तिला गाउँपालिकाकी उपाध्यक्ष दम्पतीले दिए एसईई

बुढा दम्पती भन्छन् : पढ्न उमेरले छेक्दैन

जुम्ला :  जुम्लाकाे तिला गाउँपालिकाकी उपाध्यक्ष गाेरीकला बुढाले एसईई परीक्षा दिएकी छन् । ३८ वर्षीय उपाध्यक्ष बुढाले एसईई परीक्षा सकेकी हुन् । उनी २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनी भुमिगत हुँदा पढाइ राेकिएकाे थियाे । २०५२ सालमा सुरू भएकाे जनयुद्धमा उनीपनि सामेल भइन् । विभिन्न माेर्चामा सहभागी भएर युद्व लडेकी उपाध्यक्ष बुढा जनयुद्ध उत्कर्षमा भएकाे बेला २०५७ सालमा भुमिगत भएकी थिइन् । त्यतिबेला उनी कक्षा सातमा पढ्थिन् ।

जनयुद्धमा सामेल भएपछि पढाइ राेकिएकाे थियाे, उनले भनिन्, शान्ति प्रक्रियामा आइसकेपछि पढाइलाई निरन्तरता दिन खाेजिरहेकी थिए । केही वर्षदेखि पढिपनि रहेकी थिए । यसवर्ष एसईई दिए । कक्षा एकदेखि नै अध्ययन गरेकाे तिला-८स्थित देउराली मावि  जुम्लाकाेटबाट उनले एसईई दिएकी हुन् ।

उनले २०५७ सालमा सात कक्षा पास गरेर छाेडेकी थिइन् । फेरि कक्षा आठबाट पुनः साेही विद्यालयबाट पढाइ सुरू गरिन् । कक्षा ९ र १० पढेर नियमित विद्यार्थीका रूपमा एसईई दिएकाे उनले बताइन् । एसईई सकेपछि उनले  आफ्ना दम्पतीकाे फाेटाे पाेष्ट गर्दै  एसईई परीक्षा सकिएकाे जानकारी दिएकी थिइन् ।

जुम्ला दर्पणसँग कुराकानी गर्दै उनले भनिन्,`अनुभव राम्राे भयाे  । पाकाे समयमा एसईई दिदा रमाइलाेपनि लाग्याे । हरेक दिन भाैतिक रूपमै उपस्थित भएर दिए ।´

तिलाकी उपाध्यक्ष समेत रहेकी बुढा परीक्षा अवधिभर विहान आठ बजे परीक्षामा सामेल हुन्छिन् ।एघार बजेर घर आउथिन् । अनि खाना खाएर पालिका जान्थिन् । परीक्षा सकिएसँगै अब नियमितरूपमा जनताकाे काममा जाेडिने जानकारी दिइन् ।

देउराली माविबाटै उनीमात्र हाेइन उनका श्रीमान वीरबहादुर बुढालेसमेत एसईई दिए । नेकपा माओबादी केन्द्र तिलाका अध्यक्षसमेत रहेका ४० वर्षीय बुढापनि २०५७ सालमै भुमिगत भएका थिए । उमेरले पढाइ छेक्दैन भन्ने सन्देश दिन आफूहरूले परीक्षा दिएकाे उनकाे भनाइ छ ।

बुढा दम्पती राजनीतिसँगै व्यवसायमा समेत सक्रिय छन् । उनीहरू तीन सन्तानका अभिभावकसमेत हुन् । उपाध्यक्ष बुढाकी जेठी छाेरी स्मृति बुढाले गतवर्ष एसईई दिएकी थिइन् ।

उनी हाल सुर्खेतस्थित जन माविमा कक्षा ११ मा अंग्रेजी विषय पढ्छिन् । कान्छी छाेरी स्नेहा बुढापनि आगामी वषर्ष एसईई दिदै छिन् ।