लोगो लुकाउने सांसद

जुम्लाका सांसद गजेन्द्रबहादुर महत व्यंग्यमार्फत् सरकार र सदनलाई सधैँ कडा प्रहार गर्छन् । घचघच्याउँछन् । जनताका कुरा जस्ताकोतस्तै संसदमा राख्छन् । त्यो केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारताका होस् या शेरबहादुर देउवा नेतृत्व गठबन्धन सरकारको पालामा होस् । उनको सदनमा प्रस्तुत हुने शैली भिन्न देखिन्न । सधै प्रहार गर्छन् । आफ्नो भनाइ राख्छन् ।

तीन वर्षअघि तत्कालीन सरकारका उर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएको अभिव्यक्ति होस् या तीन वर्षपछि सभामुखलाई बुझाएको ताला–चाबी । महतका यी अभिव्यक्ति उत्तिकै अर्थपूर्ण छन् । जुन, संसद सचिवालयमा सुरक्षित छ । सांसद महतले त्यतिबेला, सदनबाटै पुन र घिसिङलाई ‘श्री ३ महाराज’ भनेका थिए । विद्युत् भारतमा बेच्छु भन्ने ‘श्री ३’ हरूले कर्णाली र जुम्लामा विद्युत् पुर्‍याइदिन उनको सुझाव थियो । कर्णालीको विद्युतीय समस्या सदनमा राख्दै महतले भनेका थिए – ‘हाम्रा समस्या लिएर ‘श्री ३ महाराज’लाई यति धेरै भेट्न कोसिस गरिसक्यौँ । हाम्रो ‘श्री ३ महाराज’ भनेको कुलमान घिसिङ र अर्का ‘श्री ३ महाराज’ ऊर्जामन्त्री वर्षमान पुन हुनुहुन्छ । उहाँहरूको फोन पनि उठ्दैन । भेटघाट पनि हुँदैन । हाम्रा जिल्लाका समस्या कसरी राख्ने ? जुम्ला अँध्यारो छ । विद्युत् छैन ।’

यतिले पनि नपुगेपछि जुम्लाबाट पञ्चेबाजा टोली ल्याएर ०७८ मंसिरतिर काठमाडौंमा र्‍याली नै निकाले । प्रदर्शन गरे । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन महतले हरसम्भव प्रयास गरेका थिए । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुग्नुमा उनको ठुलो योगदान रह्यो । विद्युत् मात्रै नभइ कर्णाली राजमार्गलगायत अन्य बाटोका विषयमा सदनदेखि सडकसम्म उनको आवाज कर्णालीका लागि भरोसायोग्य नै भयो ।

सांसदले जनताको आवाज बोल्नुपर्छ । जनताका मुद्दा बोल्नुपर्छ । जनताका समस्यामा केन्द्रित हुनुपर्छ । जनताको भावना बोल्नुपर्छ । तर, अहिलेका माननीय नेताका पछि हिँड्ने र भ्रष्टाचारमा संलग्न हुने गरिरहेको महतको अनुभव छ ।

२०२५ वैशाख १० गते जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाउँमा जन्मिएका गजेन्द्र, शिक्षक पेशा छोडेर राजनीतिमा आएका हुन् । तत्कालीन नेपाल मजदुर किसान पार्टीबाट सक्रिय राजनीतिमा आएका गजेन्द्र पछि आएर माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा सामेल भए ।

सदरमुकामकै एरिया भए पनि तत्कालीन महतगाउँका स्थानीयलाई मजदुरीका लागि कालापहाड अर्थात् भारत नगएकैले जीविका धान्न मुस्किल परेको थियो । सामान्य परिवारले प्राथमिक शिक्षा हासिल गर्ने स्थिति थिएन । ६ महिना कालापहाड बसेपछि मात्रै कापी कलम किन्ने स्थिति थियो । त्यस्तो परिवेशमा जन्मिएर, हुर्किएर गजेन्द्रले माध्यमिक शिक्षा उतीर्ण गरे । प्राथमिक शिक्षा महतगाउँकै नमुना प्राविबाट प्राप्त गरेका गजेन्द्रले एसएलसी भने चन्दननाथ माविबाट गरेका हुन् ।

