पाखण्डी गुरु र अन्धभक्त शिष्य

पच्चिस वर्ष अघि एक उद्योगीको पहलमा भारतबाट एकजना बाबा अर्थात् गुरु आए। उनले पशुपतिको नजिक आफ्नो आश्रम खोले। आश्रमको लागि घर भाडामा लिने काम तीनै उद्योगीले नै गरे, आश्रमलाई धोजा-पतंगाहरुले सजाइएको थियो।

उद्योगीकै पहलमा पोस्टर-पम्प्लेट शहरका भित्ता-भित्तामा टाँसिए। ती गुरुको आकर्षक फोटोसहित चोकचोकमा ब्यानरहरु पनि टाँगिए।

“गुरुको सानिध्यमा रहेर आफ्नो भविष्य सफल बनाउनुहोस्” भनेर किटानीका साथ विभिन्न प्रलोभनमा पर्ने गरी शब्दहरु सजाइए। दीपक प्रसाद पनि ती पम्प्लेट र ब्यानरमा लेखिएका मीठामीठा कुराहरुमा विश्वास गर्दै श्रीमतीका साथमा पशुपति छेउँमा रहेको ती गुरुको आश्रममा पुगे।

गुरुले शिष्यहरुलाई आफूतर्फ आकर्षित गरेर धन आर्जन गर्न विभिन्न नाटकहरु रच्दै तमाम योजनाहरु बनाउँदैथिए।

ती पाखण्डी गुरु कुनैबखत भारतमा विभिन्न अपराध गरेर जेल सजाय भोगिसकेका ब्यक्ति रहेछन्। उनी जेलबाट मुक्त भएपछि भारतमै एउटा आश्रम खोलेर गुरुको भेषमा रहेर दुनियाँलाई बेबकुफ बनाइसकेका थिए।

फेरि ठगीको आरोपमा पक्राउ पर्छु कि भन्ने शंका थियो ती गुरुमा। नेपालका एक उद्योगीले काठमाडौँमा ल्याएपछि भने उनी निर्धक्कसँग नेपाली अन्धभक्त शिष्यहरुलाई ठग्न विभिन्न नाटकहरु रच्नथाले। उनमा मीठो बोल्ने क्षमता थियो, बोल्ने शैली आकर्षक थियो।

शुरुशुरुमा नेपाली भाषा नआउने हुँदा हिन्दीमै कुरा गरेर अन्धभक्तहरुको संख्या बढाउँदै गए र पछि नेपाली भाषा बुझ्न तथा बोल्नथालेपछि उनलाई ठग्न झनै सजिलो भयो र सिधासादा नेपालीहरुलाई जालमा पार्दै ठग्न थाले।

शुरुशुरुमा थोरै शुल्कमा सदस्य बनाउने र पछिपछि विभिन्न वहाना बनाउँदै शिष्यहरुलाई चर्को आर्थिक शोषण गर्नथाले। मीठा-मीठा कुराहरुबाट लोभिनथाले नेपाली अन्धभक्त शिष्यहरु। त्यहीँ जालमा फस्यो दीपक प्रसादको दम्पत्ति पनि।

भारतमा रहेका ती ढोँगी गुरुका एक सहयोगी जसमा संस्कृतमा राम्रो दख्खल थियो, उनले विभिन्न किसिमका कपोलकल्पित र मनगढन्ते मन्त्रहरु रच्ने र नेपालमा पठाउने काम गर्नथाले। साथै एकजना कालिगढले यन्त्रहरु बनाउने जिम्मा पाएका थिए।

ती गुरुको मनगढन्ते कुराहरु प्रकाशन हुने पत्रिका पनि थियो जसमा गुरुले शिष्यहरुलाई आकर्षित गर्न विभिन्न योजनासहितका सामग्रीहरु उल्लेख गरिएका हुन्थे।

गुरु र उनका एजेण्टहरुले नेपाली शिष्यहरुलाई जम्मा पारेर ती मन्त्रहरु र मनगढन्ते यन्त्रहरु महंगो मूल्यमा भिडाउनथाले। शिष्यहरुले नाइनास्ती गर्ने कुरै थिएन, उल्टै दाम चढाएर ती ठग गुरुलाई ढोग्न पनि पछि परेनन् विचरा नेपाली अन्धभक्तहरु।

