‘रेलको बाटो’का गायक सुरजको कथाः वनरक्षकको जागिर, साथमा हार्मोनियम

काठमाडौँ– सुरज पण्डित २०७६ फागुन २८ गते बुढानीलकण्ठमा हार्मोनियम बजाएर ‘रियाज’ गरिरहेका थिए। त्योबेला अकस्मात् एउटा धुन बजाउन पुगे। त्यसलाई उनले रेकर्ड गरे। त्यहीबाट जन्मियो गीत– रेलको बाटो।

उनले धुनसँग मिल्ने गरी तुरुन्तै गीतको मुखडा र केही अन्तरा लेखे। संयोग कस्तो पर्‍यो भने, सरकारले उत्तरी छिमेकी चीनसम्म रेल लैजाने कुरा गरिरहेको थियो। त्यसलाई समेटेर उनले गीतमा कर्णालीको परिवेश उतारे। हुम्लामा सडक नपुगेको विषय उठाए। अनि ‘रेलको बाटो बन्दै छ रे’ लाइन बन्यो। त्यसपछिका शब्द ‘चढौँला नेपालैमा, हुम्ला मोटर बाटो छैन के चढौला हिमालैमा’ भन्ने थियो।
खच्चड मेरा गाडीजस्तै, बोक्ने चामल नुन
गाडी चढ्ने सपना हाम्रा कहिले पूरा हुन्
सिटामोलको अभावमा मर्नुपर्ने कोही,
चिल्ला गाडी हेलिकोप्टर चढ्दै छन् रे कोही
दिन हिँडी आउनुपर्ने चामल लिनलाई

यसभन्दा अगाडि लेख्न सकेनन्। त्यो आधा गीत जुम्लाकै साथी धनबहादुर शाही र लेखराज गिरीलाई पठाइदिए। लेखराजले गीत पूरा गरेर पठाए। त्यसमा संगीत भर्ने र गाउने सुरजले नै गरे। गीत तयार भयो। २०७७ फागुन ३ गते साँझतिर भिडियो आफैँ युट्युबमा अपलोड गरेर सुते। भोलिपल्ट बिहान उठ्दा गीतमा लाखभन्दा धेरै ‘भ्युज’ र पढिनसक्नु धेरै कमेन्ट आइसकेका थिए।

“रेलको बाटो गीत कर्णालीको वास्तविकतासँग मिल्छ। हामीले भोगिरहेका छौँ। हुम्लामा बाटो पुगेको छैन। सुत्केरी व्यथा लागेकी महिलाले हेलिकप्टर नपाएर मृत्युवरण गर्नुपर्छ,” उनी भन्छन्।

त्यसपछि सुरजका धेरै गीत चर्चित भए। ‘सिंहदरबार’, ‘रातो किताब’लगायत गीत स्रोताले मन पराए। तर जुम्लामा भने उनको पहिलो गीत नै चर्चित भइसकेको थियो।

पहिलो गीत र काठमाडौँमा संघर्ष
माया गर्ने जीवन साथी रोज्यौ भन्ने खबर पाएँ।
मलाई धोका दिन तिम्ले खोज्यौ भन्ने खबर पाएँ।

दशकअघि निकै चल्तीमा थियो यो गीत। पातारासी, गोठीचौरलगायत जुम्लाका माथिल्लो भेगहरूमा रेडियो र ‘वाकमेन’मा घन्किन्थ्यो। मोबाइलको ब्लुटुथमार्फत ‘शेयर’ गरीगरी सुन्ने गरिन्थ्यो।

आफूले गाएको पहिलो गीत नै जुम्लामा चर्चित भइरहँदा गायक सुरज आफ्नो संगीत यात्रामा एउटा इँटा थपिएको महसुस गर्थे। यो “पातारासी, पेर्यातिरबाट फोन आउँथ्यो, मेरो गीत सुनेको बताउनुहुन्थ्यो। उतातिर त इन्टरनेट पनि पुगेको थिएन, ब्लुटुथमार्फत शेयर भएर सबैतिर पुगेछ,” उनी भन्छन्।

सुरजको गायनतिरको पाइला एउटा संयोग थियो। गायक तथा संगीतकार पदम रोकाय लगायतका कलाकार २०६७ तिर जुम्ला पुगेका थिए। काठमाडौँबाट आएका कलाकार भनेपछि दर्शकदीर्घामा उपस्थिति बाक्लो थियो। त्यो भीड व्यवस्थित गर्न खटिएको समूहमा सुरज पनि थिए।

सुरजले उक्त कार्यक्रममा आफूले पनि गाउने इच्छा देखाए। अनुमति पाएपछि रामकृष्ण ढकालको ‘चरीले त छाडेर गइगयो’ गीत गाए। दर्शकले मन पराए। अर्को पनि गाउन ‘अफर’ आयो। त्यसपछि ‘के सन्देश बोकी ल्यायौ’ गीत गाए। उनको गायन मन पराएपछि पदम रोकायले उनका लागि गीत लेखिदिने वचन दिए।

