तातोपानी गाउँपालिकामा पालिका स्तरीय बालभेला तथा बाल क्लब पुनर्गठन सम्पन्न

जुम्ला तातोपानी गाउँपालिकामा “स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरौँ, बालअधिकारको सम्मान गरौँ” भन्ने मूल नारासहित पालिका स्तरीय बालभेला तथा बाल क्लब पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम तातोपानी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रममा पालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष अनुराधा चौलागाईंको अध्यक्षता रहेको थियो भने गाउँपालिकाकी उपाध्यक्ष श्रीमती रेवती रावल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शान्ती भकी सेजुवाल विशेष अतिथि रहनुभएको कार्यक्रममा किर्डाक नेपाल, पालिकाका विभिन्न शाखाका प्रमुख तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
बालभेलामा तातोपानी गाउँपालिका वडा नं. १ देखि ८ सम्मका ४१ जना बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाहरूलाई एकै ठाउँमा भेला गराई उनीहरूका साझा समस्या, आवश्यकता तथा सवाल पहिचान गर्ने अवसर प्रदान गरिएको थियो। छलफलका माध्यमबाट बालबालिकाको वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गरिएको आयोजकले जनाएको छ।
बालभेलाले विशेषगरी उपेक्षित समुदायका बालबालिकाको माग र चाहनालाई प्राथमिकतामा राख्दै उनीहरूको आवाज योजना प्रक्रियामा समावेश गर्ने वातावरण निर्माण गरेको बताइएको छ। पहिचान गरिएका आवश्यकता तथा प्राथमिकतालाई स्थानीय योजना तर्जुमा तथा बजेट विनियोजनसँग सम्बन्धित निकायसमक्ष प्रस्तुत गरी बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो।
कार्यक्रममा बालबालिकाको अर्थपूर्ण सहभागिता अभिवृद्धि, बाल क्लब तथा बाल सञ्जालको क्षमता विकास, स्थानीय शासन तथा लोकतान्त्रिक प्रक्रियामा बालबालिकाको सहभागिता बढाउने विषयमा जानकारी गराइएको थियो। साथै स्थानीय तहको योजना तर्जुमा प्रक्रियाबारे समेत सहजीकरण गरिएको थियो।
बालभेलाबाट तातोपानी गाउँपालिकाभित्र बालबालिकासँग सम्बन्धित २९ वटा मुख्य समस्या तथा सवाल पहिचान गरी कार्ययोजना निर्माण गरिएको छ। उक्त कार्ययोजना बाल सञ्जालद्वारा गाउँपालिका उपाध्यक्ष रेवती रावललाई हस्तान्तरण गरिएको थियो। बालबालिकाहरूलाई चार समूहमा विभाजन गरी सवाल पहिचान गरिएको जानकारी शाखा प्रमुख शान्ती भकी सेजुवालले दिनुभयो।
कार्यक्रममा सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेशनल तथा तातोपानी गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो भने किर्डाक नेपालको सहजीकरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र बाल सञ्जालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेवती रावलले विगतको तुलनामा यस वर्ष बालकेन्द्रित बजेट निर्माण तथा कार्यान्वयनमा विशेष प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी बाल पत्रकार रमिला कामीले दिनुभयो।
कार्यक्रमको सहजीकरण शान्ती भकी सेजुवाल, किर्डाक नेपालका प्रकाशबहादुर शाही तथा शिवलाल बुढाले गर्नुभएको थियो। यसैबीच, पालिका स्तरीय बाल क्लब पुनर्गठनसमेत गरिएको छ। पुनर्गठित १५ सदस्यीय बाल सञ्जालमा ८ जना बालिकाको सहभागिता रहेको छ भने अध्यक्षमा अनुराधा चौलागाईं पुनः चयन हुनुभएको छ।