जुम्ला । नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेबाट नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि जुम्लाको कनकासुन्दरी गाउँपालिकाले भने आफ्नै शैक्षिक क्यालेन्डर अनुसार अगावै कार्यक्रम सुरु गर्ने भएको छ ।
गाउँपालिका कावाध्यक्ष प्रेमकली बुढाले आईतबार एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाले वैशाख ७ गतेदेखि (सोमबार) नै नयाँ भर्ना अभियान सञ्चालन गर्ने र सोही मितिबाट नियमित पठन–पाठन सुरु गर्ने निर्णय गरिएको छ ।
स्थानीय तहलाई संविधानले प्रदान गरेको शिक्षा व्यवस्थापनसम्बन्धी अधिकार प्रयोग गर्दै उक्त निर्णय गरिएको गाउँपालिका कावाध्यक्ष बुढाले जानकारी दिनुभयो ।
वैशाख ७ गतेबाट नियमित कक्षा संचालनमा आउने छन् । गाउँपालिकाले आफ्नो मातहतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्धारित मितिदेखि नै भर्ना अभियान संचालन गरी नियमित कक्ष संचालन गर्न निर्देशन दिएको गाउँपालिका कावाध्यक्ष बुढाको भनाइ छ ।
स्थानीयस्तरमै शैक्षिक गतिविधि समयमै संचालन गर्न र शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।
पालिका भित्रका सामुदायिक विद्यालयमा नियमित पठन–पाठन संचालन गर्न र गराउन सम्बन्धित सबैमा गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ । सरकारले शनिबार र आईतबार सार्वजनिक विदा दिएपनि कनकासुन्दरीले आईतबारमा पनि नियमित पठनपाठन हुने सुचनामा उल्लेख गरिएको छ ।

डिल्ली कामी । ६ बैशाख २०८३, आईतवार २१:०२