हरितालिका तीज : हराउँदै मौलिकता,मौलाउँदै विकृति

पृष्ठभूमि
तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म ५ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिन्छ । यतै मात्रै होइन नाचगान मनोरञ्जन समेत गरिन्छ । तीज नेपाली हिन्दू महिलाहरुद्धारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइन्छ । यस्तै अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यो पर्व मुख्य रुपमा नेपालमा मनाइन्छ । भने भारतका विभिन्न क्षेत्रमा पनि तीज मनाइन्छ । आद्य शक्ति भगवान शिवकी श्रीमती हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शशिरमा कुनै बाधा उत्पन्न नहोस भनेर पहिलो वर्त बसेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिनको थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउँदै आएका छन् भन्ने विश्वास गरिन्छ ।

यसको आधाकारिक नाम हरितालिका तीज हो भने वैकल्पिक नाम तीज हो । तीजका अनुयायी हिन्दू महिला हुन् । श्रीमानको दीघायू हुन्छ भन्ने यसको महत्व हो ।
तीजको धार्मिक महत्व रहेको छ । हिन्दू ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले एक वर्षसम्म तपस्या गरिन् । लामो समय तपस्या गर्दापनि फल नपाउँदा उनले एकदिन शिव लिङगको स्थापना गरी पानी समेत नपिइकन निराहार वर्त बसिन् । पार्वतीको कठोर वर्तबाट शिव प्रकट भए । उनले चिताएको कुरा पुगोस् भनेर आर्शीवाद दिए । पछि शिव र पार्वतीको विवाह भयो ।
उहिलेको तीज
यहि मान्यता अनुसार विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायू अनि अविवाहित नारीहरुले सुयोग्य वर पाउ भनि तीजको वर्त बस्ने चलन छ । चर्तुथीको दिन शाकाहरी भोजन गर्ने मिष्ठान्न परिकार खाने नाच्ने गाउने गरिन्छ । पञ्चमीको दिन विहान नजिकैको खोलामा गई दत्तिवनको तीनसय पैसठ्ठि टुक्राले दाँत माझी शुद्ध भई चोखो कपडा लगाइ भगवान शिवजीको पुजा आराधना गरि पञ्चमी पूजा लगाई बेलुकी सुर्यअस्तपछि शुद्ध शाकाहारी भोजन गर्ने परम्परा सदियोै कालदेखि चल्दै आएको हो ।

विगतमा तीजको बेला टाढा भएका छोरीबेटीको घरमा लिन जाने गर्दथे । तीजमा महिलाहरूलाई मीठामीठा भोजनका परिकारहरू खुवाइन्छ । नयाँ लुगा कपडा दिइन्छ ।
महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । घरमा आए पश्चात आमाले पकाएर दिएको दर खाएर बिरहका गीतहरु गाउँदै आपसमा दुःख सुःख साट्दै नाचगान गरी मनोरञ्जन गर्ने गरेको कोहलपुर ३ मैटहवाहकी ५६ वर्षीया कमला विश्वकर्मा बताउँछिन् ।

मौलिकता हराउँदै गएकोमा चिन्ता
हरितालिका तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, गरी दिदीबहिनी जम्मा भएर मादलको तालमा तिजको भाका हालि आफ्नै स्वरमा गाउँने र नाच्ने गरेको याद छ,कोहलपुर–४ किरण नालाकी ५५ वर्षीया जमिरा सिंहलाई । उनका अनुसार अहिले चलन फेरिएको ५ । तीज मनाउने चलन नै फेरिएको छ । तीजको मौलिकता हराउँदैछ ।

उनी भन्छिन,‘पहिले महिलाहरुको छिटो विवाह हुन्थ्यो । माइत आउन धेरै समय पर्खिनु पर्थ्यो । तिजको अवसर पारी माइत आउने र साथी संगीहरुलाई भेटेर दुःख सुःखका कुरा साट्थे । दर खान्थे ।’ अहिले समय फेरिएको छ । जमाना फेरिएको छ । महिलाहरु तीज शुरु हुनुभन्दा महिनौं अघिदेखि नै दर खान लागिहाल्छन् ।’

