जुम्ला : कर्णाली र सुदूरपश्चिम क्षेत्रमा लाेकप्रिय छ,देउडा । देउडा यसक्षेत्रकाे प्रमुख संस्कृतिसमेत हाे । पश्चिम क्षेत्रकाे पहिचानका रूपमा रहेकाे देउडा लय हालेर गाइन्छ । परम्परागत रूपमा गायिदै आएकाे देउडा विसकाे दशकपछि मात्र औपचारिक रूपमा रेकर्डिङ भएकाे थियाे ।
पहिलोपटक देउडा रेकर्ड गराउने गायक हुन, जुम्लाका महाशंकर देवकाेटा । उनी नेपालका पहिलाे देउडा गायक हुन् । देवकोटाकै पुस्ताका सुदूरपश्चिमका नन्दकृष्ण जाेशीहरूले देउडालाई थप चिनाउन भुमिका खेले ।
जाेशी त अहिलेपनि देउडा प्रवर्द्वनमा सक्रिय छन् । उनलाई देउडासम्राटसमेत भन्ने गरिन्छ । देवकाेटाकाे देहावसान भइसकेकाे छ ।
नयाँपुस्तामा रेखा जाेशी,चक्र बम,टंक तिमिल्सिना, लक्ष्मी मल्लहरूले पनि उत्तिकै याेगदान दिइरहेका छन् । बम भन्छन्,` देउडा हाम्राे पहिचान हाे । यसलाई समय सापेक्ष प्रविधिकाे प्रयाेग गरेर अझै परिस्कृत गरिरहेका छाै ।´
उनी पछिल्लाे पुस्ताका लाेकप्रिय गायक,माेडल र स्रष्टा हुन् ।
कर्णालीका हुम्ला,कालीकाेट,मुगु र हुम्ला जिल्लामासमेत प्रसस्तै देउडा गायकहरूले युट्युबमा देउडामार्फत कर्णालीलाई चिनाइरहेका छन् ।
पछिल्लो समय युट्युबमा लाइफ देउडा गाउनेहरूकाे भीड नै लागेकाे छ । दुरदर्पण नामक युट्युब च्यानलले लाइफ देउडा प्रसारण गर्दै आएकाे छ ।
उक्त च्यालनमा गीत गाउने कालीकाेट,हुम्ला र जुम्ला तथा सुदूरपश्चिमका गायक,गायिका छन् । गायक गायिकाहरूले आफ्नै युट्युब च्यानलबाट पनि देउडा गीत ल्याउने गर्छन् ।
नयाँपुस्ताका गायक,गायिकाहरूमा बाजुराकी इब्सन सञ्ज्याल,प्रशुराज पाण्डे रहेका छन् । हुम्लाका नवराज भण्डारी,वनकला सञ्ज्याल, फूलमाया शाही लगायत छन् भने कालीकाेटका विपना सिंह, महेन्द्र शाही रास्काेटी, सुरेश शाही रहेका छन् ।
उनीहरूले कर्णाली क्षेत्रमा प्रचलित देउडालाई मुख्य केन्द्रविन्दु बनाएर गाउने गरेका छन् । पुराना भाकामार्फत कर्णालीलाई चिनाउन उनीहरूकाे भुमिका महत्त्वपूर्ण छ ।
उनीहरूले गाएका गीतहरू यस क्षेत्रका नागरिकहरूकाे प्रमुख राेजाइमा पर्नु गरेका छन् । ती गीत युट्युबमा प्रसारण हुन बित्तिकै पछ्याउनेकाे संख्या अधिक हुने गरेकाे छ ।
प्रविधिकाे विकाससँगै गाउँघरमा यस्ता भाका घन्किन छाडेका छन् । तथापि युट्युब लगायत सामाजिक सञ्जालहरूमार्फत उनीहरूले देउडालाई चिनाउन भुमिका खेलिरहेका छन् । यसलाई विश्वब्यापीकरण गर्नसमेत उनीहरूकाेे अहम भुमिका रहेकाे छ ।
उनीहरूले कर्णालीको हरेक दुःख, समस्या, अभाव मात्रै होइन, यहाँको पर्यटकीय सम्भावना, उत्पादित वस्तुहरूको बारेमा समेत गीतसंगीतबाट बजारीकरण तथा प्रवर्द्धन गरिरहेका छन् ।
