कनकासुन्दरी-८ का वडाअध्यक्ष नेकपा (माओवादी केन्द्र) मा प्रवेश

जुम्ला : जिल्लाकाे कनकासुन्दरी -८ बाट स्वतन्त्र निर्वाचित वडाअध्यक्ष धनबहादुर कामी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । वडाअध्यक्ष कामीलाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्प कमल दाहाल’प्रचण्ड’ले स्वागत गरेका हुन् ।

    उक्त समाराेहमा जुम्लाका नेता कार्यकर्ता सहभागी थिए । कामी जुम्ला जिल्लामै स्वतन्त्र रूपमा निर्वाचित हुने एकमात्र दलित जनप्रतिनिधि हुन् । २०७९ काे स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए ।

स्वतत्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत ल्याएर वडाध्यक्षमा जितेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृकाप्रसाद उपाध्यायले २ सय २० मत ल्याएका थिए ।

उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का गणेश सञ्ज्याल,एकीकृत समाजवादीका कप्तान भण्डारी र नेकपा एमालेका कृष्ण चन्द्र सञ्ज्याल प्रतिष्पर्धी थिए ।

दलित समुदायबाट स्वतन्त्र उम्मेदवारी दिएका गोल दमाई र कर्णजीत सार्कीले पनि वडा सदस्य जिते । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल नै विजयी भइन् । एक मात्र महिला सदस्य पदमा भने कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा यहाँबाट नेकपा एमालेले जितेको थियो । तर, त्यो बेला दलित महिला सदस्यबाहेक पदमा दलित समुदायको कोही पनि थिएनन् ।

धनबहादुर एमालेकै कार्यकर्ता थिए । एमाले विभाजित हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । स्थानीय तह निर्वाचनमा भने दलित समुदायको एकता गरेर स्वतन्त्र उम्मेदवारी दिए ।

नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्दै उनले माओवादी पिछडिएका वर्गहरूकाे पार्टी भएकाे बताए ।

`देशभर ६० लाख दलित हाेलान् । हिजाे राजा रजाैटाले हेला गरे। तर हामीलाई नेकपा (माओवादी केन्द्र ) ले अगाडि बढायाे । हरेक वडामा दलित महिला सदस्य अनिवार्य छ । अबपनि हामीलाई अघि बढाउने पार्टी माओवादी नै हाे ।´, उनले भने ।

उनले उपयुुक्त समय मिलाएर प्रचण्डलाई कनकासुन्दरी-८ मा बाेलउने र आफ्नाे समुदायका नागरिकलाई सामुहिक पार्टी प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।