- डिल्ली कामी,रमिला सुनार,रमा खड्का(युवा अभियानता)
जुम्ला –तातोपानी गाउँपालिका–१ बाईराकामा खानेपानी अभाव कुनै नयाँ समस्या होइन, तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यो समस्या भयावह रूपमा बढ्दै गएको स्थानीयको गुनासो छ। पहिला पानी बग्थ्यो, मुलहरू निरन्तर सक्रिय थिए, तर अहिले ती सबै बालुवा, ढुङ्गा र सुक्खा पाखोमा रूपान्तरण भएका छन्।
१५० भन्दा बढी घरधुरी रहेको बाईराका अहिले पानीकै कारण दयनीय अवस्थाको चित्र बनेको छ। घर–घरमा खानेपानी टाउको दुखाइको विषय मात्र होइन, दैनिक विवादको कारण बनेको छ।
पुरानो मुल सुक्दै, समुदाय नदिको फोहोर पानी पिउन बाध्य
५१ वर्षीय तिलबहादुर शाही वर्षौंदेखि यही पीडा भोग्दै आएका स्थानीय हुन्। उनी बताउँछन्,
“पुरानो मुल छ, तर पुग्दैन। गाउँ ठूलो छ, जनसंख्या बढ्दो छ। पानीको अभावले गर्दा दिनहुँझैँ झगडा, मनमुटाव हुन्छ। पानीका लागि घण्टौँ लाइन बस्नुपर्छ।”
उनी भन्छन्—१५०भन्दा बढी घरधुरी भएको बाईराकाको गाउँमा रहेका ४–५ धारा पनि २० मिनेट जति मात्र बग्ने गर्छन्। त्यो समय पनि कहिले आउँछ, कहिले आउँदैन भन्ने निश्चित हुँदैन।
४८ वर्षीय सूर्यबहादुर शाही त्यस अवस्थालाई अझ स्पष्ट पार्दै भन्छन्,
“नयाँ मुल खोजियो, तर भेटिएन। लिफ्ट सिँचाइ भनेर आएको योजनाले वैकल्पिक खानेपानीका रूपमा नदीको पानी ल्याइदियो। तर त्यो पानी पनि घाम लाग्दा मात्र चल्छ।”
नत्र भने उनीहरूको दैनिकी फोहोर नदिको पानी खानमै सीमित छ।
जुगाड खोलाबाट मिसिने फोहोर : स्वास्थ्यमा जोखिम उच्च
बाईराकाले पिउने नदीको पानी जुम्ला बजारबाट बगेर आउने जुगाड खोलासँग मिसिन्छ। बजारको फोहोर, घरपालुवा जनावरको फोहर, सडकछेउका पाटी–पैवा सबै त्यही खोलामार्फत नदीमा मिसिन्छ।
त्यसै नदीको पानी गाउँलेहरू पिउछन्।
यो परिस्थितिले स्थानीयमा झाडापखाला, रुघाखोकी, छालासम्बन्धी समस्या, रोगको संक्रमण जस्ता स्वास्थ्य समस्या बढेको वडा सदस्य र स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन्।
एक स्थानीय युवाले भने,
“साँझ बिहान पेट दुख्ने, झाडा लाग्ने, बच्चाहरू बढी बिरामी पर्ने—यो त हाम्रो दैनिकी भइसक्यो।”
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव : सुकेका मुलहरू, उजाड पहाड
जलवायु परिवर्तनको असर कागजमै सीमित नभई अब गाउँ–घरमा देखिने चर्को यथार्थ बनेको छ।
वर्षामा अनियमितता
हिउँ वर्षा घट्नु
जाडोको समयमा माटो च्यातिने गरी सुक्खा
पहाडको हरियाली हराउँदै जाँदा पानीको चाप घट्दै छ
यी सबैले बाईराकाका पुराना मुलहरू सुकेर गएको समुदाय बताउँछ।
वडा सदस्य तथा स्थानीय अगुवा ४५ वर्षीय नर्जित शाही भन्छन्,
“पहिला यहाँ हरियाली जंगल थियो, पानीको कमी थिएन रे। अहिले त्यो कुरा कथा जस्तै मात्र भयो। हामी जलवायु परिवर्तनका शिकार अहिले होइन, उहिल्यैदेखि रहेछौं।”
उनका अनुसार गाउँभरि ४–५ धारा छन्, तर २० मिनेट मात्र पानी आउँछ।
“सरसफाइको कुरै छैन। बिहान–बेलुका खानुपर्ने पानी पुग्दैन। त्यसैले नदीको पानी नै हाम्रो दैनिकी भइसक्यो।”
वृक्षरोपण भयो, पानी नहुँदा बिरुवा सुके
बाईराकामा पहाड, पाखा–बगरहरूमा वृक्षरोपण गरिएको थियो। तर सिँचाइका लागि पानी नहुँदा ती बिरुवा जोगाउन नसकिएको स्थानीयले बताउँछन्।
वन नहुँदा पानी छैन, पानी नहुँदा वन हुन्न—यो चक्रले गाउँलाई अझै जोखिममा धकेलिरहेको छ।
