जुम्ला : जिल्लाकाे हिमा र सिञ्जा गाउँपालिकामा सशक्त बालिका परियाेजनाकाे सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । प्लान इन्टरनेशनलकाे आर्थिक सहयाेगमा पेस नेपालद्वारा तीन वर्षदेखि सञ्चालित परियाेजनाले तीन वर्षदेखि सञ्चालित गतिविधिबारे जानकारी दिने उद्देश्यले दुवै पालिकामा लेखा परिक्षण सम्पन्न भएकाे हाे ।

परियाेजना अधिकृत अशाेक चाैधरीले सिञ्जा गाउँपालिकामा कुल ७८ वटा गतिविधि सञ्चालन गरिएकाे बताए । उनका अनुसार सिञ्जामा परियोजना अन्तर्गत बाल विवाह न्युनिकरण,शैक्षिक सुधार,सचेतनामुलक कार्यक्रम गर्नुका साथै स्वराेजगार निर्माणमा सहयाेग गरिएकाे थियाे ।
ती गतिविधि सञ्चालन गर्न जम्मा ८३ लाख ५२ हजार रूपैया खर्च गरिएकाे परियाेजना अधिकृत चाैधरीकाे भनाइ छ । उक्त अवसरमा बाेल्दै सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले बालिका परियाेजनाले गाउँपालिकामा बाल विवाह न्युनिकरण,बालिकाकाे सशक्तीकरण र अभिभावक सचेतना लगायतका क्षेत्रमा सकारात्मक काम गरेकाे बताए । स्थानीय तहले परियाेजनाका राम्रा पक्षबारे सिक्नुपर्ने अध्यक्ष धितालले बताए । आफूहरूले शिक्षा र स्वास्थ्यमा विभिन्न संघ संस्थाहरूसँग मिलेर काम गरिरहेकाे उनकाे भनाइ छ ।

`परियाेजनाले तीन वर्षमा राम्राे काम गरेकाे छ । परियाेजनाले गरेका राम्रा कामलाई स्थानीय सरकारले निरन्तरता दिनेछ । परियाेजना सकिएपनि संस्थासँग मिलेर काम गर्नेछाै,´ अध्यक्ष धितालले भने । परियाेजनाका असल अभ्यासहरूलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने उनले प्रतिबद्धता व्यक्त गरे । पढाइ कुनालाई निरन्तरता दिनुका साथै विज्ञान प्रयाेगशालालाई थप व्यवस्थित गरेर शिक्षकहरूकाे क्षमता विकासमासमेत ध्यान दिइने उनकाे भनाइ थियाे ।
सशक्त बालिका परियाेजनाकाे सामाजिक लेखा परिक्षण कार्यक्रममा विषयगत शाखाका प्रमुखहरूले परियाेजनाका राम्रा अभ्यासलाई निरन्तरता दिदैँ स्थानीय सरकारले निर्वाह गर्नुपर्ने जिम्मेवारी स्थानीय सरकारले बहन गर्नुपर्नेमा जाेड दिएका थिए । साे अवसरमा पेस नेपालका कार्यकारी निर्देशक किशाेर न्याैपानेले परियाेजनाका उपलब्धिलाई संस्थागत गर्दै समस्या र सुधार गर्नुपर्ने पक्षमा स्थानीय सरकारले नीतिगत तवरबाट समाधान गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी,प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेगमा पेस नेपालद्वारा सञ्चालित सशक्त बालिका परियाेजनाकाे हिमा गाउँपालिकामा सामाजिक लेखा परिक्षण कार्यक्रम छ । गाउँकार्यपालिकाकाे कार्यालयमा सञ्चालित एक समाराेहका बीच परियाेजनाकाे सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा परियाेजना अधिकृत अशाेक चाैधरीले शसक्त बालिका परियाेजनाले हिमा गाउँपालिकामा सञ्चालन गरेका गतिविधिबारे प्रस्तुतिकरण गरेका थिए ।