त्यो बेला ! शिक्षक नभएकै कारण कक्षा सात पढेकालाई शिक्षक बनाइन्थ्यो । गजेन्द्रले पनि कक्षा नौ पास गरेपछि पढाउन थाले । पहिलो पटक गजेन्द्रको घर महतगाउँबाट हिँडेर एक दिन लाग्ने ठाउँ जुम्लाको गुठिचौर गाउँपालिका भित्रपर्ने मनिसाँघुमा पढाउन थाले । ०४१ सालदेखि शिक्षण पेशा सुरू गरेका गजेन्द्रले करिब १० वर्ष शिक्षक रहे । मनिसाँघुको दुर्गा माविमा ०४२ सालदेखि ०४६ सालसम्म पढाए । त्यसपछि चार वर्ष महतको घर नजिकै चन्दननाथ नगरपालिका–७ महतगाउँस्थित जनता प्राविमा पढाए । जनता प्राविमा उनले ०४९ सालसम्म पढाए । त्यसपछि चन्दननाथ माविमा ०५१ सम्म पढाए । शिक्षण पेशाको एक दशकपछि ०५१ सालमा गजेन्द्र स्थायी भए ।

प्रत्यक्ष रूपमा राजा र पञ्चहरुको शासनलाई बुझेका, जानेका र भोगेका गजेन्द्र तिनै शासकको शासनविरुद्ध आन्तरिक रुपमा लागे । त्यो थाहा पाएपछि गजेन्द्रलाई चन्दननाथ माविबाट सरुवा गरियो । हिँडेर एक दिनभन्दा बढी लाग्ने सिञ्जा सरुवा गरियो । सिञ्जास्थित भड्की र धताली दुई ठाउँमा सरुवा गरियो । तत्कालीन नेपाली कांग्रेसका नेताले आफूलाई सरुवा गरेको गजेन्द्र सम्झिन्छन् । एक ठाउँमा लामो समय पढाउन नदिएपछि, बेलाबेला सुरुवा गरिरहने भएपछि गजेन्द्रले राजीनामा दिए ।

अनि, राजनीतिको राजमार्गमा

०५२ मा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा आएका गजेन्द्र दुई वर्ष नेमकिपामा लागे । भूमिगत पनि भए । नेमकिपाका केन्द्रीय नेताहरुले सहयोग नगरेपछि जिल्लाका नेताहरुसँग सरसल्लाह गरेर माओवादी युद्धमा आवद्ध भए । युद्ध चर्किएकै बेला ०५४ मा भूमिगत भए । पाँच वर्ष भूमिगत जीवन बिताइसकेपछि ०५९ सालमा माओवादीको जुम्ला जिल्ला सचिव भए । ०६० सालतिर तत्कालीन माओवादी केन्द्रको राज्य ब्युरोमा काम गरे । २०६५ सालदेखि माओवादीको केन्द्रीय सदस्य भएका महत अहिले पनि केन्द्रीय सदस्य नै छन् ।

