डोकोमा फोहोर हरियाली आँगन-jumladarpan.com

  ‎जयन्ता सुधा (जाजरकोट)

जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिकामा झन्डै ८५ भन्दा धेरै बालक्लव हरू गठन भएका छन्। ती बालक्लव हरूले विभिन्न समयमा विभिन्न कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आइरहेका छन्।

‎पछिल्लो समय छेडागाड नगरपालिका वडा नम्बर १२ का बालक्लव हरू वातावरण संरक्षणमा जुटिरहेका छन्। त्यसमध्ये केही बालक्लव हरूले अभियान सञ्चालन गरी सफलता पनि हासिल गरेका छन्।

‎छेडागाड नगरपालिका वडा नम्बर १२ को नारायणी बालक्लब विद्यालय स्तरको बालक्लब हो।

‎ उक्त बालक्लव ले स्थापनाकालदेखि नै विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

‎बालक्लव को अध्यक्ष मोती खत्रीका अनुसार बालक्लव ले विशेषगरी हरित विद्यालय निर्माण र प्लास्टिक मुक्त विद्यालय निर्माण जस्ता अभियान सञ्चालन गर्दै आइरहेको छ|

‎बाल क्लबको अध्यक्ष मोती खत्री भन्नुहुन्छ “हाम्रो विद्यालयमा हरेक वर्ष असार साउनमा स्थानीय बिरुवाहरु रोप्ने गर्छौं। यसले विद्यालय पनि हरियाली हुन्छ अनि स्वच्छ हावा पनि पाइन्छ।”

‎नारायणी बाल क्लब कै सचिव बिमला सिंह भन्नुहुन्छ “हामी भर्खर यो विद्यालयमा आउँदा अघिल्लो वर्ष दाजु दिदीले रोपेको एउटा सानो आरुको बिरुवा थियो त्यो बिरुवा अहिले फल्न थालेको छ। आरु पाक्यो भने हामी विद्यालयका सबै विद्यार्थीहरुले खाने गर्छौं अनि हामीलाई लाग्यो कि दाइ दिदीले रोपेको आरोपको बिरुवा हामीले खान पाइरहेका छौं। हामीले पनि बिरुवा रोप्यौँ भने पछि हाम्रा भाइबहिनीले पनि हामीले रोपेका बिरुवा बाट फल प्राप्त गर्नेछन् स्वच्छ हावा प्राप्त गर्नेछन् अनि छहारी पनि प्राप्त गर्नेछन् त्यसैले हामी हरेक वर्ष बोटबिरुवा रोप्ने गर्छौं।”

‎यसरी हरेक वर्ष नारायणी बालक्लव ले आफ्नो विद्यालयको क्षेत्रभित्र बोटबिरुवा रोप्ने गर्दछ। उक्त वृक्षरोपण कार्यक्रममा विद्यालयका शिक्षकहरु पनि सहभागी हुने गर्नुहुन्छ। विद्यालयको वातावरणलाई हरियाली बनाउन र स्वच्छ हावा प्राप्त गर्नको लागि विद्यालयमा बोटबिरुवा रोप्नु अति आवश्यक छ भन्ने कुरा बालबालिकाहरु बताउने गर्छन्।

‎नारायणी बाल क्लबका यस्तै उत्कृष्ट अभ्यासका कारण उक्त बालक्लव छेडागाड नगरपालिका कै नमुना बाल क्लबको रुपमा घोषित भएको छ।

‎नमुना बाल क्लब घोषित हुनुको विषयलाई लिएर बालक्लवको अध्यक्ष खत्री भन्नुहुन्छ “हामीले गरेको प्रयासले मात्रै यो बालक्लब नमुना बाल क्लब हुन सफल भएको होइन। हामीभन्दा अगाडि स्थापना कालदेखि नै जो जो बाल क्लबका सदस्यहरु हुनुहुन्थ्यो उहाँहरुले गरेको कामले गर्दा पनि यो बालक्लब नमुना बालक्लब हुन सफल भएको हो। त्यसकारण योभन्दा अगाडि बाल क्लबको प्रतिनिधि जो जो हुनुहुन्थ्यो उहाँहरुलाई नै हार्दिक आभार भन्न चाहन्छौं।”

