चन्दननाथ माविका विव्यस अध्यक्ष भन्छन् : निर्णय सच्चिन्छ, ढुक्क हुनुस्

जुम्ला : चन्दननाथ माध्यमिक विद्यालयका विव्यस अध्यक्ष कृष्ण राेकायाले छात्रा निस्कासनकाे निर्णय सच्चिने बताएका छन् । आइतबार विद्यालयकाे निर्णय विपरीत फुटबल खेलेकाे भन्दै  १२ छात्रा विद्यार्थीलाई निस्कासन गरिएकाे थियाे । स्कुलकाे निर्देशन नमानेकाे भन्दै गरिएकाे छात्रा निस्कासनकाे सच्चिने उनले बताएका हुन् । निर्णय विद्यालय व्यवस्थापन  समितिकाे राय विनै गरिएकाे उनकाे भनाइ छ ।

‘हिजाे सबै निर्णय आवेगमा भएकाे हुँदा हामीले उपस्थिति जनाएनाैं,’ उनी भन्छन्, ‘कम्तिमा एक दिन ढिलाे भयाे भने परिस्थिति केही शान्त हाेला भन्ने लागेकाे थियाे। माहोल शान्त हुँदैछ पनि।’

जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर -१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई विद्यालयले निकालेकाे थियाे।

अध्यक्ष राेकायाका अनुसार साेमबार निस्कासनमा परेका विद्यार्थी, उनीहरुका अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच बैठक बसेर आइतबारकाे निर्णय सच्याइनेछ।

‘निस्कासनमा परेका छात्राहरु पुन: स्कुलमा पढ्न पाउने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘अलि आवेगमा निर्णय भयाे। याे सबै सच्याउनेछाैं र आगामी दिनमा अझ संयम हुनेछाैं।’

अन्तर विद्यालय स्तरीय छात्र र छात्रा दुबैमा सहभागिता जनाएकाे चन्दननाथ माध्यमिक विद्यालयले असाेज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरु विरुद्धकाे सेमी फाइनल खेलकाे थियाे। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडीहरु मैदान छाेडेर हिडेका थिए।

पछि विद्यालयले विज्ञप्ति निकालेर एन्फाबाट अन्यायमा पारिएकाे भन्दै छात्राहरु समेतलाई फाइनले खेलमा नपठाउने निर्णय गरेकाे थियाे। विद्यालयकाे निर्णय विपरीत छात्रा विद्यार्थीहरुले फाइनल खेलेपछि निस्कासन गरिएकाे थियाे।

तर छात्राहरु भने त्यस अगाडि नै विना विवाद फाइनलमा पुगिसकेका थिए। फाइनलमा पुगेकाे हुनाले पनि खेल्ने चाहना बढेकाे सहभागी छात्रा खेलाडीकाे सामुहिक स्वर थियाे।

याे विषयमा समाचार प्रकाशन भएपछि सामाजिक संजालमा विद्यालयकाे निर्णय विरुद्ध व्यापक विराेध भएकाे थियाे। यस विषयमा विभिन्न विद्यार्थी संगठनले निर्णयकाे विराेध गर्दै आन्दोलनकाे चेतावनी दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई कार्यालयमा बाेलाएर छलफल गराई निर्णय सच्याउन अनुराेध गर्ने तयारी थालेकाे शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए।

‘उहाँहरुसँग फाेनमा कुरा पनि भएकाे छ। सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘मैले चिठी पनि काटिसकेकाे छ। सानाे गल्तीका कारण विद्यार्थीकाे भविष्य बिगार्न नहुने विषयमा उहाँहरु सचेत हुनुहुन्छ।’

 

निस्कासन गरिएका विद्यार्थीलाई स्कुलमा फर्काउने विषयमा सकारात्मक तवरले छलफल चलिरहेकाे चन्दननाथ नगरपालिका -४ का वडा अध्यक्ष नवराज देवकोटाले बताए।

‘विव्यस, अविभावकहरु सहितको बैठकमा हामी पनि जाँदैछाैं,’ उनले भने, ‘हामीले अनाैपचारिक रुपमा चलाएकाे छलफल निकै सकारात्मक रुपमा अगाडि बढेकाे छ।’