जनयुद्धताका गजेन्द्र थुप्रै आक्रमणमा सहभागि भए । सैन्य विभाग नभए पनि ठुला आक्रमणमा सहभागि हुन्थे गजेन्द्र । लडाइँमा उनले गोलीसमेत खाए । गोली खाँदा गजेन्द्र सोच्थे – ‘यो सामान्य हो । हामीले सत्ता कब्जा गरेर जनतालाई अधिकार दिलाउनु छ । साम्यवादी व्यवस्था लागु गर्नुछ । पिछडिएका वर्गलाई सत्तामा टेकाउनु छ ।’ त्यतिबेला उनले मात्रै थापेका थिएनन् गोली । सयौँले थापेका थिए तातो गोली । फरक यत्ति भयो ! छातिमा थाप्नेहरू सहिद भए । अन्य खुट्टामा थाप्नेहरू घाइते भए । युद्धमा सत्ता कब्जा गर्न पढाइएको पाठ अहिले पनि याद गर्छन् गजेन्द्रलाई । भन्छन् – ‘चीनको जस्तै व्यवस्था आउँछ भनिन्थ्यो । चीनका जनताले पाएको जस्तैः स्वास्थ्य, शिक्षा, रोजगार पाउँछन् भनिन्थ्यो । त्यसकै आशामा हाम्रो दिमागमा सत्ता ल्याउन कि मर्ने कि मार्ने नै थियो । जसरी पनि हाम्रो सत्ता प्राप्त गर्नु थियो । यस्ता लक्ष्य र उद्देश्यले हामीले जनयुद्ध गरेका थियौँ ।’

आफू युद्धमा आउनु गाउँको गरिबी र अशिक्षा पनि भएको उनले सुनाए । केही पञ्चका छोरा–छोरीहरूले पढ्न पाउने गरेका थिए । गरिबहरू सधैँ कालापहाड गएर ६ महिनाको खर्च जुटाउने गरेकाको अधिकारलागि जनयुद्धमा लागेको उनको भनाइ छ । ‘त्यतिबेला गाउँलेलाई डाक्टर भन्ने पनि थाहा थिएन । यो अवस्था देख्दा डाक्टरी पढुँ कि जस्तै पनि लागेको थियो । तर, घरको आर्थिक अवस्थाले पढ्न सक्ने अवस्था थिएन’ – उनले ३० वर्ष अघिको महतगाउँ स्मरण गरे, – ‘महत गाउँको अवस्था निकै गाह्रो थियो । स्वास्थ्यका लागि त झनै गाह्रो । गाउँमा डाक्टरै नजाने । औषधि उपचार गर्न नपाइने । धामी र झाँक्रीकै भरमा महतगाउँ थियो । सदरमुकाममा हवाइ सेवा त थियो । तर, ठुला धनीहरुका छो–छोरीले मात्रै चढ्ने गरेका थिए । गरिब, विपन्नका छोरा– छोरी १०/१२ दिन लगाएर हिँड्ने र नुन बोक्ने गर्थे । केही पढ्न लेख्नकै लागि कमाउन भारत हुदैं काठमाडौंँ आउने गर्थे । खाद्य संकट उस्तै थियो । नुन लिन सात दिन लगाएर सुर्खेत, नेपागञ्ज आउनुपर्ने बाध्यता थियो । त्यहीँ नुन लिएर भोट जानुपर्ने । खान (जमिनबाट उब्जिएको अन्न) १२ महिना पुग्दैन थियो । ६ महिना मात्रै त्यो पनि जसोतसो पुग्थ्यो । जतिसुकै धनी भए नि ।’

समाजमा विद्यमान गरिबी, अशिक्षा र अभावविरुद्ध गजेन्द्रको राजनीति थियो । त्यसकै कारण गजेन्द्रले दश वर्षे सशस्त्र संघर्षसँग सहयात्रा गरेका थिए । तर, अहिले आएर माओवादी नेताहरुले जनताका मुद्दाहरुलाई जति ध्यानदिनुपर्ने थियो त्यसमा ध्यान नदिएको गजेन्द्रले सुनाए ।

यसरी सम्झिन्छन् जनयुद्धलाई

जनयुद्ध नेपाली राजनीतिमा युगान्तकारी परिवर्तन भएको गजेन्द्र बताउँछन् । माओवादी नेताहरू बिग्रिए भन्दैमा जनयुद्ध गलतै थियो भन्न नमिल्ले निष्कर्षमा उनी पुग्छन् । महत भन्छन् – ‘हामी नेताहरूले जनयुद्धका मुद्दालाई बेवास्ता गरेकै हौँ । तर, जनयुद्ध गलत थियो भन्न मिल्दैन । हो, माओवादी नेताहरुको अयसआरामी भएका हुन् । हामी बिग्रिएका छौँ । नेताहरु बिग्रिएका छन् । माओवादीप्रतिको विश्वास र भरोसा त्यसै कारण टुटेको हो ।’

