गुठीचौर गाउँपालिकाका : उपाध्यक्षले अध्यक्षलाई चप्पल हिर्काएपछि…?

जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले आफूलाई हातपात गरेको भन्दै उनीविरुद्ध प्रहरीकहाँ उजुरी दिएका छन् ।

उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्याकक्षमै आएर आफूलाई थप्पड हान्नुका साथै चप्पलले हिर्काएको अध्यक्ष बुढाको आरोप छ ।उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढाले आफ्नो अधिकार खोसेको र बजेटमा मनपरी गरेको भन्दै आइतबार अध्यक्ष बुढामाथि हातपात गरेको प्रत्यक्षदर्शी समेत रहेका कर्मचारीहरूले बताएका छन् ।

उहाँले अध्यक्षको कार्यकक्षमा पुगेर हातले गालामा दुई थप्पड हिर्काएपछि चप्पलले पनि हिर्काउनुभयो,ु पालिकाका प्रवक्ता अर्जुन महताराले बताए । उपाध्यक्ष भण्डारीले बजेटमा अध्यक्षले मनपरी गरेको भन्दै हातपात गरेको महताराको भनाइ छ ।

महताराका अनुसार अध्यक्ष बुढाको कार्यकक्षमा केही वडाध्यक्षहरू बसेर बजेटका विषयमा छलफल भइरहेको थियो । एक्कासी उपाध्यक्ष कार्यकक्षमा आएर हातपात गरेको महताराले बताए । अध्यक्ष बुढामाथि हातपात भएपछि पालिकामा केही बेर तनाव भएको थियो ।

अध्यक्ष बुढाले आइतबार साँझ जिल्ला प्रशासन र प्रहरी कार्यालयमा गएर उपाध्यक्ष भण्डारीविरुद्ध उजुरी दिएका छन् । उपाध्यक्ष भण्डारीले बजेटमा मनपरी गरेको र आफ्नो अधिकार खोसेको भन्दै पहिलेदेखि नै अध्यक्षको आलोचना गर्दै आएकी थिइन् ।@kantipur