त्यही गीत रेकर्डका लागि सुरज २०६९ सालतिर काठमाडौँ आए। उनी भन्छन्, “त्योबेला मेरो खुशीको सीमा थिएन। काठमाडौँ आएर पहिलो गीत रेकर्ड गरेँ।”

पहिलो गीतले नै सुरजलाई जुम्लातिर चिनायो। अबको संगीतयात्राबारे टुंगो थिएन। गीत–संगीत सिक्ने सपना देखेर राजधानी पसेका उनलाई दैनिकी चलाउन असहज भयो। उनी अड्नै नसक्ने भए। “गीत चल्नु एउटा कुरा हो, जीवन चलाउनु अर्को कुरा। काठमाडौँ बस्न नसकिने भएपछि जुम्ला फर्किएँ,” उनी भन्छन्।

तर सुरजको गायक बन्ने सपना कर्णाली नदीजस्तै लामो थियो। राराजस्तै गहिरो थियो। सजिलै हराउने अवस्था थिएन। उनले सपना पूरा गर्न अर्को उपाय अपनाए। जडीबुडी खोज्ने र पैसा जम्मा पार्ने, काठमाडौँ आएर गीत रेकर्ड गर्नेतिर लागे।

२०७० सालतिर सुरजले ‘जोड्यौ नाता सिन्दुरको छोड्यौ त्यही दिन, पिरतीका बाचाकसम तोड्यौ त्यही दिन’ गीत निकाले। गीत ठिकै चल्यो। रहर पूरा भए पनि आर्थिक अवस्था उस्तै रह्यो।

उनले करिब नौ महिना काठमाडौँ बसेर संगीत सिके। फेरि काठमाडौँ बस्न आर्थिक अवस्थाले धानेन। जुम्ला फर्किन आफ्ना भएभरका सामान बेचे। त्यही समय सुरजका साथी खड्गजित रोकायले फोन गरे।

खड्गजित पनि गीतसंगीतका पारखी थिए। “दोस्त गीत रेकर्ड गर्न आउँदैछु” खड्गजितले सुरजलाई फोनमा भने, “आफ्ना सबै सामान बेचिसकेको बताएँ। उनले ‘कोठा नछाड बरु खाना बाहिर होटेलमा खाउँला’ भनेपछि जुम्ला फर्किने योजना रोकियो।”

साथी खड्गजित काठमाडौँ आइसकेपछि फेरि कोठाको व्यवस्थापन भयो। खड्गजितलाई सुरजले आफ्नो योजना सुनाए। खड्गजितले चिनजानका सँग कुरा गरिदिए। “रमेश भण्डारी दाइ हुनुहुन्थ्यो साथीले चिनेको। मेरो कुरा सबै उहाँसँग गरिदिइसकेको रहेछ। दाइले कोशिश गर्ने बताउनुभएको रहेछ।”

खड्कजितको गीत रेकर्ड सकियो। २०७१ चैततिर सुरज जुम्ला फर्किए। पढाइ पनि छाडिसकेका थिए। त्यसको ६ महिनापछि २०७२ भदौमा खड्गजितको फोन आयो। “दोस्त, तिम्रो जागिर मिल्यो। असोज १ गतेदेखि हाजिर हुने रे,” खड्गजितले फोनमा भने।

त्यसको केही दिनमा सुरज काठमाडौँ लागे। “मैले काम के हो भनेर सोधिनँ, मतलब पनि थिएन। जे भए पनि काठमाडौँ अडिनुपर्छ भन्ने मात्र थियो,” सुरज भन्छन्।

असोज १ गतेदेखि काठमाडौँ सडक डिभिजनमा जागिर खान थाले। तर एक महिनासम्म उनी रनभुल्लमा परे। के काम हो, आफ्नो भूमिका के हो केही पनि थाहा थिएन। उनी भन्छन्, “मैले कार्यालय सहयोगी होला भन्ने सोचेको थिएँ। एक महिना भइसकेको थियो र अन्योलमा थिएँ। बीचमा दशैँ आयो। मैले अफिसमा घर जाने कुरा गरेँ। तलब आएको थिएन, कसरी जाने भन्ने पिर थियो।”

‘हाजिरसाजिर पछि मिलाउँला १५ हजार दिएर घर पठाउनू’ भनेर इन्जिनियरले लेखापाललाई भनिदिए। त्यही पैसा समातेर उनी जुम्ला गए।

मंसिरतिर सुरज काठमाडौँ आए। बल्ल उनलाई आफ्नो कामबारे थाहा भयो। “साइट हुँदो रहेछ, ठेकेदारले काम लिएको हुँदोरहेछ। त्यो हेर्ने काम मेरो रहेछ। त्यसपछि मैले बल्ल कामको प्रकृति बुझेँ,” उनी भन्छन्।

