,कोठा र प्याराफिडसहितको संरचना कुल ८५ मीटर क्षेत्रफलमा निर्माण गरिनेछ । रंगशालाको कुल ५५ मीटर चौडाई र १३० मीटर लम्बाई रहेको छ ।

‘अन्य संरचना समेत निर्माण हुनेछन् । दुर्तगतिमा काम भइरहेको छ’, उनले भने,‘ रंगशाला निर्माणको काम २४ महिनामा सम्पन्न हुने भएको छ । समय मै काम गर्ने गरी काम भइरहेको छ ।’
५० करोड लागतमा बन्नेछन् यी संरचना
सघन सहरी विकास कार्यालयका अनुसार प्रदेशकै नमुना रंगशाला निर्माण हुन लागेको हो । रंगशाला निर्माणका लागि टेन्डरसमेत आह्वान भएर निर्माण सुरु भएको हो । अबको २ वर्षमा सुविधायुक्त रंगशालासहितका अन्य संरचना निर्माण हुनेछन् ।

रंगशाला निर्माण स्थल राजसिम तस्बिर : शुभाकर विश्वकर्मा 

५० करोड बजेटमध्ये १३ करोड लागतमा रंगशाला निर्माण हुनेछ । बाँकी ३७ करोड लागतमा रंगशालाबाहिरका सुविधायुक्त संरचना बन्नेछन् । अन्य ११ वटा संरचना निर्माण हुनेछन् । कार्यालयले दिएको जानकारी अनुसार यही बजेटमा रानीताल पार्क बनाइने छ ।

चन्दननाथ नगरपालिका अगाडि सटर निर्माण गरिनेछ । सटर निर्माण पनि सुरु भइसकेको छ । इन्जिनियर महत्वले सटरको पहिलो तला निर्माण सम्पन्न हुने चरणमा रहेको जुम्ला दर्पणलाई जानकारी दिए । यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय निर्माण हुनेछ । जुम्ला बजारमा कटिङ ढुंगा छाप्ने काम पनि यसै अन्तर्गत हुनेछ ।

कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु–कार्तिकस्वामी सडक कालोपत्रे, कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाइपालादेखि भण्डारीवाडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रे लगायत ११ वटा संरचना रंगशालासँगसँगै निर्माण हुने आयोजना कार्यालयले जानकारी दिएको छ ।

यसरी भईरहेकाे छ, रंगशाला निमार्णकाे काम