पछिल्लो समय पुरानो मौलिकता हराउँदै गएको बुढापाकाहरु बताउँछन् । पहिले तीजको आफ्नै रौनिक हुन्थ्यो । गाउँघरमा मीठो खान चाडवाड नै कुर्नुपथ्र्यो । त्यसैले पनि दर खाने प्रचलन भएको बताउँछिन,विश्वकर्मा । पहिले तीज मात्र नभई रहेका चाड पर्व आफ्नै भेषभुषा, साँस्कृतिक झल्कने खालको हुन्थ्यो । रेडियो,टेलिभिजनमा पनि राम्रा राम्रा तीजका गी हरु बज्थ्ये । तर, अहिले गीत संगितको नाममा विकृति मौलाएको छ ।
फेरिएको तीज
तीज आउन एक महिना अघि नै तीजको रौनक शुरु भइसकेको छ । तीज नजिकिदैँ गर्दा देशका बिभिन्न ठाउँहरुमा रमझम बढ्दो छ । दर खाने र खुवाउने कार्यक्रम भइरहेका छन् । तीज निकै भड्किलो बन्दैछ । आधुनिक रुपमा महिलाहरुले यो परम्परालाई परिमार्जन गरि तीज आउनुभन्दा महिना दिन अगाडिदेखि तीजको दरको नाममा मदिरा पार्टी चल्ने गरेको छ । पालो पालो दर खाने र खुवाउने परम्पराबिना लागू गरेको कोहलपुर–११ एकता नगरकी गिता कट्टेलले बताइन् । सामान्य परिवार भएका महिला दिदी–बहिनी, आमाहरु बाट तीज टाढिँदै गएको उनको भनाइ छ ।

सस्तो लोकप्रियता र व्यवसायिक लाभका लागि तीजका गीतहरूको मर्म र सार हराई रहेको छ । आजको पुस्ताले तीज पर्वलाई लिएर गम्भीर रूपमा सोच्नु पर्ने आवश्यकता देखिएको उनले बताइन् ।
अहिलेको तीजलाई पहिलेको तीजसँग तुलना गर्न नमिल्ने मत राख्छिन्,कोहलपुर–११ सैनिक नगरकी आशा बिश्वकर्मा । परम्पराको ख्याल नराखी तीजलाई भड्किलो र देखावटी रुपमा लगिएको उनले बताइन् ।

‘नेपाली माहिलाहरुको सबैभन्दा महत्वपूर्ण पर्व भनेको तीज हो, यसलाई आधुनिकतातिर नधकेलेर पुरानो पुस्ताले मान्दै आएको परम्परा अनुसार चले तीजको महत्व हुने छ । पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे हुन्थ्यो,’ उनले भनिन्
वर्षदिनका लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने पनि थियो । वर्षदिनमा एकदिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आफ्नो पतिलाई खुसी राखेर माइत हिड्न परेको उनी सुनाउँछिन् ।

तीजलाई स्वतन्त्रताको प्रतिक पनि भनिन्छ । रातो टिका, चुरा, सारी, हातमा मेहेन्दी,लगाएर,सजिएर विवाहित र अविवाहित महिलाहरुको उपस्थितिमा भेला भई आफ्नै तीज मनाएको अनुभव सुनाउँछिन् आशा । तर अहिले पारिवारिक भन्दा पनि व्यावसायिक सम्बन्धहरू बलियो भएको अनुभव भएको उनको बुझाई रहेको छ ।

तीजमा गाउने गीतहरू पनि परिवर्तन भएका छन् । तीजको रुपमा प्रतिस्पर्धा गरी खर्चिलो र भड्किलो हुँदै गएको छ । यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई हराउँदै गएको छ, यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो । यस्तो मौलिक सँस्कृति जोगाइ राख्न जरुरी रहेको छ । तीजको नाममा भित्रिएको विकृति रोक्नैपर्छ ।