‎त्यस्तै वडा नम्बर १२ कै चन्द्रज्योति बालक्लव ले प्लास्टिक रहित विद्यालय अभियान सफल गरेको छ। नगरपालिकाको छेउमा रहेको विद्यालयमा प्लास्टिकहरु यत्रतत्र पाइन्थ्यो। हरेक हप्ता विद्यार्थीहरूले कम्तिमा ३ देखि चार दिन विद्यालय सरसफाई गर्नुपर्थ्यो। प्लास्टिकको मात्रा धेरै हुने भएको हुनाले विद्यालय वरिपरिको वातावरण फोहोर भइरहन्थ्यो। तर अहिले उक्त विद्यालय उक्त वडा कै पहिलो प्लास्टिक मुक्त विद्यालय घोषणा भएको छ|

‎विद्यालयका प्रधानाध्यापक शर्मा बहादुर खत्रीका अनुसार उक्त विद्यालय प्लास्टिक मुक्त विद्यालय हुनुमा चन्द्रज्योति बालक्लवको भूमिका शीर्ष स्थानमा रहेको छ।

‎बजार क्षेत्र नजिकै भएको उक्त विद्यालयमा जङ्कफुटको प्रयोग गर्ने विद्यार्थीहरू पनि धेरै थिए। बाल क्लबले प्रत्येक पटक फोहोर व्यवस्थापन गर्दा प्लास्टिकको मात्रा धेरै हुने गर्थ्यो । त्यो प्लास्टिकको मात्रा कम गर्नको लागि बाल क्लबका बैठकहरूमा छलफल हुन थाल्यो। उक्त छलफलमा विद्यालयलाई प्लास्टिक मुक्त विद्यालय बनाउने उपाय खोज्न थाले बाल क्लबका पदाधिकारी हरु| प्लास्टिक धेरै हुने समस्यालाई बाल क्लबका पदाधिकारीहरूले विद्यालय प्रशासन समक्ष राखे। विद्यालय प्रशासनले सहयोग गरेपछि बाल क्लबका पदाधिकारीहरूले विद्यालय भित्र कुनै पनि किसिमका जङ्कफुटडहरु र प्लास्टिकहरु प्रयोग गर्न नपाउने नियम बनाए।

‎त्यो नियमलाई पालना गरेर चन्द्र ज्योति माध्यमिक विद्यालय छेडागाड नगरपालिका वडा नम्बर १२ को पहिलो प्लास्टिक मुक्त विद्यालय निर्माण हुन सफल भयो।

‎यस विषयमा आफ्नो भनाइ राख्नुहुन्छ चन्द्र ज्योति बालक्लव को अध्यक्ष प्रतिज्ञा थापा “हाम्रो स्कुल पालिकाको नजिकै छ बजारको छेउमा भएकोले धेरै जङकफुड खाने जथाभावी प्लास्टिक फाल्ने हुन्थ्यो। हामीले हप्तामा तीन चार दिन विद्यालय सरसफाई गर्नुपर्थ्यो। पटकपटक विद्यालय सरसफाई गरिरहनुपर्ने भएकाले हामीले विद्यालय भित्र प्लास्टिक प्रयोग नगर्ने भनेर निर्णय गर्यौ त्यही निर्णय हामीले विद्यालय प्रशासनलाई सुनायौं। विद्यालयका शिक्षकहरुले पनि हाम्रो कुरामा साथ दिनुभयो त्यसपछि विद्यालय भित्र प्लास्टिक प्रयोग गर्न नपाउने नियम बन्यो अहिले हाम्रो विद्यालय प्लास्टिक मुक्त विद्यालय घोषणा भएको छ|”

‎चन्द्र ज्योति माध्यमिक विद्यालय पलाष्टिक मुक्त विद्यालय मात्र नभएर त्यस वडा कै हरित विद्यालय पनि हो। उक्त विद्यालयमा ३ वर्ष यता स्थानीय संस्थाको सहयोगमा वृक्षारोपण हुँदै आएको छ| स्थानीय संस्था पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट ले बोट बिरुवाहरू वितरण गर्दै आएको छ। तिनै बोट बिरुवाहरू हुर्केर विद्यालयको वातावरणलाई हरियाली बनाएका छन्। सहयोग गर्ने स्थानीय संस्थाप्रति चन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु आभारी छन्।

चन्द्रज्योति माध्यमिक विद्यालय मात्र होइन जनज्योति आधारभूत विद्यालय, बालसुधार प्राथमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, हिमालय प्राथमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा पनि स्थानीय संस्थाले बोटबिरुवा वितरण गरेको थियो जाजरकोटका सहयात्रा तेस्रो परियोजनाका फिल्ड अधिकृत चन्द्रबहादुर थापाका अनुसार छेडागाड नगरपालिका वडा नम्बर १२ का ६ वटा विद्यालयलाई विभिन्न बोटबिरुवा वितरण गरिएको थियो। उक्त बोटबिरुवा रोपे पश्चात् विद्यालय हरियाली बन्न थालेका छन्।