इन्जिनियर मेघनाथ थपलियाले उनलाई ‘साइट’मा खटाए। त्यतिबेला चक्रपथको सडक चौडा बनाइँदै थियो। उनी साइटहरू हेर्न थाले, काठमाडौँ सडक डिभिजनका सुपरभाइजर थिए।

जागिर भइसकेपछि संगीत सिक्ने कक्षा फेरि जानथाले। पहिला धनबहादुर गोपालीसँग सिके, पछि गुरुदेव कामतसँग। यसैबीच दुई वटा गीत गाउने अवसर पाए– बसेर पिपल चौतारी र विश्वास छैन प्रिय तिम्रो। यी गीत जुम्लाका धनबहादुर शाहीले सुरजलाई गाउन दिएका हुन्।

रहरले गायक, कहरले जागिर
सुरज एथ्लेटिक्स खेलाडीसमेत हुन्। २०६५ सालदेखि दौडन शुरू गरेका उनले नेपालगन्जमा भएको मध्यपश्चिमाञ्चलस्तरीय खेलकुदको दौडमा स्वर्णपदक जितेका थिए। धनगढीमा भएको राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा भने बिरामी हुँदा पदकविहीन भए। उनको नशामा समस्या देखिएको थियो। त्यहीकारण २०६९ सालमा दौडबाट संन्यास लिए। अनि गीततिर लागेका थिए।

उनका गीतहरू बिस्तारै लोकप्रिय हुँदै थिए। तर यसैबाट बाँच्न सकिन्छ भन्ने सुरजलाई लागेको थिएन। परिवारका सदस्यले सरकारी जागिर खानुपर्ने दबाब दिइरहेका थिए। २०७३ सालतिर वनरक्षक पदमा आवेदन खुल्यो। पहिला ‘फिजिकल’ परीक्षा हुन्थ्यो, त्यसपछि लिखित।

२०७४ मंसिरमा उनी वनरक्षक भए। उनलाई डिभिजन वन कार्यालय नुवाकोट खटाइयो। नुवाकोटको पनि अझ विकट ठाउँ देउराली जानुपर्ने भयो। तर उनको रहरलाई जागिरले फरक पारेन। २०७४ सालमा उनले ‘हे मेरी टुल्की नलाई बाडुल्की’ गीत बजारमा ल्याए। मिस्टर भर्जिन फिल्मको चर्चित गीत ‘टुल्की’ उनैले गाएका हुन्।

२०७६ तिर कर्मचारी समायोजन हुँदा उनी ललितपुर सरुवा भए। अनि उनलाई पनि स्टुडियो धाउन र गीतसंगीतमा जोडिन सहज भयो। उनी भन्छन्, “कहरले जागिर गरिरहेको थिएँ, रहर त मेरो संगीत नै थियो।”

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिभा पुरस्कार–२०८० बाट पुरस्कृत गरेको छ।

संघर्षशील गायक 
सुरजको संघर्ष गीत गाउन र जागिर खानमा मात्र सीमित छैन। उनी न्यून आर्थिक अवस्था भएको परिवारका सदस्य हुन्। “चुहिने घर थियो। परिवारबाट सहयोग थिएन। बाले हामीलाई छुट्याएर राख्दा म दुई वर्षको थिएँ रे,” उनी आफ्नो विगततर्फ पसे।

सुरजको जन्म जुम्लाको मालाभिडमा भएको हो। बुवाले दोस्रो श्रीमती ल्याएपछि सुरजकी आमाका दिन थप कठिन भएका थिए। उनी कान्छो छोरा हुन्।

घर खलंगा बजारमै भएका कारण पढ्नुपर्छ भन्ने चेत थियो। उनी स्थानीय रत्नचुँडेश्वर माविमा पढ्थे। स्कुलमा हुने सबैखाले प्रतियोगितामा भाग लिन्थे। मञ्च पायो भने गीत पनि गाइहाल्थे।

सानैदेखि ज्याला मजदुरी पनि गर्थे। गीत सुन्ने मन भएपछि ढुंगा फुटाउने काम गरेर ‘वाकमेन’ किनेका थिए। त्यसरी नै मजदुरी गरेर टेलिभिजन पनि किने। ‘नेपाली तारा’ नामक गायन कार्यक्रम हेर्न उनले टेलिभिजन किनेका थिए।

एसएलसी उत्तीर्णपछि सुरजले कर्णाली प्राविधिक शिक्षालयमा पढ्ने सोच बनाए। प्रवेश परीक्षामा उनले नाम पनि निकाले। शायद कर्णाली प्राविधिक शिक्षालयमा भर्ना गर्ने पैसा भएको भए उनी अहिले अहेब हुन्थे। जुम्लाका कुनै स्वास्थ्य चौकीमा काम गरिरहेका हुन्थे। तर ७ हजार रुपैयाँ नहुँदा उनले अनेक ठक्कर खाँदै आज गायकको रूपमा परिचय बनाएका छन्।

उकालोका लाेकेन्द्र विश्वकर्माकाे फिचर -साभार