सिंजा बहुमुखी क्याम्पस: अखिल क्रान्तिकारीका आचार्य निर्विरोध

जुम्ला । जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा  अखिल (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

चारवटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मंगलबार आचार्य सभापतिमा निर्वाचित भएको सिंजा क्याम्पसका स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत तिर्थ बहादुर नेपालले जानकारी दिए । उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसंघका राजिन्दा शाही निर्वाचित भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्य नेविसंघका राजन बम र अखिल समाजवादीबाट मोहन भण्डारी र सोविन्द बम सदस्यमा निर्विरोध निर्वाचित भएको स्ववियु निर्वाचन समितिका अधिकृत नेपालले बताए । सो क्याम्पसमा अहिले १८० जना विद्यार्थी रहेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विसं २ं०६७ मा सिंजा बहुमुखी क्याम्पसको स्थापना भएको हो ।