उनले साे अवसरमा परियाेजनाले बालिकालाई शसक्त बनाउनुका साथै स्वराेजगार सिजर्जना गर्न सफल भएकाे परियाेजना अधिकृत चाैधरीले बताए । परियाेजना अवधिभर बाल विवाहका घटना व्यवस्थापन उद्यमशिला विकासमा समस्या देखिएकाे उनकाे भनाइ छ । बाल विवाह न्युनिकरणमा प्राथमिकता,विज्ञान प्रयाेगशाला सञ्चालन र शिक्षा ,स्वास्थ्य ,महिला तथा बालबालिका तथा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिन उनले सुझावसमेत दिए ।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका काेषाध्यक्ष सागर परियारले खुला सत्र सञ्चालन गरेका थिए । खुल्ला सत्रमा आफ्नाे भनाई राख्ने सम्पूर्ण वक्ताहरूले परियाेजनाले गाउँपालिकामा राम्राे काम गरेकाे बताएका थिए । सशक्त बालिका परियाेजनामार्फत बाल विवाह न्युनिकरण,शैक्षिक सुधार र सचेतना विकासमा उल्लेख्य उपलब्धि भएकाे उनीहरूकाे भनाई थियाे ।
पेस नेपालका कार्यकारी निर्देशक किशाेर न्याैपानेले हिमामा परियाेजनाले तुलनात्मक रूपमा राम्राे काम गरेकाे दाबी गरे । सामाजिक लेखा परिक्षणकाे क्रममा उठेका सकारात्मक सुझाव ग्रहण गरिने उनकाे भनाइ थियाे । `स्थानीय सरकारसँग मिलेर परिणाममुखी काम गरेका छाै । आगामी दिनमा गाउँपालिकामा अन्य परियाेजनासँग जाेडिन्छाै,´ उनले भने । यस्तै बाल विवाह न्युनिकरणका लागि सबै जवाफदेही हुनुपर्नेमा उनले जाेड दिए ।
खुल्ला सत्रमा उठेका जिज्ञासाकाे जवाफ दिदै हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर धुसाल परियाेजनाहरूले सञ्चालन गर्ने गतिविधि संख्यात्मक भन्दा परिणाममुखी हुनुपर्नेमा जाेड दिए । खुल्ला सत्रमन गाउँपालिकामा विद्यामान बाल विवाह सम्बन्धि प्रश्नहरू बढी उठेकाे भन्दै उनले बाल विवाह मुक्त पालिका घाेषणालाई पूर्ण रूपमा कार्यान्वयनकाे चरणमा लैजान आवश्यक रहेकाेमा जाेड दिए । गाउँपालिकाकाे आगामी नीति तथा कार्यक्रम र बजेटमा परियाेजनाले उठान गरेका महत्त्वपूर्ण विषय समावेश गरिने उनकाे भनाई थियाे ।
सशक्त बालिका परियाेजनाकाे सामाजिक लेखा परिक्षण कार्यक्रमकाे समापन सत्रमा बाेल्दै हिमा गाउँपालिकाकी कावा अध्यक्ष सुर्पना शाहीले स्थानीय सरकार र विभिन्न संघ संस्था मिलेर सामाजिक समस्या न्युनिकरणमा हातेमालो गर्न आवश्यक रहेकाेमा जाेड दिइन् । सशक्त बालिका परियाेजनाले हिमा गाउँपालिकामा कुल ६२ लाख ५६ हजार ३२२ रूपैयाँ बजेटमा परियाेजना सञ्चालन गरेकाे थियाे । हिमा र सिञ्जामा तीन वर्षदेखि सञ्चालित सशक्त बालिका परियाेजना यसै वर्ष सकिदैछ ।

शुभाकर विश्वकर्मा । २३ जेष्ठ २०८३, शनिबार ११:५२