हिरूलाल’ : कर्णाली क्षेत्रको वियोगान्त कथा

शुभाकर विश्वकर्मा
कर्णाली दुर्गम हाे । कर्णाली विकट छ । कर्णालीमा अभाव मात्रै छ । अहिलेपनि आम बुझाई छ । खासगरी कर्णाली बाहिर यस्ताे भाष्य व्यापक छ । राज्यका निकायदेखि व्यक्तिसम्मै। खासगरी सिंहदरबारले हिजाेदेखि साैतेनी व्यवहार गरिरहयाे ।

सिंहदरबारकाे पूर्वाग्रही दृष्टिकोणले कर्णालीलाई दुर्गम बनाएको थियो । यसैले पूर्व मेचीदेखि पश्चिम महाकाली पारिको दोधरा–चाँदनीसम्मका मान्छेहरूले आफ्नो अप्ठेरो र विकट स्थानलाई ‘कर्णाली’ को उपमा दिने गरेको पाइन्छ । जुन पूर्णत अस्वीकार्य हाे । कर्णालीमाथि गरिएकाे ज्याजति हाे ।
हाे, कर्णालीमा तमाम् समस्या छन् । गर्नुपर्ने धेरै कुरा छन् । तर कर्णालीलाई विकटकाे बिम्बकाे रूपमा परिभाषित गरिएकाे छ । कर्णालीमा दुःख मात्रै छैन । अभाव मात्रै छैन । कर्णालीमा अपार सम्भावना छन् ।

यहाँका सम्भावनालाई अवसरमा बदल्नुपर्ने छ । विकासमा संघीयता ल्याउनुपर्ने आवश्यकता छ । कर्णालीकाे अग्रगमनका लागि विकासमा वीकेन्द्रीकरण चाहिएकाे छ ।
त्यसकाे लागि शसक्त हस्तक्षेप आवश्यक भइसक्याे राजनीतिक तहबाट । सरकारी तवरबाट । साहित्य र सिर्जनाबाट । भाषा,संस्कृतिदेखि लिएर कला साहित्यमा समेत कर्णाली उर्वर नै हाे ।

वर्तमान नेपाली भाषाकाे उत्पति नै कणर्णाली ( जुम्ला सिञ्जा) मा भएकाे हाे ।
पछिल्लाे समय कर्णाली धेरै कुराबाट आफुलाई अब्बल सावित गरिरहेकाे छ । कर्णालीकाे आयु बढेकाे छ । प्रतिव्यक्ति आय बढ्दाे क्रममा छ ।

निरपेक्ष गरिबीकाे तथ्यांक सुधारउन्मुख छ । निजामती सेवामा कर्णालीकाे पहुँच बढ्दाे क्रममा छ । सरकारी सेवा प्रवेशमा समेत फड्काे मार्दैछ ।
मुलधारमा गरिबी,विकट र दुर्गमकाे ट्याग अनि बिस्तारै बदलिदै गरेकाे कर्णालीमा लुकाउनै नसकिने सत्य हाे,बेरोजगारी ।

जुन कर्णालीमात्रै नभएर सिंगाे देशकै समस्या हाे । हरेक वर्ष राेजगारीकाे खाेजीमा लाखाै नाैजवान विदेशिन्छन् ।
यस्तै एक विदेशिन विवश कर्णालीकाे विवाहित युवाकाे परिवारकाे कथा हाे, हिरूलाल : द साेल अफ कर्णाली । हिरूलाल यश सिनेमाकाे केन्द्रीय पात्र हाे ।

यसकाे कथा पनि यसैमा केन्द्रीत छ । हिरूलाल कर्णाली क्षेत्रकाे वियोगकाे कथा हाे । एक परिवार अनेक समस्याका बाबजुत उक्त परिवारले गरेकाे संघर्षकाे कथा हाे । याे सिंगाे कर्णाली बाेकेकाे सिनेमा हाे ।

यो म्युजिकल सिनेमाले आर्थिक र अन्य अवसरका लागि विदेशिन बाध्य स्थानीय युवाको पीडालाई कथामा ढालिएको छ । त्यसका साथै कर्णालीबासी कसरी सडक र सञ्चार सुविधाबाट बञ्चित छन्,भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ ।

आस्थासँग जाेडिएकाे धार्मिक पक्ष देखाइएकाे छ । जुम्लामा छायांकन गरिएकाे म्युजिकल सिनेमा हिरूलालले यहाँकाे एक युवाकाे प्रेम सम्बन्ध, विवाह पुर्वकाे स्वर्णीम पल, विवाह पश्चात परिवारमा आउने उतारचढाव, गरिबीकै कारण विदेशिन बाध्य युवाकाे ब्यथा, विदेशिएका बुबासँग भिडियाेमा कुराकानी गर्न एक बालकले गरेका संघर्षसमेत समेटिएकाे छ ।

जसले किताब समातेर स्कुल जाने समयमा खच्चरमा ढुंगा बेच्छन् । अनि वाइफाई जाेड्छन् । यसमा अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बमले अभिनय गरेका छन् ।
अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् । याेगीकाे अभिनय बेजाेड छ । संजयले आफ्नाे पात्रलाई न्याय गरेका छन् । चक्रले पनि पात्रलाई अन्याय गरेका छैन् ।

कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल: द सोल अफ कर्णाली’ जुम्लाका विभिन्न स्थानमा छायांकन गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको सम्मिश्रण गरिएको हो । म्युजिक कम्पोज चक्र बमले गरेका हुन् ।

उनी यो म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन् । उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन् । गीतमा समावेश ठाडी भाकामा देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् ।

यो म्युजिक सिनेमालाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् भने यस गीतका संगीत निर्माता कोविद बज्र हुन् । यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् ।
अन्त्यमा,कर्णालीकाे विराट विगत भइकनपनि हेपिरहयाे ।
ईतिहास हेर्दा अहिलेकाे सिंहदरबारलाई शासन गर्याे कर्णालीले । फेरि त्याे विरासत फर्काउन लाग्नुपर्छ ।कर्णालीलाई कर्णालीकै मानिसको माया,प्रेम र सद्भाव चाहिएकाे छ । काठमाण्डाैबाट हेर्दा कर्णाली दुर्गम लाग्छ
कर्णालीबाट हेर्दा काठमाण्डाै दुर्गम छ । कर्णालीकाे गरिबीकाे प्रचार धेरै भयाे । अब कर्णाली गाैरवमा कुरा लेखाै ।