माओवादीले पूर्ण रूपमा सत्ता प्राप्त नगर्दा पनि यसो देखिएको उनको दाबी छ । ‘माओवादीले जनयुद्ध पूर्ण सत्ता कब्जा गर्ने भनेर बाचा गर्याे । तर, माओवादी अहिलेसम्म पूर्ण सत्तामा छैन’ महतले थपे – ‘यसलाई यसरी बुझ्दा हुन्छ । माओवादीले आफ्नो हातमा शक्ति र सत्ताभन्दा पनि कसको हातमा शक्ति र सत्ता सुम्पिने भन्ने छ । सत्ता कसको पोल्टामा हाल्ने ? एमालेको पोल्टोमा हाल्ने कि कांग्रेसको पोल्टामा ? यो केन्द्र र शक्तिमा माओवादी छ । पूरै देशलाई हातमा लिएर माओवादीले हाँकेको भने छैन ।’ तर, माओवादी कमजोर हुनुमा पार्टी विभाजन पनि भएको उनी ठम्याउँछन् । वैद्य, विप्लव, बाबुरामदेखि धेरै नेताहरू माओवादीभन्दा बाहिर जाँदा पनि यस्तो अवस्था देखिएको उनी सुनाउँछन् ।

उनी शान्ति प्रक्रियामा आउनुभन्दा पहिलाको चुनवाङ बैठकलाई पनि सम्झिन्छन्–‘चुनवाङको बैठकमा प्रष्ट पारेर शान्ति प्रक्रियामा आएका थियौँ । त्यतिबेला नै नेताहरुको मत बाझिएको थियो । शान्ति प्रक्रियामा नआउने विप्लव, वैद्यहरूको भनाइ थियो । तर, प्रचण्डले शान्ति प्रक्रियामा आउनुपर्छ । गणतन्त्र ल्याउनुपर्छ , हाम्रो सपना यहाँबाटै पुरा हुन्छ । घाइतेलाई व्यवस्थापन गर्नुपर्छ । सहिद परिवारलाई व्यवस्थापन गर्नुपर्छ । जनयुद्धको सपना गणतन्त्रबाट प्राप्त हुन्छ भनेपछि हामी शान्ति प्रक्रियामा आएका हौं ।’

०४६ सालदेखि ६२/६३ सम्म जसरी एमाले सत्तामा पुग्ने गरेको थियो त्यसरी नै माओवादी अहिलेको अवस्थामा पुग्ने गरेको महतको भनाइ छ – ‘अहिले पनि धेरैले माओवादी सकियो भन्छन् नि ! यसलाई ०६४ को तुलना गर्ने हो भने हो पनि । तर, ६४ पछि एमाले सकियो भन्थे । कांग्रेस सकियो भन्थे । अहिले केही त भएको छैन । त्यो भन्ने मात्रै हो । तर, माओवादीले जसरी राजनीतिक अवस्था परिर्वतन गर्‍यो त्यसरी जनताको अवस्था परिवर्तन गर्न नसकेको साँचो हो ।’

हिजो राजा वीरेन्द्रले सरकार राम्रोसँग नचलाउदा श्रीपेच आफैँले लगाउनु पर्‍यो । छाता आफैँले ओढ्नुपर्‍यो भनेर तत्कालीन बहुदल र कम्युनिष्टका नेताहरु व्यंग्य गर्थे अहिले उनीहरुलाई नै व्यंग्य गर्नुपर्ने अवस्था आएको महतको बुझाइ छ । राजनीतिलाई कसैको पेवा होइन सेवाका लागि लाग्नुपर्ने महत सुझाव दिन्छन् ।

