गणेश मावि राँकाका प्रधानाध्यापक सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका– १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।१ लाख ४५ हजार ३५० रुपैयाँ छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण नगरेको भन्दै प्रधानाध्यापक महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई र लेखा सहायक कृष्ण कामीले मिलेमतोमा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले सोमबार दायर गरिएको आरोप पत्र अनुसार महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९÷८० मा विद्यालयलाई प्राप्त एक लाख ४५ हजार ३५० रुपियाँ छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

महतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरुलाई छात्रवृत्ति रकम एक हजार रुपियाँको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरुलाई एक हजार चार सय ८५ रुपियाँ २३ पैसाका दरले ४४ जनालाई ६५ हजार ३५० रुपियाँ गरी जम्मा एक लाख ४८ हजार ३५० रुपियाँ वितरण गरेको भरपाई तातोपानी गाउँपालिकालाई पठाएको देखिएको छ ।

विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरुलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरुले एक आपसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भरपाइ पुनस् किर्ते गरी मिति २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भरपाई तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ङ बमोजिमको कसुरमा उनीहरुविरुद्ध एक लाख ४५ हजार ३५० रुपियाँ बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।