एक स्थानीयले गुनासो गरे,
“एक घर एक धारा भन्ने सपना सपना नै बन्यो। योजना कति आए, कति गए—कसैको ध्यान भने सहि अर्थमा पानीमा पुगेन।”
“जलवायु परिवर्तनबारे काम बढ्दैछ, तर समुदाय अझै जोखिममा”
तातोपानी गाउँपालिकामा जलवायु परिवर्तनका विषयमा सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, सहयात्रा तेस्रो परियोजना लगायतका संस्थाहरूले जागरण, अभियान, स्थानीय युवालाई तालिम र जनचेतना कार्यक्रम गर्दै आएका छन्।
यसले समस्या पहिचान, जोखिम प्रतिकार र समुदाय सशक्तीकरणमा सहयोग पुर्याएको छ।
तर बाईराका जस्तो गम्भीर संकटमा परेका गाउँका लागि अझै ठूलो संरचनागत समाधान आवश्यक रहेको युवा अभियानताहरू बताउँछन्।
पालिकाको प्रतिक्रिया : “यो पालिकाको सबैभन्दा ठूलो समस्या, हो अब गम्भीर हुँदैछौं”
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार,
“आफ्नो पालिकाको एक मात्र वडामा खानेपानी छैन। यो निकै गम्भीर विषय हो। अहिले पालिका पनि यसबाट चिन्तित छ। पानीको स्रोत खोज्ने काम समुदायले अगाडि बढाए, त्यसपछि ठूला परियोजनासँग समन्वय गरी काम अघि बढाउने हाम्रो प्रतिबद्धता छ।”
उनका अनुसार बजेट र प्रविधिका कारण तत्काल समाधान चुनौतीपूर्ण छ, तर पालिकाले यो समस्यालाई पहिलो प्राथमिकतामा राखेको छ।
युवाहरूको सक्रियता : ‘अब आवाज उठाउने समय’
यस क्षेत्रमा काम गर्दै आएका युवा अभियानताहरू निरन्तर विरोध, माग, आवाज र समाधानका लागि काम गरिरहेका छन्।
तिनै अभियानताहरूका अनुसार अब बाईराका जस्ता दूरदराजका गाउँहरूलाई जलवायु परिवर्तन पीडित भनेर सम्बोधन गर्नुपर्ने छ, र तिनीहरूको जीवनरक्षा प्राथमिकता बन्नुपर्ने छ।
एक युवाले भने,
“पानीको हक हाम्रो मौलिक हक हो। खानेपानी नहुने गाउँ पालिकाको दोस होइन, दुखको कथा हो। युवाहरूले अब कानुनी र विकास दुवै दिशाबाट दबाब दिनुपर्छ।”
किन हरेक वर्ष समस्यामा बाईराका
विशेषज्ञहरूका अनुसार—
हिउँ पानीको मात्रा घट्नु
अनियमित वर्षा
तापक्रम वृद्धि
जंगल विनाश
पहाड र माटोको क्षय
यी सबैले “पानीको स्रोत” कम हुँदै गए।
जुम्लाजस्ता हिमाली क्षेत्रका गाउँहरूमा जलवायु परिवर्तनको असर १० वर्षअघि भन्दा ३–५ गुणा बढी देखिएको विभिन्न रिपोर्टले जनाउँछ।
समुदायको दैनिकी : पानी खोज्न दिनै जाने
बाईराकामा बिहान सबेरै पानी ल्याउने दौड सुरु हुन्छ।
एक जना महिलाले भनिन्,
“कति पटक नदीबाट बोकेर ल्याइन्छ? बालबालिका स्कुल जान ढिलो हुन्छ। घरमा खाना पकाउनसमेत समस्या। पानीका कारण झगडा त सामान्य भइसक्यो।”
यो कथाले देखाउँछ—पानी अभाव अब सामाजिक र शैक्षिक दुवै क्षेत्रमा असर पुगेको छ।
निष्कर्ष : बाईराका—जलवायु परिवर्तनको चेतावनी स्वरूप उभिएको गाउँ
बाईराका केवल पानी अभावले पीडित एउटा वडामात्र होइन, जलवायु परिवर्तनले निम्त्याएको प्रत्यक्ष सामाजिक–स्वास्थ्य–जैविक संकटको ज्वलन्त उदाहरण हो।
स्रोत सुकेर गएको, नदी फोहोर बग्ने, धारा केही मिनेट मात्र चल्ने, बिरुवा जोगाउन पानी नपुग्ने—यी सबैले अब तत्काल समाधान खोज्नैपर्ने अवस्था बनाएको छ।
स्थानीय, युवा, संस्थाहरू र पालिका मिलेर संरचनागत समाधानतर्फ अघि बढे मात्र बाईराकाले पनि कहिल्यै नदेखेको ‘एक घर, एक धारा’ को सपना सम्भव बन्नेछ।

जुम्ला दर्पण । ६ मंसिर २०८२, शुक्रबार १२:२४