वर्षौँदेखि सरकारमा रहिरहने नेपाली नेताको बानी छ । त्यस्तो उहिलेका राजा/महाराजाको पालामा हुन्थ्यो । त्यो संस्कार हाम्रा कम्युनिष्ट, कांग्रेस नेतामा छ । त्यसलाई त्याग्नुपर्नेमा उनको जोड छ – ‘हिजो दरबारको नजिक हुनेहरू शक्तिमा जान्थे । अहिले नेताको नजिक हुनेहरू शक्तिमा जान्छन् ।’

सदन किन आउन चाहँदैनन् गजेन्द्र ?

०७४ सालको निर्वाचनमा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका गजेन्द्र आगामी मंसिर ४ को निर्वाचनमा उम्मेदवार नहुने बताए । ०७० सालको निर्वाचनमा हार व्यहोरे पनि ०७४ मा उनको जित भयो । उनी भन्छन्–‘अब प्रतिनिधिसभामा आउने मन छैन । आउने ठाउँ पनि छैन । त्यो मैले बुझ्नुपर्छ । फेरि, टिकटको समस्या पनि होइन । टिकट पनि देलान् नदेलान् ! मैले नै पाउनुपर्छ भन्ने पनि छैन । मैले ७४ को चुनाव जितिसकेपछि सबै बुझे ! माननीयहरूलाई बजारमा हेर्ने दृष्टिकोण राम्रो छैन । त्यसमाथि माननीयहरुको कुनै अधिकार पनि छैन । अनावश्यक मान्छेहरू भन्छन् कति खायो, कति लुट्यो । बेकारमा बदमासी खेप्नुपर्छ । त्यसैले अब म चुनाव लड्दिन । यो फेरि मेरो हकमा हो । अरू माननीयहरूले नेताको अघि पछि लागेकै छन् । मन्त्री भएकै छन् । भ्रष्टाचारमा संलग्न भएकै छन् । त्यसैले मलाई पार्टीले तपाईं नै लड्नु भने पनि आगामी चुनाव लड्दिनँ ।’

महत प्रतिनिसभा भएका २७५ माननीयहरु अनावश्यक भएको बताउँछन् – ‘यत्रो २७५ माननीयहरू अनावश्यक छन् । खासै अधिकार पनि छैन । विधेयक पास गर्ने, नीति बनाउने कुराहरूमा अलिकति भन्छन् । त्यो पनि पार्टीले ह्वीप जारी गरेपछि मान्नैपर्छ । त्यसैले मेरो कराउने काम पनि अरू कसैले गर्ला, आउला तर म संसदमा आउँदिन । पार्टीले तपाईं नै लड्नु भनेपछि म पत्रकार सम्मेलन गरेर टिकट अस्वीकार गर्छु ।’

जनताको गाली खान सदन नआउने सोचमा छन् । पाँच वर्षसम्म आफूले जनताका मुद्दाबाहेक अरू नबोले पनि समाधान नभएपछि फेरि चुनाव लड्ने र संसदमा कराउन नआउने उनको सोच छ । भन्छन्, ‘पाँच वर्ष अनुभव भइहाल्यो । सधैँ किन भइरहनु ? साथीहरू पनि हुनुहुन्छ । सधैँ भइराख्नु राम्रो पनि हुँदैन । सधैँ हामी भइराख्ने यो कुनै राजतन्त्र त होइन नि ! समानुपातिक पनि लड्ने छैन । यो अलि झन्झटिलो छ । अनावश्यक किन टाउको दुखाउनु ! अलि फ्रेस जीवन बिताउने नि ! मैले राजनीतिबाट बिदा लिने भनेको होइन । पार्टीलाई पनि सहयोग गर्छु । उठ्ने साथीहरुलाई पनि सहयोग गर्छु । तर, हाउसमा आउँदिनँ ।’ योभन्दा पहिला महत माओवादी केन्द्रको जिल्ला इन्चार्ज थिए । त्यो पनि अरूलाई दिन भनिसकेको महत बताउँछन् ।

किन लोगो लुकाएर हिँड्छन् गजेन्द्र ?

