विवेन्द्र नेपाली,जुम्ला
२०७७ माघ महिनातिरकाे कुरा हाे,त्यतिबेला सिंजा-६ मा वडाअध्यक्ष थिए,कालीबहादुर बुढा । वडामा हुने विकासका विषयमा बुढा र मेराे चर्काचर्की भयाे ।
विवादकाे चुराे थियाे,वडाअधयक्ष बुढाकाे रेडियाे कुराकानी । रेडियाे खुला आकाशमा `वडाका कुडा´ कार्यक्रम आउथ्याे । त्यस कुराकानीमा बुढाले `वडा नम्बर ६ मा शिक्षा,यातायात,स्वास्थ्य, खानेपानी क्षेत्रमा जनताले महशुस हुने गरि विकास गरेकाे छु´भनेका थिए ।
त्याे उनकाे सरासर झुठ कुरा थियाे,यथार्थ भने अर्कै । खासमा हाम्राे वडाकाे कुनैपनि गाउँमा एक घर एक धारा थिएन । सिंगाे गाउँमा एउटा मात्र धाराे थियाे । वडाअध्यक्ष बुढाले बाेलेका अन्य विषयमा पनि कुनै सत्यता थिएन ।

मैले कुराकानी सुनिरहेकाे थिए,अन्तिमसम्म सुने । खप्नै सकिन । रिसले चुर भए । भाेलीपल्ट रेडियाेमा गएर उक्त कुराकानी मागे ।
रेडियोका एक पत्रकारले वडाअध्यक्षलाई भेटेर,`अध्यक्ष ज्यु तपाईंको वडाकाे एक युवाले कुराकानीकाे विषयमा विराेध जनाएका थिए´भनिदिएछन् । उक्त कुरा सुनेपछि वडाअध्यक्ष त फायर नै भएका रहेछन् ।
अर्काे प्रसंग भने २०७८ असारतिरकाे हाे । हाम्राे वडामा एउटा प्रदेश सरकारकाे याेजना थियाे । कुल लागत थियाे,४३ लाख । उक्त याेजना असार मसान्तसम्म सकिनु पर्ने थियाे ।
याेजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न भेला बाेलाइएकाे रहेछ,संयाेगले मपनि त्यहाँ सहभागी भए ।
वडा नम्बर ६ सबै टाेल र समुदायका युवाले मलाई समितिकाे अध्यक्षमा समर्थन जनाए ।
तर,वडाअध्यक्षले भने म अध्यक्ष हुने कुरामा असहमति जनाएँ । पद र शक्तिकाे चरम दुरुपयोग गरेर मलाई अध्यक्ष हुनबाट वञ्चित गराए । स्मरणयाेग्य के थियाे भने, उक्त याेजना वडामा पार्न मैलेपनि आफ्नाे तर्फबाट पहल गरेकाे थिए ।
वडाअध्यक्ष आफ्नाे नजिककाे मान्छेहरू राखेर समिति बनाए । कामपनि चलिरहेकाे थियाे, वडाअध्यक्षले एकदिन मलाई फाेन गरे ।
फाेन मै तथानाम गाली गर्न थाले । उनले भने,` याइ त एउटा दलित ,गरिबले मेरो विरोध गर्दै हिड्ने । त कुकुर,डुम,साला तेरो बाउले ल्याएको योजना हो ।
उनी फोनबाट गाली गरिरहेका थिए । मैले फाेन रेकर्ड गरेर राखेकाे थिए ।
…….
उनी वडाका अभिभावक,एक निर्वाचित जनप्रतिनिधि । उनकाे अभिव्यक्ति कानुन सम्वत थिए । उनले मलाई अन्याय गरेका थिए ।
मैले वडाअध्यक्षका विरूद्व अभद्र व्यवहार मुद्दामा गाउँपालिकाकाे न्यायिक समितिमा न्याय माग्न जान निर्णय गरे । उक्त कुरा बुढाल सुइकाे पाएछन् ।
भाेलीपल्ट गाउँमा शिक्षक ,बुद्धिजीवी,भलादमी जम्मा पारे । उनले मलाई न्यायिक समितिमा जान राेक्ने प्रयास गरे । वडाका सबै सदस्य लगायत ३५-४० जना भेला पारेर वडामै छलफल गर्न सबैलाई आग्रह गरी मलाईपनि बोलाइ दिन भनी मान्छे लगाए ।
सबैले बाेलाएपछि म गए । म त्यहाँ जादाँ ठुलाे बहस चलिरहेकाे थियाे । म त्यहाँ पुग्न पाएकाे थिइनँ ।छलफल चलिरहेकै समयमा वडाअध्यक्षका छोरा नवीन बुढा ममाथि आइलागे ।
एक्कासी बाहिरबाट आएर मलाई छातीमा हाने । साला डुम भन्दै हातपात गरे । वडा अध्यक्षले छोरालाई नगर भन्नुको साटो छोरालाई समर्थन जनाउदै दुबै बाबु छोरा लागि कुटपिट गर्न थाले ।
डुमलाई यहीँ मार्नुपर्छ भन्दै धकेलमकेल गरे। त्यहाँ कथित दलित भन्ने मान्छे म मात्रै उपस्थित थिए । अरू सबै गैरदलित समुदायका । तिनीहरू सबै रमिते बने ।
तर,त्यति गर्दा त्यहाँ भएका मध्ये एक जना ब्यक्तिले मात्रै मलाई सहयोग गर्नुभयाे । मलाई बचाउनुपनि भयो र त्यो छलफल त्यत्तिमै बिना निष्कर्षमा टुङ्गो लाग्यो ।
