जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका वडा नं ८ लाई महिनावारी विभेदमुक्त तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार एक समाराेहका बीच वडा नम्बर ८ कि महिनावारी विभेदमुक्त तथा बालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे । राष्टि्य स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य विनिता कठायतले उक्त घाेषणा गरिन् ।
उक्त अवसरमा बाेल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य विनिता कठायतले छोराछोरी बीचको विभेदका कारण बालविवाहका घटना बढेको बताइन् । उनका अनुसार अभिभावक सचेत नभएसम्म समाज रुपान्तरणमा चुनौती देखिएकाले विभेदकारी सोच हटाउन जरुरी छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले विभेद रहित समाज निर्माणका लागि अभियान सफल बनाउन सबै तहबाट सहयोग गर्नुपर्ने बताए । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले समग्र गाउँपालिकालाईनै विभेदमुक्त बनाउने अभियान थालिएको बताए । सोही अभियान अन्तर्गत दातृ संस्थाहरुको समन्वयमा ८ नम्बर वडालाई महिनावारी विभेद तथा बालविवाह मुक्त घोषणा गरिएको उल्लेख गरे ।
सर्वाेदय नेपालकी अध्यक्ष नारायणी चाैलागाईले समाज निर्माणका लागि मानवीय र सामाजिक विकासमा दिनु पर्नेमा जोड दिईन् । सर्वोदय नेपालले जुम्लालाईनै विभेदमुक्त बनाउन २३९ महिला समुह मार्फत हजारौ नागरिक माझ पुगेर जनचेतना मुलक कार्यक्रम गर्दै आएको उल्लेख गरिन् । हिंसामुक्त समाज सर्वोदयका कार्यक्रम केन्द्रित रहेको बताईन् । महिला भएकै कारण महिनावारी विभेद भोग्नु पर्ने बाध्यता छ । महिला शसक्तिकरणका पनि विभेदमुक्त समाज निर्माण प्रथामिकतामा रहेको उनको भनाई छ।
घोषणा पूर्व विभिन्न १५ वटा सूचक र २० वटा प्रक्रिया पूरा गरेर वडालाई बालविवाह र महिनावारी विभेदमुक्त घोषणा गर्न सफल भएको तातोपानी-८ का अध्यक्ष नर बहादुर रावतले बताए । सामाजिक कुरितीमुक्त समाज निर्माण गर्ने अभियानमा सबैको सहकार्य र समन्वयबाट सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे । साथै वडाध्यक्ष रावतले १० बुदे घोषणापत्र समेत सार्वजनिक गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले घोषणा प्रक्रियालाई दिगो र कार्यान्वयनमा जोड दिए । बिवाह २० वर्षपछि मात्र नभई सक्षम भईसकेपछि मात्र विवाह गर्नुपर्छ भन्ने।सोचको विकास गर्नु पर्नेमा जोड दिए ।

जुम्ला दर्पण । १४ असार २०८३, आईतवार २२:१३