तातोपानीमा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जुम्ला, तातोपानी गाउँपालिका जुम्लाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा पालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

शिक्षा प्रमुख सुरत बहादुर शाहीका अनुसार हाजिरीजवाफ प्रतियोगितामा हिमशिखर माध्यमिक विद्यालय प्रथम, नेत्रज्योति माध्यमिक विद्यालय द्वितीय र दुर्गा माध्यमिक विद्यालय तृतीय भएका छन्। बाँकी सहभागी विद्यालयहरूलाई सान्त्वना पुरस्कार प्रदान गरिएको उनले जानकारी दिए।

त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा नेत्रज्योति माध्यमिक विद्यालय, हाकुकी छात्रा स्वीकृति उपाध्याय प्रथम, दुर्गा माध्यमिक विद्यालय, लाम्राकी छात्रा अनुराधा चौलागाईं द्वितीय तथा जनजागृति माध्यमिक विद्यालय, बारागाउँकी छात्रा नन्दकला रावत तृतीय भएकी छन्। अन्य सहभागी विद्यालयहरूलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको शिक्षा प्रमुख शाहीले बताए।

कार्यक्रममा तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, प्रतिभा र सिकाइ क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताइन्।
त्यसैगरी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रभाव मूल्याङ्कन गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उल्लेख गर्दै विद्यार्थीहरूको ज्ञान, क्षमता र प्रस्तुतीकरण सीप अभिवृद्धिमा यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा पालिकाभित्रका माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।