ती गुरुले समय-समयमा हुने समारोहहरुमा आफ्नो प्रवचनमा भन्नेगर्थे- “तेत्तीसकोटी देवीदेवता मेरो चरणमा आएर मसँग सहयोग माग्छन्। त्यसैले म नै यस ब्रह्माण्डको शक्तिशाली भगवान हुँ।

दैनिक मेरो पूजा गरेपछि कुनै पनि देवीदेवताको पूजा गर्नुपर्दैन। बरु मेरो प्रचार गरेमा चेला अर्थात् शिष्यहरुको कल्याण हुनेछ।

“ अन्धभक्त शिष्यहरुले ती ढोँगी गुरुको प्रवचन सुनेर लठ्ठ पर्दैआए। तर शिष्यहरुको घरमा ती पाखण्डीले भने झैँ केही पनि फलिफाप भएको देखिएन। त्यसको साक्षी समाज नै रह्यो।

कथित् अर्थात् नक्कली आश्रमबाट उनका शिष्यहरुले बजारमा एकसयमा पाइने माला हजारमा पनि किन्नथाले। त्यस्तै भारतबाट पठाउने गरेका अनेक सामानहरु पनि शिष्यहरुले महंगो मूल्यमा किन्नथाले।

ती अन्धभक्तहरुले पशुपतिनाथको दर्शन गर्न छोडेको पनि धेरै भैसकेको थियो। गुरुले भनेवमोजिम ब्रह्माण्डको शक्तिशाली भगवान ती पाखण्डी नै भएपछि अन्धभक्तहरुलाई पशुपतिनाथको दर्शन किन पो गर्न आवश्यक थियो र?

उद्योगी, पाखण्डी गुरु, भारतमा रहेका मन्त्र रच्ने पण्डित र यन्त्रहरु बनाउने कालिगढ मिलेर नेपाली शिष्यहरुबाट लुटिएको पैसा बाँडेर खाँदैआएका थिए।

ती पाखण्डी गुरुले शिष्यहरुबाट धर्मका नाममा लुटेको करोडौँ रुपियाँ भारतका विभिन्न पाँचतारे होटेलहरुमा शेयर लगानी गरेका थिए।

यता पाखण्डी गुरुले दिनेगरेका मन्त्र र यन्त्रले कुनै पनि काम नगरेपछि शिष्यहरु आफू डुबेको थाहा पाउँदापाउँदै पनि निरन्तर लागि नै रहे ती पाखण्डी गुरुको पछाडि।

ढोँगी गुरुको भनाई अनुसार मन्त्र जप र यन्त्र प्रयोगबाट शिष्यहरुको घरमा न धनको वर्षा भयो, न चेलीहरु अप्सरा जस्ता सुन्दरी भए न त घरमा पारिवारिक शान्ति नै भयो।

ती ठग गुरुको शरण र चरणमा परेपछि जीवन सफल हुन्छ भन्ने लोभमा फसेर दीपक प्रसाद दम्पत्तिको सम्पत्ति पनि विस्तारै सकिनथाल्यो। नेपाली अन्धभक्तहरुबाट जम्मा पारेको धनले ती पाखण्डी गुरुको सम्पत्ति बढ्न थाल्यो र भारतका विभिन्न शहरहरुमा आश्रमको नाममा ती कथित गुरुले दरबारहरु बनाउनथाले।

दरबार अलि भित्रतिर रहन्थे भने देखाउनका लागि आश्रम अगाडितिर बनाइएको थियो। दिपक प्रसाद नराम्रोसँग फसेको देखेर छिमेकीहरु एकआपसमा मुखामुख गर्दै कुरा काटिरहे।

चलिआएको सनातन धर्मलाई चटक्कै छोडेर फटाहा र ढोँगी गुरुको पछि लागेर दिपक प्रसादको भविषय अनिश्चित बन्यो।

(अमर अधिकारी उनको जन्मस्थल रोल्पा भएतापनि काठमाडौं बस्दै आएका उनी लेखन क्षेत्रमा अब्बल ब्यक्ति हुन् । उनका थुपै कृतिहरु प्रकाशित भईसकेका छन् । उनका लेखहरु विभिन्न पत्रिकाहरुमा अनलाइन पोर्टलहरु प्रकाशित भइरहन्छन् )