जुम्ला –रैथाने बालीको गुणस्तरीय बीउ उत्पादनमा टेवा पुर्याउने उदेश्यले तातोपानी गाउँपालिकामा “बीउ उत्पादन र प्रमाणीकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ | कृषि खाद्य प्रणालीका लागि नविकरणीय ऊर्जा “रेरास” परियोजना अन्तर्गत ली-वर्डद्वारा जेष्ठ ०४ देखि ०६ गते सम्म संचालन गरिएको उक्त तालिममा तातोपानी गाउँपालिका वडा नं. ४, ५ र ६ का २२ जना बीउ उत्पादक अगुवा कृषक र सामुदायिक बीउ बैंकको सदस्यहरुको सहभागिता रहेको थियो |
तालिम कार्यक्रममा गुणस्तरिय बीउ उत्पादन प्रकिया र अभ्यासहरु, गुणस्तर परिक्षण, प्रमाणीकरणका चरण र मापदण्ड जस्ता विषयमा विशेष छलफल गरिएको थियो।तालिम सहजीकरण कृषि विकास कार्यालय, जुम्ला, एकीकृत कृषि प्रयोगशाला, सुर्खेत र कृषि विकास साखा, तातोपानीका कृषि अधिकृतहरुबाट भएको थियो | सहभागी कृषकहरूले यस्ता तालिमले आफूहरूलाई थप ऊर्जा, उत्साह र ज्ञान प्राप्त भएको बताएका छन्।
तातोपानी गाउँपालिका कृषि विकास अधिकृत प्रेमकृष्ण उपाध्यायले रैथाने बालीको बिउ उत्पादन तथा प्रवर्द्धनमा सामुदायिक बिउ बैंकको महत्वपूर्ण भूमिका रहेको बताउँदै यस्ता कार्यक्रमले गाउँपालिकालाई प्रत्यक्ष लाभ पुग्ने धारणा राखे। उनले तालिममा सिकेका सीप र ज्ञान समुदायस्तरमा व्यवहारमा लागू गर्न कृषकहरूलाई आग्रह समेत गरे।
तालिमको समापन सत्रमा बोल्दै रेरास/ली-बर्डका परियोजना संयोजक बुद्ध वि.क.ले रैथाने बालीको प्रमुख उत्पादकको रुपमा पहिचान बनाएको जुम्ला जिल्लाले दोगो उत्पादनका निम्ति गुणस्तरीय बीउ उत्पादनको क्षेत्रमा काम गर्नु पर्ने आबश्यकता रहेको उल्लेख गर्दै सामुदायिक संस्था (समूह, सहकारी) लक्षित प्रबर्द्धनका कार्यक्रमहरु संचालन गर्नु पर्नेमा जोड दिनुभयो | रैथाने बालीको बीउ संरक्षण र प्रबर्द्धनका लागि सबै तहका सरकारसँग परियोजना र संस्था निरन्तर सहकार्य गर्दै कृषकलाई प्रोत्साहन गरिने बताए।धौलीगाड सहकारी संस्थाकी अध्यक्ष कविता पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन गर्दै उनले कृषकलाई आवश्यक समयमा यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

डिल्ली कामी । ६ जेष्ठ २०८३, बुधबार १६:४९