जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ५ स्थि दुर्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थी चयन भएका छन् । मंगलबार भएको बृहत्त भेलाबाट सोही विद्यालयका पूर्वविद्यार्थी डिल्ली कामी विव्यस अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएका कामीले दुर्गा माविमा कक्षा १ देखि कक्षा १२सम्म अध्ययन गरेका थिए । उनले २०७४ सालमा सोही विद्यालयबाट २०७४मा एसईई उर्तीण गरेका थिए । सोही विद्यालयबाट नेपाली विषयमा प्लस टु पास गरेका उनी पत्रकारसमेत हुन् ।

उनी नेपाल टेलिभिजनका जुम्ला संवादददातासमेत हुन् । जुम्लाबाट सञ्चालित जुम्ला दर्पण डटकमका लेखा तथा व्यवस्थापन प्रमुख छन् ।आफू अध्ययन गरेको विद्यालयको महत्वपूर्ण जिम्मेवारीमा पुगेका कामी यसअघि जुम्ला जिल्लाकै कान्छो विव्यस अध्यक्ष बनेका थिए । उनले तातोपानी गाउँपालिका वडा नम्बर ६ स्थित कालिका आधारभूत विधालय हियाखोलाको विव्यस अध्यक्ष बनेर विद्यालयलाई नमुना बनाएका थिए । उनले नेतृत्व गरेको विद्यालय २०८१ मा तातोपानी गाउँपालिकाकै २९ वटा विद्यालयमध्ये आधारभूत विद्यालयतर्फ कालिका आधारभूत विद्यालय उत्कृष्ट हुँदै पुरस्कृतसमेत भएको थियो ।
तीन वर्षको कार्यकालमा कालिका आविलाई पालिकाकै नमुना विधालय बनाएका कामीले कलिलै उमेरमा माध्यमिक विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था सुधार गर्ने जटिल जिम्मेवारी लिएका हुन् । सामान्य परिवारमा जन्मीएका उनी सानै उमेरदेखि सामाजिक सेवामा अग्रसर भएका कारण पनि स्थानीयले नेतृत्वमा स्वीकारीरहेका छन् । कालिका आविमा पठनपाठन सुधार, भौतिक अबस्था सुधार, प्रविधिमैत्री पठपाठनको सुरुवात, अर्गानिक दिवा खाजा प्रभावकारी लगायतका नमुना काम गरेका थिए ।
विद्यालयमा बालबालिकाको संख्या उल्लेखीय रुपमा बृद्धि समेत गरेका छन् । मंगलबार भएको भेलाबाट सर्वसम्मत डिल्ली कामीलाई अध्यक्षको नेतृत्व सुम्पिएपछि उनले थप जिम्मेवारी थपिएको बताए । उनले आफ्नो क्षामता र अनुभवले सकेसम्म दुर्गा माविको सुधारमा सधै लागि पर्ने उल्लेख गरे । उनीसँगै विव्यस सदस्यमा विस्न रोकाया, खुम्बिरा नेपाली, जनप्रतिनिधिबाट वडा नम्बर ५ का वडाअध्यक्ष छिरिङ महत र शिक्षक प्रतिनिधिका रुपमा टेकबहादुर रोकाया सदस्य निर्वाचित भएका छन् ।
कालिका आविको काँचुली फेरेका डिल्ली : छापामय कक्षादेखि पुस्तकालयसम्म
कालिका आधारभुत विद्यालयमा छापामय कक्षाकोठादेखि पुस्तकालय स्थापनामा उल्लेख्य भूमिका खेले । कालिका आविमा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन छापामय कक्षाकोठा व्यवस्थापन गरिएको हो । सामुदायिक विद्यालयमा सरकारको ठुलो लगानी गरेपनि विद्यार्थी घट्दो क्रममा छन् । निजी विद्यालय प्रतिको आकर्षण बढी रहेको छ । निजी विद्यालयप्रति बढ्दो विद्यार्थीको आर्कषण घटाउन तथा व्यवहारिक शिक्षामा जोड दिन छापामय कक्षाकोठा व्यवस्थापनदेखि पुस्तकालय स्थापना गरिएको छ ।
सामुदायिक विद्यालयमा पूर्वाधार अभाव,मैत्रीपुर्ण कक्षाकोठा र शौचालय,अभिभावक सचेतना अभिवृद्धिपछि विद्यालय सुधारउन्मुख बनेको छ । कर्णालीकै कान्छा विव्यस अध्यक्षका रुपमा कामी आएपछि विद्यार्थी मात्रै उल्लेख्य रुपमा वृद्धि गरेनन् । भौतिक पूर्वाधारमा समेत उल्लेख्य प्रगति गरेका छन् । दुर्गमको विद्यालयमा पुस्तकालय स्थापना हुनु चेतनाको विस्तार,प्रश्न गर्ने बानीको विकास,पठन सीप र बानीको विकासमा टेवा पुग्ने देखिन्छ । संरचना अभावकै बीच सामुदायिक विद्यालयको शैक्षिक अबस्था गुज्रिरहेको अबस्थामा दुर्गमको विद्यालयमा पुस्तकालय स्थापना हुनु सुखद पक्ष हो । उनको कार्यकालमा २ करोड भन्दा बढी रकममा भौतिक संरचना निर्माण गरिएको छ । उनको कार्यकालमा एउटा पक्की भवन खेलौना घर, शुद्ध खानेपानी धारा,भान्सा घर र शौचालय लगायतका संरचना निर्माण भएका छन् ।
यस्ता छन् आगामी योजना
गुणस्तरीय शिक्षा र नतिजामा सुधार, कुशल र प्रेरित शिक्षक व्यवस्थापन, विधार्थी केन्द्रित कार्यक्रम, व्यवहारिक शिक्षामा जोड, शिक्षकको क्षामता विकास, भौतिक पूर्वाधार विकास, अभिभावक, विद्यार्थी, शिक्षकबीचको सम्बन्ध विस्तार, नैतिक शिक्षामा जोड, विधालयको आर्थिक शुसासन तथा पारर्दशिता कायम, विधालयको दिगो विकास तथा उत्कृष्ट शिक्षकलाई पुरस्कृत जस्ता दर्जनौ योजना अघि सारेका छन् ।
आफ्नो कार्यकाल अवधिभर सबै निकायसँग समन्वय सहकार्य गरी निर्धारित लक्ष्य अनुसार दुर्गा माविलाई नमुना विधालय बनाउन तनमन दिएर लागि पर्ने अध्यक्ष कामीले बताए । दुर्गा माविमा यस अघि आदीप्रसाद न्यौपाने विव्यस अध्यक्ष थिए । उनले पनि विधालय सुधारका थुप्रै प्रयास गरेका थिए ।

जुम्ला दर्पण । २९ बैशाख २०८३, मंगलवार १९:२०