‎अधिकृत चन्द्रबहादुर थापा भन्नुहुन्छ “वृक्षारोपण हरियाली विद्यालय निर्माणका लागि मात्र नभएर जलवायु परिवर्तन जस्तो विश्वव्यापी समस्याका प्रभाव न्यूनीकरण गर्नका लागि पनि उपयुक्त प्रयास हो। त्यसैले बाल क्लब हरुलाई हाम्रो संस्थाका विभिन्न परियोजना मार्फत बोटबिरुवा वितरण गरिएको थियो जसको परिणाम अहिले विद्यालयहरु हरियाली र रमणीय भएका छन् । यो प्रयास सबैले गर्न सकियो भने वातावरण संरक्षण र जलवायु प्रभाव न्यूनीकरणमा टेवा पुग्छ।“

छेडागाड नगरपालिका वडा नम्बर १२ कै जनकल्याण माध्यमिक विद्यालयमा विद्यालय स्तरीय बालक्लब छ। उक्त बालक्लव ले विगत ५ महिनादेखि डोको अभियान सञ्चालन गर्दै आइरहेको छ। पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेन को साझेदारीमा सञ्चालित माइ फरेस्ट चाइल्ड परियोजनाले विद्यालयहरूमा जलवायु परिवर्तन र त्यसका असर सम्बन्धमा शत्रहरू सञ्चालन गर्दै आइरहेको छ। उक्त सत्रमा सहभागी जनकल्याण माध्यमिक विद्यालय स्तरका बाल क्लबको पदाधिकारीहरूले फोहोर व्यवस्थापनमा डोको अभियान सञ्चालन गर्दै आएका छन्| फोहर व्यवस्थापनको लागि प्लास्टिक बाट निर्मित डस्टबिन होइन बाँसबाट निर्माण गरिएको डोको प्रयोग गरिन्छ। जसले गर्दा फोहोर व्यवस्थापनमा कम खर्च लाग्ने भएको छ।

‎डोको अभियानका बारेमा उक्त विद्यालयका प्रधानाध्यापक कर्णबहादुर अधिकारी बताउनुहुन्छ

 “डोको अभियानले डस्टबिन किन्ने खर्च बचाएको छ। किनभने गाउँघरमा डोको प्रशस्त पाइन्छ प्लास्टिकको डस्टबिन भन्दा डोको सस्तो पर्छ। लामो समयसम्म टिक्ने भएको हुनाले डोको एकपटक किनियो भने कम्तिमा दुई वर्षसम्म टिक्ने गर्छ यसले गर्दा खर्च पनि कम हुन्छ र प्लास्टिकको प्रयोग पनि कम हुने गर्दछ| डोको अभियानको अर्को फाइदा डोको हाम्रो स्थानीय उत्पादन हो। स्थानीय उत्पादन प्रवर्द्धन गर्नको लागि डोको अभियानले सहयोग पुर्याएको छ। यो उपाय उपयुक्त तरिकाले प्रयोग गर्न सकियो भने स्थानीय सामानको प्रयोग र प्लास्टिक नियन्त्रणमा सहयोग पुग्छ।डोको अभियान सञ्चालन गर्ने बाल क्लबका भाइबहिनी र सचेतनामूलक सत्र सञ्चालन गरेर बालबालिकालाई उत्प्रेरित गर्ने स्थानीय संस्थाका परियोजना हरूप्रति म लगायत हाम्रो विद्यालय व्यवस्थापन समिति नै हार्दिक आभार व्यक्त गर्दछौं।”

यसरी बाल क्लब र स्थानीय संस्थाको सहयोगमा छेडागाड नगरपालिका वडा नम्बर १२ का धेरै विद्यालय तथा टोल हरू वातावरण मैत्री हुन थालेका छन्। हरियाली विद्यालय निर्माण गर्ने अभियानबाट बालबालिकाहरूले विद्यालय मात्र नभई विश्वमै भइरहेको जलवायु प्रभावलाई रोकथाम गर्नको लागि उदाहरणीय कामहरु गरिरहेका छन्।

‎ सामुदायिक बालक्लव हरू ले पनि टोलटोलमा सरसफाई अभियान सञ्चालन गर्छन्। प्रत्येक टोलमा फोहर खाडल हरू निर्माण गरेका छन्। प्रत्येक महिना गरिने सरसफाई अभियानमा अभिभावक गाउँ समाजका बुद्धिजीवी, जिम्मेवार निकायलाई पनि सहभागी गराउँछन्।

