जुम्ला : लाेक आधुनिक गीत ‘कर्णाली तिर´ सार्वजनिक गरिएकाे छ । जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच कर्णाली तिर सार्वजनिक गरिएको हो।

अर्जुन सुनारकाे प्रस्तुति रहेकाे गीत रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको छ ।
उक्त भिडियोको कार्यक्रमका प्रमुख अतिथि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले रिवन काटेर गीतकाे विमाेचन गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले भिडियोले कर्णाली क्षेत्रको सामाजिक–आर्थिक अवस्था र त्यसले निम्त्याएको पारिवारिक विछोडलाई जिवन्त रुपमा प्रस्तुत गरेको उल्लेख गरे।
उनका अनुसार सार्वजनिक भिडियोमा कर्णालीका पहाडी गाउँ, ग्रामीण जनजीवन र अभावबीच संघर्षरत परिवारको कथा देख्न सकिन्छ। आर्थिक समस्याका कारण गाउँमै भविष्य नदेखेपछि घर छाड्न बाध्य एक युवकको कथालाई मुख्य विषय बनाइएको उनले बताए ।
मुख्य भूमिकामा रहेका अर्जुन सुनारले परिवारको आर्थिक अवस्था सुधार्ने चाहनामा श्रीमती र सानो सन्तानलाई छाडेर बाहिरिनुपर्ने पात्रको भूमिका निर्वाह गरेका छन्। राज्यलक्ष्मी नेपालीले उनकी श्रीमतीको भूमिका निभाएकी छन्।
भिडियोमा श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, बाध्यात्मक विछोड र प्रतीक्षाको पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ।
कर्णाली नदी आसपासका दृश्य, सुनसान परिवेश र रित्तिँदै गएका घर आँगनमार्फत गाउँबाट हुने युवाको पलायनले परिवार र समाजमा पार्ने प्रभावलाई देखाउने प्रयास गरिएको छ। भिडियोमा कर्णाली क्षेत्रको मौलिक संस्कृति, पहिरन र भौगोलिक विशेषतालाई समेत समेटिएको छ।
गीतको निर्देशन आयुष शाहीले गरेका हुन्। कथा राजेश विश्वकर्माको छ भने छायांकन प्रकाश विश्वले गरेका छन्। दुर्गा रावत निर्माता रहेको भिडियोको सम्पादन मदन नेपालीले गरेका हुन्।

जुम्ला दर्पण । १६ जेष्ठ २०८३, शनिबार १६:४३