भोलिपल्ट पालिकाको न्यायिक समितिमा जाँदा गाउँपालिकाका अध्यक्ष (त्यतिबेला अध्यक्ष देवलसिंह रावल ) ले खास्सै वास्ता गरेनन् । उल्टाे धम्कीपूर्ण भाषा प्रयाेग गरे ।
वडामै छलफल गर्नु भनि मलाई पालिकाबाट झनै पीडित बनाएर पठाए । गाउँकाे सिंहदरबारमा मैले न्याय पाइन । म निराशा भए ।
आफ्नो भन्नु कोही छैन । माथिल्लो निकायमा न पावर छ न पैसा । म एउटा कथित दलित अनि गरिब परिवारको छोरा । भन्दै चित्त बुझाए ।
त्यसपछि त झन मेराे मनमा रिसकाे आगाे बल्न थाल्याे । आफूलाई सम्हाल्न खाेजे । जति गरेपनि मन मान्दैन । अन्तत: मुद्दालाई जसरीपनि अगाडि बढाउने अठाेट गरे ।
तीन दिनपछि आफ्नै वडाका अध्यक्षविरूद्व जातीय विभेदकाे मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा गए ।
त्यहाँ पुग्दा ड्युटीमा रहेका प्रहरीले यस्ताे निवेदन ल्याएर हुन्छ भन्दै बाहिर निकाली दिए ।
एक त जातीय विभेदमा परेर अन्यायमा परेकाे म प्रही कायर्यालयबाटै निकालिदा झन आत्मसम्मानमा चाेट लागेकाे महशुस भयाे ।
पछि जिल्लाका दलित समुदायका दाजुभाइहरूकाे साहारा लिने निष्कर्षमा पुगे । उहाँहरूकाे सहयाेगमा जाहेरी तयार भयाे । उक्त जाहेरीपनि प्रहरीले दर्ता गर्न मानेन ।
सम्पूर्ण प्रमाण बाेकेर आउदाँपनि प्रहरीले जाहेरी दर्ता नगरेर झन विभेद गरिरहयाे । म न्यायकाे लडाइँ लड्ने तयारी गरिरहेकाे थिए ।
मलाई त्यतिबेला पीडकबाट प्रलोभन देखाउने, भाकधम्की दिने काम भइरहेकाे थियाे । म एक्लै संघर्ष गरिरहेकाे थिए ।
जतिजति मलाई सबैबाट असहयाेग भइरहयाे । म झनझन लडाइँ लडिछाेड्ने निष्कर्षमा पुगे । किनभने याे मेराे व्यक्तिगत मुद्दा मात्र थिएन । सिंगाे समुदायको साझा मुद्दा थियाे ।
फेरिपनि जिप्रका धाउन छाेडिन । त्यतिबेला डीएसपी दान बहादुर थापा थिए । उनीपनि मलाई धम्कीपूर्ण भाषामा मात्रै बाेल्थे ।
अन्तत: जिल्लाका केही पत्रकार साथीहरू र दलित अधिकारकमर्मी दाजुभाइकाे चर्काे दबाबमा चाैथाे दिनमा जिप्रकामा २०७८/४/२७ गते मुद्दा दर्ता भयाे ।
मुद्दा दर्ता हुनु मेराे न्यायकाे लडाइँकाे पहिलो सफलता थियाे । त्यसपछि मलाई केही आँट थपियाे ।
अनि सुरू भयाे अदालती संघर्ष ।
अनि अदालको संघर्ष मा मेरा साक्षीहरूले मेरै विरुद्धमा गवाही दिए । मेरो साक्षीमा दुई जना मात्र थिए । जसमा एक जना कथित दलित र एकजना गैरदलित समुदायका ।
अनि थियाे, एक थान रेकर्ड । पछि पनि न्यायकाे लागि म अदालत धाइरहे । मेरो न्यायको प्रतिक्षा गरिरहे ।
मुद्दा प्रक्रिया अदालतमा तीवर गतिमा चलिरहयो । अनन्त जिल्ला अदालतबाट आंशिक न्याय भयो ।जसमा जातीय बिभेद गर्ने वडाअध्यक्षलाई अदालतले सफाइ दियाे ।
छोरा नवीन बुढालाई भने चार महिना कैद बीस हजार जरिवाना र पच्चीस हजार पीडितलाई क्षतिपूर्ति हुने गरी फैसला गरेको थियो । मैले पूर्ण न्यायकाे प्रत्याभूति गर्न पाइन ।
किन भने वडाअध्यक्ष जाे सार्वजनिक पद धारण गरेका व्यक्ति थिए । जातीय विभेद गर्नेपनि उनै । उसैलाई अदालतले सफाइ दियाे ।
जिल्ला अदालतकाे फैसलाबाट पूर्ण न्यायकाे प्रत्याभूति नभएपछि उच्च अदालत सुर्खेत,जुम्ला इजालासमा मुद्दा दर्ता गरे । उच्चले समेत वडाअध्यक्षलाई सफाइ दियाे ।
उच्चलेपनि वडा अध्यक्षका छोरा नवीन बुढालाई दुई महिना कैद बिस हजार जरिवाना र पच्चीस हजार क्षतिपुर्ति हुने गरि फैसला गरेको छ ।
वडाअध्यक्षविरूद्व सबुत प्रमाण हुँदासमेत न्यायलयले न्याय दिएन । सजाय ताेकिएका नवीनसमेत अझै पक्राउ परेका छैनन् । पीडक खुलेयाम हिडिरहेकाे छ।
याे भनेकाे पीडितलाई झन पीडा दिनु हाे । उनलाई अभिलम्भ पक्राउ गरि कारबाही गनर्न माग गर्दछु ।

जुम्ला दर्पण । ३२ श्रावण २०८१, शुक्रबार १३:३६