सुपादेउरालीमा जनसागर, दर्शनका लागि दुई किलोमिटर पैदल यात्रा

जुम्ला – अर्घाखाँचीस्थित सुपादेउराली मन्दिर मा नयाँ वर्षको पहिलो दिन भक्तजनको उल्लेख्य भीड लागेको छ। मंगलबार बिहानैदेखि साँझसम्म नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका तीर्थालुहरूले मन्दिर परिसर भरिभराउ बनेको देखिएको हो।
दर्शनार्थीहरूको अत्यधिक चापलाई मध्यनजर गर्दै सवारी व्यवस्थापन कडाइका साथ गरिएको थियो। मन्दिरदेखि करिब दुई किलोमिटर टाढा नै सवारी साधन पार्किङ गरी तीर्थालुहरूलाई पैदलमार्गबाट मन्दिरसम्म ल्याइएको थियो। सन्धिखर्क क्षेत्रको सुपा खेला तथा शितगंगा क्षेत्रको लाहुरे टाँसेतर्फ पार्किङको व्यवस्था मिलाइएको थियो, जसले ट्राफिक जाम हुन नदिएको स्थानीय प्रशासनले जनाएको छ।
भीड व्यवस्थापनका लागि सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको थियो भने तीर्थालुहरूलाई पानी वितरणसमेत गरिएको थियो। लामो लाइनका कारण भक्तजनहरूले घण्टौं कुर्नुपरेको भए पनि व्यवस्थित रूपमा दर्शन गर्न पाएका थिए।
यो मन्दिर सन्धिखर्क नगरपालिका–७ खाँचीकोट र शितगंगा नगरपालिका–२ सीतापुरको सिमानामा अवस्थित छ। नयाँ वर्षको अवसरमा अधिकांश परिवारले सवारी साधन रिजर्भ गरेर सामूहिक रूपमा दर्शन गर्न आएका थिए।
सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ का अनुसार, सामान्य दिनमा दैनिक करिब एक हजार भक्तजन आउने भए पनि नयाँ वर्षमा अत्यधिक भीड लाग्ने गर्दछ। मन्दिर नजिकैको नरपानी–सुपादेउराली क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास तथा धर्मशाला निर्माणका लागि थप योजना बनाइने पनि उनले बताए।
मन्दिर व्यवस्थापन समितिका सदस्य तथा वडाध्यक्ष चुराबहादुर केसी का अनुसार, नयाँ वर्षको पहिलो दिन मात्र ४५ हजार २ सयभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। यस अवसरमा २ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको जनाइएको छ।
“नयाँ वर्षको पहिलो दिन सुपादेउराली मन्दिरको दर्शन गरे ३६५ दिन नै शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ,” उनले भने, “यसैले हरेक वर्ष यहाँ आउने भक्तजनको संख्या बढ्दै गएको छ।”
सुपादेउराली मन्दिर नेपालका प्रमुख १०० पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ र यसको धार्मिक तथा सांस्कृतिक महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ।