वर्षौं पहिले अमेरिकी लेखक तथा पत्रकार चाल्र्स एन्डरसन डानाले समाचारसम्बन्धी निकै रोचक कथ्य भनेका थिए– ‘जब कुकुरले मान्छेलाई टोक्छ त्यो समाचार हुँदैन तर जब मान्छेले कुकुरलाई टोक्छ त्यो समाचार बन्छ ।’
उनले भनेजस्तै काठमाडौंको पशुपतिमा आयोजित कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाईंको भागवत प्रवचन ‘हटकेक’ बनेको देखिएको छ ।
यस्तो नहोस् पनि किन ? उनको नामको पछाडि दमाईं शब्द जो झुण्डिएको छ । केहीलाई लागेको छ– कोटिहोमलगायतका धार्मिक कार्यक्रममा दमाईंले दुई–चार श्लोक दुई–चार दिन गाउँदैमा परिवर्तन हुँदैन । जसरी क्यान्सरको पीडालाई पेन किलरले थाम्न सक्दैन त्यसैगरी जातीय कुसंस्कारको अन्त्य दुई–चार दलित पात्रलाई महायज्ञमा बोल्न दिँदैमा हुँदैन ।
अर्काेतिर केहीले शास्त्रलाई आधार बनाउँदै भनेका छन्– ‘एउटा दमाईं कसरी आचार्य बन्नसक्छ ? आचार्य बनाउने धर्मले नै शुद्व ब्राह्मण हुन सक्दैन । अझ ब्राह्मणले गर्ने कार्य गर्न मिल्दै–मिल्दैन ।’ यदि कुनै शुद्रले त्यस्तो चेष्टा गर्छ भने शास्त्रले कडाभन्दा दण्ड दिनु भनेको छ ।
कृष्ण दमाईं आचार्य हुनु, महायज्ञमा दुबोको माला लगाएर प्रवचन दिनु डानाले भनेझैं हो ।
नेपाली समाजमा संस्कृत भनेको कथित उपल्लो जातले मात्रै पढ्ने विद्या हो भन्ने सोच रहेकाले आचार्य कृष्ण दमाईं समाचार बने । यिनै आचार्य बनाउने शिक्षालय र गुरुकुलहरूमा बेलाबखत दलित विद्यार्थी भर्ना नलिने समाचारले पनि किन कृष्ण समाचार बने भन्ने विषयको पुष्टि गर्छ । यद्यपि यस्तो विकराल अवस्थामा विभेदभित्र बसेर कृष्ण दमाईंले आचार्य पास गरेका हुन् ।
जातलाई आधार मानेर पढ्न रोकिएको विषयमा उच्च शिक्षा हासिल गर्नु सामान्य होइन पनि ।
यदि, नेपाली समाजमा कृष्ण दमाईंको कुल–गोत्र परिवर्तन गरौं वा उनलाई पशुपतिनाथको पूजारी राखौं भन्ने विषयमा जनमत संग्र्रह गर्ने हो भने स्वतः हार्ने छन् । उनको पतन निश्चितजस्तै छ । नेपाली समाजको अहिले जुन जातवादी मानसिकता छ, त्यो रहुञ्जेल दलित आचार्य विभेद र बहिष्करणमा परिरहन्छ ।
अर्कोतिर उनले प्राप्त गरेको उपलब्धिले दलित समुदायले भोगेको समस्यामा केही टेवा नपुर्याउने निश्चितै छ । अर्थात् दलितहरू आचार्य हुँदैमा जातीय विभेद अन्त्यका लागि त्यसले सकारात्मक प्रभाव पार्दैन । कदाचित् उनले धार्मिक कार्यक्रममा भागवत गीता, पुराण वाचनको अवसर पाए भने पनि दलितका मुद्दा र आन्दोलनलाई खासै केही प्रभाव पर्ने देखिँदैन । न त उनलाई व्यवसायिक कोणबाट फाइदा पुग्ने हो । यद्यपि, उनको व्यक्तिगत उपलब्धिलाई भने हामीले सम्मान गर्नैपर्छ ।
अतः यिनै कोणबाट नियाल्दा आचार्य दमाईंको यस्तो उपलब्धि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै हो ।
उनी नै भन्छन्– ‘जन्मँदै कोही पनि ब्राह्मण हुँदैन, ब्राह्मण त केवल कर्मले हुन्छ, जसले सहि र सत्कर्म गर्छ, जसले वेदका ऋचा जान्दछ, जसले भागवत अध्ययन गर्छ, जसले मानव र माधव सेवा गर्छ, जसले सत्कर्म गर्छ त्यही आदरणीय हो ।’