‎बाल क्लबहरू ले गरेका यस्ता अभियान र कार्यक्रमहरूले गाउँबस्ती सुन्दर र सफा देखिन थालेको छ। साथै विद्यालयहरू हरियाली देखिन थालेका छन्। यस्ता अभ्यासहरू ले वातावरण संरक्षण र जलवायु प्रभाव न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्छन्। यस्ता अभियानहरू को अगुवाई स्थानीय सरकारले गर्ने हो भने अझै वातावरणमैत्री समाजको निर्माण गर्न सकिन्छ।

‎वातावरण मैत्री समाज र जलवायु प्रभाव न्यूनीकरणको लागि स्थानीय सरकारको भूमिका पनि उत्तिकै रहन्छ।

‎नगर बाल अधिकार समितिका संयोजक चन्द्रबहादुर थापा अपिलका अनुसार प्रत्येक वर्ष पालिकाले नगरपालिका कै उत्कृष्ट काम गर्ने बाल क्लबहरू लाई बजेट छुट्याउने गर्छ। जसमा डोको अभियान,

‎हरित विद्यालय निर्माण तथा प्लास्टिक मुक्त विद्यालय जस्ता कार्यक्रम गरेका बालक्लव हरू पनि पर्ने गर्छन्| उक्त बजेटले बाल क्लबहरू ले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्छन्। साथै वृक्षारोपण को लागि आवश्यक पर्ने बोट बिरुवाहरू खरिद गर्छन्।

‎यसरी छेडागाड नगरपालिकाका विभिन्न बाल क्लबहरू ले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि कार्यक्रम गर्दै आइरहेका छन्। वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणको लागि बाल क्लबले गरेका यी प्रयासहरु उदाहरणीय छन्।

बालक्लव को यो प्रयास देखेर गाउँमा अभिभावकहरू पनि खुशी हुनुहुन्छ। गाउँका एक अभिभावक भन्नुहुन्छ “पहिला पहिला यि बच्चाहरू के घरको काम छोडेर क्लब क्लब भन्छन् जस्तो लाग्थ्यो। त्यसै समय बर्वाद गर्न गए जस्तो लाग्थ्यो। तर यिनिहरुको काम देख्दा चाहिँ हाम्रो छोराछोरी हाम्रो लागि मात्र होइन गाउँ टोलको लागि पनि सोच्ने बुझ्ने भइसकेछन् भन्ने लाग्यो। राम्रो काम गरेका छन् सरसफाई गर्छन्, जथाभावी फोहर नफाल्न सम्झाउँछन्, बोटबिरुवा रोप्छन्। राम्रो गर्या छन्।”

सबैको साथ सहयोग पाए बालबालिकाले पनि परिवर्तन गर्न सक्छन् भन्ने उदाहरण हुन् छेडागाड नगरपालिका १२ का बालक्लव हरु। साना हातहरुले ठुलो योगदान गरेका छन् बालक्लव मार्फत।

‎छेडागाड नगरपालिका नगर बाल सञ्जालको अध्यक्ष हसिँला खत्री भन्नुहुन्छ “हामीले मात्र गरेका प्रयासले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सकिँदैन। यसको लागि स्थानीय सरकार देखि लिएर सम्पूर्ण जिम्मेवार निकायहरु लागि पर्नुपर्छ। मलाई विश्वास छ हामी बालबालिकाहरुले सुरुवात गरेका यी अभियानहरु देशैभरि सञ्चालन हुनेछन् र हाम्रो देश वातावरण मैत्री देशमा परिणत हुनेछ।“

‎जलवायु परिवर्तनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्नका लागि स्थानीय सरकार जिम्मेवार निकाय लगायत सबैजना लागि पर्न जरुरी छ। वातावरण संरक्षण सम्बन्धी अभियान हरूलाई देशव्यापी रूपमा सञ्चालन गर्न जरुरी छ। यस्ता अभियान हरूलाई सञ्चालन गरी निरन्तरता दिने हो भने बालबालिकाले कल्पना गरेको वातावरण मैत्री समाजको निर्माण हुन धेरै समय लाग्दैन।

बालबालिका परिवर्तनका बाहक हुन्, उनिहरुलाई सुनौँ,बुझौँ,र उनिहरु सँग हातेमालो गरौं, बालमैत्री र वातावरणमैत्री समाजको निर्माण गर्न लागिपरौँ।