
जुम्ला : तातोपानी गाउँपालिका जुम्लाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सरोकारवालासँग सुझाव माग गरेको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै योजना तथा कार्यक्रमहरू बजेटमा समावेश गर्नकाे लागि सुझाव माग गरेकाे हाे । गाउँपालिकाले जारी गरेकाे एक सूचनामा सुझाव २०८३ साल असार ७ गतेभित्र दिन उल्लेख गरिएकाे छ ।सुझावहरू गाउँपालिकाको कार्यालय लिताकोट, जुम्लामा वा कार्यालयको इमेल [email protected] मार्फत पठाउन सकिने जनाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतद्वारा हस्ताक्षरित सूचनामा नागरिकहरूबाट प्राप्त रचनात्मक सुझावहरूले समग्र पालिकाको विकास र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।
गाउँपालिकाका अनुसार स्थानीय नागरिक, राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, पत्रकार, संघसंस्था, गैरसरकारी संस्था, विद्यार्थी तथा सुरक्षाकर्मीलगायत सम्पूर्ण सरोकारवालाले आगामी योजना तथा कार्यक्रम सम्बन्धी रचनात्मक सुझाव दिन सक्नेछन् ।

जुम्ला दर्पण । १ असार २०८३, सोमबार १८:१७