दर्पण संवाददाता,जुम्ला
जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउँमा किसान र व्यापारीको मिलेमत्तोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेको छ ।भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ देखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन् । तर पछि मुल्य नपाईने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली गल्ली र चोक चोक तथा फलफूल मण्डीहरुमा जुम्लाको काँचो स्याउ विक्रीका लागि राखिएको छन् । त्यस्तै काठमान्डौ,नेपालगन्ज,धनगडी विराटनगर लगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ ।आर्थिक समृद्धीसंगै जुम्लाको पहिचान संग जोडिएको जुम्ली अर्गानिक स्याउको पहिचार गुम्ने समेत खतरा बढेको कृषि विज्ञ बताउँछन् । जुम्लामा भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन् ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले भने ,“साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सुचित गराइएको हो । पछि उपयुक्त मुल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ टिप्नु, बाहिर बजारमा पठाउनु जुम्ली स्याउको पहिचान गुम्ने संकेत हो ।”साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको अधिकारीले जानकारी दिए । किसानले क्षणिक नाफा भन्दा दिर्घकालीन असरलार्इ ख्याल गर्नुपर्नेमा उनको जोड छ ।
यता,तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न किसानलाई आग्रह गरेका छन् । दुबै स्थानीयतहले सूचना जारी गर्दै जुम्ली स्याउको पहिचान कायम राख्न,बजारको माग अनुसार पुर्ति गर्न,राम्रो मुल्य पाउनका लागि भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न समेत सूचना गरिएको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले जानकारी दिए ।तातोपानीका कृषि शाखाका प्रमुख पदम नेपालीले पालिकामा व्यापारी,किसान र जनप्रतिनिधिको उपस्थितीमा अन्तरक्रिया गरी भदौ पहिलो साताबाट मात्रै स्याउ पिप्ने निर्णय गरेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले काँचो स्याउ निर्यातलाई रोक्न सबै संयन्त्र मजबुद बनाउनु पर्ने बताइन् । उनले भनिन्,“सम्बन्धीत पालिकाका नाकामा रोक्न पालिकानै सक्रिय हुनुपर्छ । चाडै जिल्लामा बैठक राखेर ठोस निर्णय गरी काँचो स्याउ टिप्न रोक्न पर्छ । अहिले निर्यात रोक्ने मात्र नभई पछि बजारीकरण हुने,किसानले उपयुक्त दाम पाउने विकल्प पनि दिनुपर्ने तर्फ सरोकारवाला गम्भीर हुनुपर्छ ।”स्याउ नटिप्ने निर्णय भएपनि किसान र व्यापारीको मिलोमत्तोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ । यसलाई रोक्न स्वयम किसान चेतनशील नभएर सम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ ।
जुम्ला दर्पण । १४ श्रावण २०७९, शनिबार १७:०२