जुम्ला, तातोपानी गाउँपालिकाभित्र रहेका २९ वटै विद्यालयका नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षहरूलाई लक्षित गरी अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयको गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन तथा समग्र शैक्षिक सुधारमा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विद्यालय व्यवस्थापन समितिले विद्यालयको विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले नयाँ जिम्मेवारी प्राप्त गरेका अध्यक्षहरूलाई शुभकामना व्यक्त गर्दै विद्यालय सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायत ले नयाँ ऊर्जा, उत्साह र प्रतिबद्धताका साथ आएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले तातोपानीको शिक्षाक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले स्थानीय तहको शैक्षिक लक्ष्य प्राप्तिका लागि विव्यसको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुरत बहादुर शाहीले तातोपानी गाउँपालिकाले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार, सिकाइ उपलब्धि वृद्धि तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विव्यसको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले विद्यालय र समुदायबीचको सम्बन्ध मजबुत बनाउन तथा शैक्षिक गतिविधिलाई परिणाममुखी बनाउन विव्यस नेतृत्वदायी रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहयात्रा तेस्रो परियोजनाअन्तर्गत Save the Children, World Food Programme तथा KIRDARC Nepal को सहयोग रहेको थियो। कार्यक्रममार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई आफ्नो जिम्मेवारी, अधिकार, कर्तव्य तथा विद्यालयको समग्र विकासमा खेल्नुपर्ने भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।
सहयात्रा तेस्रो परियोजनाका प्रमुख रामबहादुर रावलले विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य, अधिकार तथा कानुनी व्यवस्थाका विषयमा विस्तृत जानकारी गराएका थिए। उनले विद्यालयलाई समुदायको साझा सम्पत्तिका रूपमा विकास गर्न विव्यसको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए।
त्यसैगरी परियोजनाका शिक्षा अधिकृत खेमराज लामिछाने ले कार्यक्रमको सहजीकरण गर्दै विद्यालय व्यवस्थापन समितिको प्रभावकारी परिचालन, शैक्षिक योजना निर्माण, विद्यालय अनुगमन तथा शैक्षिक उपलब्धि सुधारका विषयमा सहभागीहरूलाई अभिमुखीकरण प्रदान गरेका थिए।
कार्यक्रममा सहभागी विव्यस अध्यक्षहरूले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षलाई सुधार गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए। उनीहरूले विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार, शिक्षक, अभिभावक तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
।
तातोपानी गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई आफ्नो जिम्मेवारीबारे स्पष्ट बनाउनुका साथै विद्यालय सुधारका लागि साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, उत्तरदायी व्यवस्थापन तथा समृद्ध शैक्षिक वातावरण निर्माणका लागि विव्यसको सक्रिय भूमिका अझ प्रभावकारी हुने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

जुम्ला दर्पण । २७ जेष्ठ २०८३, बुधबार १८:२२