जुम्लामा अन्तर मेडिकल कलेज खेलकुद कार्यक्रम हुँदै

जुम्ला : जुम्लामा यही भाद्र १६ गतेदेखि अन्तर मेडिकल कलेज खेलकुद कार्यक्रम हुने भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे आयाेजनामा अन्तर मेडिकल कलेज खेलकुद कार्यक्रम हुन लागेकाे हाे ।

खेलकुद कार्यक्रम भाद्र १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका खेलकुद समितिका संयाेजक विवेक पुन मगरका अनुसार प्रतिष्ठानले आफ्नो इतिहासमै पहिलोपटक `बन्धन निर्माण: शसक्तिकरण भावनाहरू´ भन्ने नाराका साथ प्रतियोगिता आयाेजना गर्न लागेकाे हाे ।

उनले प्रतियोगितामा देशभरका पाँच वटा कलेजहरू सहभागिता रहेकाे बताए । प्रतियोगितामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा,राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम, धनुषा ,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर सहभागी भएका छन् ।

यस्तै किस्ट मेडिकल कलेज, ललितपुर र महाराजगंज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्यायन संस्थान, महारजगंज, काठमाण्डौंले प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

खेलकुद कार्यक्रममा आठ विधाका खेलहरु समाहित गरिएका छन् । जसमा महिला पुरुष भलिबल, फुटबल, कृकेट, टेवल टेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन् ।
आमन्त्रित विद्यार्थीहरुलाई मुगु जिल्लामा अवस्थित रारा ताल अवलोकन गराउने व्यवस्था समेत गरिएको उनकाे भनाइ छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्को निर्णय बमोजिम स्थापित खेलकुद समितिले कार्यक्रमका सम्पूर्ण तयारीहरु सम्पन्न गरिसकेको छ ।

प्रतियोगिता तीन स्थानमा सञ्चालन गरिनेछ । कर्णाली प्राविधिक शिक्षालय,जुम्ला बहुमुखी क्याम्पस र नेपाली सेनाकाे खेल मैदानमा हुनेछ । प्रतियोगिताकाे उद्घाटन भने जुम्ला बहुमुखी क्याम्पसमा हुने खेलकुद समितिले जनाएकाे छ ।