जुम्ला, विश्व वातावरण दिवस २०२६ को अवसरमा हिमशिखर माध्यमिक विद्यालय, तातोपानी गाउँपालिका–५ जुम्लामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्।
शेभ द चिल्ड्रेन तथा किडार्क नेपाल र लक परियोजनाको आर्थिक सहयोग र हिमशिखर माध्यमिक विद्यालयको आयोजनामा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, सरसफाइ कार्यक्रम, वृक्षारोपण तथा जनचेतनामूलक र्याली सञ्चालन गरिएको हो।
कार्यक्रममा तातोपानी गाउँपालिकाका सात वटा माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। वातावरण संरक्षण, स्वच्छता तथा हरित वातावरणको महत्वबारे विद्यार्थी र स्थानीय समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
हाजिरी जवाफ प्रतियोगितामा दुर्गा माध्यमिक विद्यालय, तातोपानी–५ लाम्रा प्रथम, नेत्रज्योति माध्यमिक विद्यालय, हाकु द्वितीय तथा हिमशिखर माध्यमिक विद्यालय, तातोपानी तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले यस्ता कार्यक्रमहरूले वातावरण संरक्षणप्रति जिम्मेवारीबोध विकास गर्न तथा भावी पुस्तामा सकारात्मक सोचको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए ।
त्यसैगरी हिमशिखर माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर रोकायाले यस्ता प्रतियोगिताले बालबालिकाको क्षमता विकासमा सहयोग पुग्नुका साथै उनीहरूको अध्ययनमा पनि सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।
किडार्क नेपाल सहयात्रा परियोजना अन्तर्गत जलवायु परिवर्तन कार्यक्रम संयोजक दिपेश आचार्यले हिमाली जिल्लाहरूमा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिन थालेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी तथा युवाहरूमा ज्ञान अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरणमा समेत टेवा पुग्ने बताए ।
कार्यक्रमको समापनमा सहभागी विद्यालय, विद्यार्थी, शिक्षक तथा सहयोगी संस्थाप्रति आयोजकले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। वातावरण संरक्षणको संस्कार विकास गर्न नियमित जनचेतनामूलक गतिविधिहरू प्रभावकारी हुने विश्वास आयोजकहरूको रहेको छ।

जुम्ला दर्पण । २२ जेष्ठ २०८३, शुक्रबार २३:२८