उनले यस्तो तर्क दिँदा आफू जन्मेको समाज, त्यही समाजले जन्मँदै जातका आधारमा गरेको विभेद, उनले मानेको धर्मले वर्ण शुद्रलाई के भनेको छ, त्यो हेक्का किन नराखेको होलान् ? वर्ण व्यवस्थाले जुन प्रशिक्षण हिन्दू धर्मावलम्बीलाई दिएको छ, त्यसको विरुद्ध अहिलेको एक्काइसौं शताब्दीमा न कानुन बनेको छ, न कुनै सामाजिक र धार्मिक नीति बनेका छन् ।
कृष्ण दमाईंलाई अछुत मान्न धर्मले स्पष्ट रुपमा के भनेको छ भने दलित जतिसुकै विवेकशील भएतापनि ऊ शुद्र नै हो । शुद्रलाई जति सकिन्छ विभेद र दमन गर्नु नै धर्म हो । ब्राह्मणप्रति सम्मान गर्नु हो । यस्तो धार्मिक रजगजमा कृष्णले के आधारमा जन्मँदै ब्राह्मण हुँदैन भनेका होलान् ? जबकि धर्मको कुरा छोडौं नेपालको कानुनले जन्मजातै दलितको सन्तान दलित र ब्राह्मणको सन्तान ब्राह्मण हुने व्यवस्था गरेको छ ।
शैक्षिक योग्यताको विश्लेषण गर्दा कृष्ण दमाईंले त स्नातकोत्तर गरेका छन्, त्यो पनि एउटा भाषामा । जसको पृष्ठभूमि केलाउँदा विवाद र जातसँग जोडिएको छ । दलितप्रति दोषभाव राखेको छ ।
अर्काे कुरा, संस्कृतमा आचार्य गर्नु सरसर्ती हेर्दा त्यस्तो गौरव गर्नुपर्ने कारण केही देखिँदैन । एउटा दलित आचार्य हुँदैमा दलितबाट परिवर्तन भएर गैरदलित हुने होइन पनि । दलितका समस्यालाई आचार्यले हल गर्दैन र गर्न सक्दैन पनि । कृष्णले जस्तै अहिले विभिन्न संकायमा स्नातकोत्तर गर्ने, देश–विदेशको विश्वविद्यालयमा विद्यावारिधि गरेका र पढ्ने धेरै दलित छन् । तर, उनीहरूले समेत जातीय विभेदको समाना गर्नुपरेको छ । शिक्षा र सर्टिफिकेट हुँदैमा दलितलाई गैरदलितले अस्विकार गरेका कयौं घटना छन् ।
नेपाली गैरदलित डायस्पोराले विदेशमा समेत दलितहरूलाई विभिन्न तरिकाबाट विभेद गरेको समाचार आइरहेका हुन्छन् । जातकै आधारमा सांसदहरूले डेरा नपाएको समाज यही हो । सरकारी कर्मचारी, शिक्षित भनिएकाबाट दलित विद्यार्थीले जातीय छुवाछुत भोगेको समाज यही हो । जसकारण शैक्षिक योग्यता हुँदैमा नेपाली समाजले दलितको जात स्वीकार्दैन ।
त्यस्तै आचार्य हुँदैमा दलित शुद्रबाट ब्राह्मण हुँदैन । आचार्य कृष्णले भनेका कुराहरू विशुद्ध भ्रम हुन् । बाहुनवादी मनगढन्तको निरन्तरता हो । वास्तवमा दलितहरू यस्ता धार्मिक प्रोपगण्डाबाट मुक्त हुनुपर्छ । अन्यथा दलित मुक्ति ओझेलमा अवश्य पर्नेछ ।
अन्त्यमा, जबसम्म नेपाली समाजको सबैभन्दा घातक समस्या जातीय कुसंस्कार अन्त्य भएर जात व्यवस्थाको निर्मूल हुँदैन, कुल गोत्रलाई तहसनहस पारिँदैन तबसम्म जातीय छुवाछुतको अन्त्य हुँदैन । हिन्दू धर्मका बेलाबखत आइरहने यस्ता गतिविधिले दलितमाथि जातीय भेदभावको समस्यालाई हल गर्न सक्दैन । यस्ता एकाध घटनाले दलितहरूलाई रनभुल्लमा राख्नेशिवाय अरु केही गर्दैन ।
धर्मकै सवालमा विश्व प्रसिद्ध दार्शनिक कार्ल माक्र्सले धर्मलाई त्यसै ‘अफिम’ भनेका होइनन् । जसरी अफिमले मानिसलाई नशाको दास बनाउँछ, उसको विवेकशीलतालाई शून्यमा राखिदिन्छ । त्यसरी नै धर्मले मानिसलाई उसको विवेक खाल्डोमा पुर्न लगाएर आफ्नो दास बनाएको छ । त्यसकारण यी दुईको मुख्य उद्देश्य भनेको मानिसभित्रको मानवता सिध्याउ
(साभार:जनआस्था साप्ताहिकबाट)
जुम्ला दर्पण । १३ भाद्र २०८१, बिहीबार १७:३८