प्राचीनकालमा देवताले गाएर नाच्ने गर्थे, जुन कुरा गीतबाट प्रस्ट हुन्छ । उनीहरूले गाएका गीत संगीतपनि कानमा गुन्जिएको आभास हुने देउडाप्रेमीहरू बताउँछन् ।
सुदूर र कर्णालीका गाउँपिच्छे देउडाका पारखी
चन्दननाथ नगरपालिका-१० (तत्कालीन कार्तिकस्वामी गाविस-२) बोहोरागाउँका स्वर्गिय महाशंकर देवकोटाले देउडा गायनमार्फत अघिल्लो पुस्तामा जुम्लाको लोकसंस्कृतिलाई राष्ट्रियस्तरमा चिनाएका थिए ।
देउडा नाचमा गाइने गीतलाई पनि दोहोरी भनिन्छ भनेर चिनाउन उनको भूमिका निकै महत्त्वपूर्ण छ । नाचसँगे ठिटाठिटीहरूले देउडा गीत गाउँछन्, यो गीतमा बाजा बजाउने चलन छैन, देउडा गीत सुदूरपश्चिमको प्रसिद्ध लोकसंस्कृति हो ।
उनले ९ पुस ०२० मै पहिलोपटक रेडियो नेपालमा गाएका थिए । बिरामीलाई औषधिजस्तै देउडा देवकोटा त्यतिवेला देउडा गीत बिरामीले सुने औषधिको काम गर्छ भन्थे ।
दिनभरिको कामले थाकेको शरीर साथीसँग बसेर देउडा गीत गाएर खेल्दा थकाइ पनि मेटिन्छ र विचार पनि आदानप्रदान हुन्छ । देउड़ा गायनको उत्पत्ति सामवेदबाट भएको हो ।
गायक देवकोटाले ‘खेल्दा खुट्टा बांगा गरेर चलाउने तथा देब्रे खुट्टा अगाडि बढाउने र देउडिएर खेल्दै गाइने भएकाले यस गीतको नाम देउडा गीत भएको हो भन्ने विचार राखेका थिए ।
देवकोटापछिका लोकदोहोरी गायक विमला शाही, कर्ण बुढ्थापा, छत्र शाही पनि जुम्लाकै हुन्।
हिमा गाउँपालिका-७ जुम्लाका छत्र शाही अहिले लोकदोहोरी गीतसंगीत प्रवर्द्धन गर्ने कार्यक्रम इन्द्रेणीमा आबद्ध छन् । उनले पनि गीतसंगीतके माध्यमबाट जुम्लालाई राष्ट्रियस्तरमा पहिचान दिएका छन् ।
लोकगायकलाई सम्मान छैन विमला शाही पनि जुम्लाकी लोकप्रिय लोकदोहोरी गायिक हुन् । उनले पनि रेडियो नेपालमा गीत गाएर आफूलाई प्रमाणित गरिसकेकी छिन् । उनले भनिन्, ‘त्यतिवेला गीतको एल्बम निकाल्ने तयारी भए पनि आर्थिक अभावका कारण एल्बम निकाल्न सकिएन ।
कलाकारलाई अझै पनि पर्याप्त मान, प्रतिष्ठान सम्मान दिइँदैन । राज्यको लगानी पनि नहुँदा लोकप्रिय कलाकार पनि हराउँदै जानुपर्ने स्थिति हुँदो रहेछ।’
पञ्चकली बुढा पनि जुम्लाकी नवनायिका हुन् । दुर्गम पातारासी गाउँपालिका-५ की बुढाले कर्णाली प्रदेशको मुकाम सुर्खेतमा हालै सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन । बुढाले सम्मानपत्रसहित २५ हजार नगद प्राप्त गरेकी थिइन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाकी महिला उपाध्यक्षसमेत रहेकी बुढाले गीतसंगीतमा निकै चासो देखाउँदै आएकी छिन् । उनले भनिन्, ‘अवसर प्राप्त भए पछि पर्नेछैनौं ।’ गीतसंगीतके माध्यमबाट जुम्लालाई राष्ट्रियस्तरमा चिनाउने जिम्मेवारी हाम्रो काँधमा रहेको उनले बताइन् ।
शुभाकर विश्वकर्मा । २८ भाद्र २०८१, शुक्रबार १९:४४