सदस्यतामा जुम्ला महासंघले मनाेमानी गरेपछि चार संगठनकाे विराेध

जुम्ला : सदस्यता नविकरण र नयाँ सदस्यता थप गर्ने कार्यमा नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्षसहित केही पदाधिकारीले मनाेमानी गरेकाे भन्दै चार पत्रकारका पेसागत संगठनले विराेध जनाएका छन् ।

आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन, प्रेस चाैतारी नेपाल, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन जुम्लाले उक्त कार्यप्रति घाेर आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएकाे छ,`नेपाल पत्रकार महासंघ जुम्ला शाखाले २०८० जेठ २५ गते आफैले गरेकाे निर्णयकाे आफैले  हुर्मत लिएर नैतिकताको पराकाष्ठा देखाएकाे छ। यसरी सांगठनिक मर्यादालाई कुल्चेर नविकरण गर्ने र नयाँ सदस्यता थप गर्ने गरि गरिएकाे अनैतिक, अमर्यादित र विधान विपरीतकाे कामकाे हामी घाेर भत्सर्ना गर्दछौं।´
चारै संगठनले जुम्ला जिल्ला समिति र कर्णाली प्रदेश समिति लामाेदसमयदेखि पुर्वाग्रही ढंगबाट अगाडि बढिरहेकाे उल्लेख गरेका छन् । महासंघ जुम्लाकाे नेतृत्वले कार्यसमितिकाे निर्णयविरूद्व आफू निकट गैरपत्रकारलाई समेत सदस्यता दिलाउने कामकाे जति निन्दा गर्दापनि कमै हुने जनाइएकाे छ ।
जिल्ला र प्रदेशबाट सक्रियता पूर्वक पत्रकारिताकाे मर्यादालाई जाेगाइराखेका पत्रकारलाई राजनीतिक कुदृष्टिले संगठित हुने अधिकारबाट समेत बञ्चित गराउँदै आइएकाे उनीहरूकाे आराेप छ ।
नेपाल पत्रकार महासंघले केन्द्रीय स्तरबाट सुरू गरेकाे  शुद्धीकरणकाे अभियान प्रति पूर्ण समर्थन भएपनि जिल्ला र प्रदेश महासंघले गैरजिम्मेवार कार्यशैली देखाएकाे चारै संगठनले दाबी गरेका छन् ।
नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन, २०७५) को धारा ९, धारा १८ तथा ४३ ले दिएको अधिकार बमोजिम २०७९ पुस ८ र ९ गते भएको साधारण सभाबाट गठित महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहासचिव उजिर मगर, निवर्तमान सचिव रामप्रसाद दाहाल र पूर्वसचिव धर्मेन्द्र कर्ण रहेको ४ सदस्यीय नेपाल पत्रकार महासंघको सदस्य शुद्धीकरण समिति बनाएको थियो।
तत्काल याे कदम नसच्याइएकाे खण्डमा हुने जस्तोसुकै घटनाकाे जिम्मेवार सांगठनिक मर्यादा र नैतिकता नदेख्ने नेतृत्व नै हुने चेतावनीसमेत दिएका छन् ।