०७८ साउन १२ गतेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्रले अहिले सांसदले लोगो लुकाएर हिँड्ने अवस्था आएको मात्रै बताएनन् आफूलेसमेत लोगो लुकाएर हिँड्ने गरेको बताए । त्यो अभिव्यक्तिले केही समय सामाजिक सञ्जालतिर राम्रै स्थान पायो । अहिले पनि चोक–चौतारातिर त्यसका कुरा हुने गरेका छन् । एक अर्थले त्यो नेपालका सांसदको असली रूप गजेन्द्रले देखाएका पनि हुन् ।

किन उनले यसो गरे ? गजेन्द्र यसो भन्छन्–‘सांसदको लोगो लुकाएर हिँड्छु । आवश्यक परेका बेला परिचय–पत्र देखाउँछु । किन लोगो लगाउनु पर्याे र ? मान्छेहरु बाटोमा भेटिएपछि भनिहाल्छ ! यो सांसद् हो भन्ने थाहा पाउन बित्तिकै जो कसैले भन्छ – ‘यी लुटेर खाने हुन् ।’ मान्छेको दिमागमा त्यस्तो परेको छ । किन हो कुन्नि ! हामीले त लुटेर खाएका छैनौँ । तर, पनि आममान्छेमा सांसदप्रति हेर्ने दृष्टिकोण राम्रो छैन ।’

लोगो लुकाउनुपर्ने बाध्यता फेरि नभएको स्पष्टीकरण दिन्छन् – ‘लोगो लुकाउनु पर्ने बाध्यता होइन । तर, मलाई लगाउन मन लाग्दैन । लोगो लगाए पनि प्रहरीले चिन्दैन म माननीय हुँ भन्नुपर्छ । लोगो लगाएर सिंहदरबारभित्र मान्यता हुँदैन । कर्मचारी कहाँ मान्यता हुँदैन । मतलबः जहाँ काम हुन्छ त्यहाँ त्यसको मान्यता हुँदैन । जनता कहाँ लगाएर जाने हो भने यति धेरै माननीय किन भनेर भन्छन् । त्यहाँ पनि मान्यता हुँदैन । त्यसैले त्यो लोगो किन चाहियो ? हामी त काम गरेर खाने मान्छे न हो ।’

गजेन्द्रले यतिमै सक्काउँदैनन् आफ्नो लोगो विषयमा स्पष्टीकरण । थप्छन् – ‘लोगोलाई कोही आफ्ना पीएसीएदेखि छोरा–छोरी श्रीमती लुट्ने बनाएर खाने होलान् । कहीँ पार्टी अदलबदल गरेर खाने मान्छेहरु होलान् त्यसका लागि होला यो सांसदको लोगो । कतै माननीय बिक्री भएर खाएको मान्छेका लागि होला यो लोगो । हामीले त के गर्नु छ र ? हामीलाई त झन् सांसद भएपछि घाट छ नि ! किन लोगो लगाइराख्नु पर्‍यो भन्या ? जसलाई मन्त्री हुँला भन्नुछ । जलाई प्रधानमन्त्री हुँला भन्नुछ । सांसद भएर आउनलाई ठुलै रकम पार्टीलाई बुझाएर आउँछन् । अनि, माननीय हुन्छन् । भरसक मन्त्री हुन्छन् । उनीहरुलाई हो सानसौकातको कुरा भयो । एउटालाई भने मन्त्री हुँदा अर्को हुँला भनेर होला ! हामीलाई त न मन्त्री हुनु छ न केही । मन्त्री पनि हामीलाई सजिल्यै दिँदैनन् । मन्त्री दिने भए ए दिनैहाल्थे नि ! अब, मन्त्री हुन सजिलो छैन् ।