कठै,उडाउने सपना देखाएर पखेटा
काटिदिने तिम्रो सपना !
सपना सपना मै सिमित रहेकोले
दुखेसो गर्दैछौं कि ?
सबै योजना बनाउँदा बनाउँदै
असफल रहेको तिम्रो त्यो प्रयास प्रति
गुनासो व्यक्त गर्दै छौं ?
खेर छाड !
पुतली हुँ म सधैं तिम्रो मुठ्ठीमा कैद भएर
क्यारी बस्न सक्थे र?
हो म मान्छु झुसिलिकिरा हुँदा तिम्रो
हात पर्या थे,
बिस्तारै झुसिलिकिराबाट पुतलीमा
परिणत हुँदै गाको थे,
झुसिलिकिरा हुँदा कसिएका ती तिम्रा हातहरु
पुतली हुँदा म तिम्रो दर्दनाक मुठ्ठीबाट
उम्कन सफल रहेँ
उफ ! सफल रहेँ के भन्नु र खै ?
बाध्य भए !
उडाउने सपना देखाएर पखेटा काटिदिने
तिमी र तिम्रा मालिका सपना अधुरै रहेँ ।
भर्खरै मात्र फट्फट्याउन थालेका मेरा ती कलिला पखेटा काटिदिएर तिम्रै अनि तिम्रा
मालिका ईशारामा नचाउन चाहने तिम्रो योजना
उफ ! साच्चै हृदयघाती!
पखेटा काटिदिनु नै थियो भने उडाउने
सपना किन देखाएको ?
थाहै थियो त तिमीलाई तिम्रो योजना यो पुतली हरकेस सफल हुन दिन्ने भन्ने,
फेरि असफल हुने योजना किन बनाएको ?
मेरो पखेटा काट्न लागी परेका तिमी
अनि तिम्रा ती मालीहरुलाई,
हार्दिक श्रद्धाञ्जली !
त्यो नर्क जस्तो तिम्रो मुठ्ठीमा म दबिएर,
निस्सासिएर कति दिन पो बाँच्न सक्थे र ?
प्रयास त निकै राम्रो गरेका थियौं तर
दुर्भाग्यबस् यो पटक मेरा पखेटा झन् मज्बुत भएर पलाएको कुरा तिमीलाई
हेक्का नै रहेनछ क्यारे !
त्यो नर्क जस्तो मुठ्ठीमा कैद गरेर मलाई मृत्युको मुखमा पुग्न बाध्य नगरिदिएको भए,
मेरो अस्तित्व मेटाउन यती धेरै जालझेल नबुनीदिएको भए ?
सायद ! आज म तिम्रै बगैंचामा खेलिरहेकी, नाचिरहेकी निस्फिक्रि भएर
रमाईरहेकी पुतली हुन्थे होला ?
कति बस्नु ती नर्क जस्तो मुठ्ठीमा कैद भएर, निस्सासिएर, पिल्सिएर अनि रोएर ?
तिम्रो त्यो पिडादायक मुठ्ठीबाट उम्कन हो
मैले स्वतन्त्रता रोजेको !
म माथी अनेकौं षड्यन्त्र रचेर मलाई झुटा आरोप लगाएर मेरो जिन्दगी किरा सरह बनाउन
लागी परेका तिम्रा ती योजना र
अनेकौं प्रयासलाई चिर्दै म मेरै खुल्ला
बगैंचामा पुतली सरह उडि छाड्ने छु !
यो त केवल झुसिल्किराबाट
पुतलीमा परिणत हुँदाको सुरुवाती चरण हो
पुर्ण रूपमा पुतली बनी,
आफ्नै बगैंचामा उड्न बाकी नै छ।
उफ !
उडाउने सपना देखाएर पुन:
पखेटा काटिदिने तिम्रो अनि
तिम्रो मालीको रहर केवल
रहर मै सिमित रहने भए
तिमी अनि तिम्रो मालीलाई
हार्दिक श्रद्धाञ्जली !
– स्वस्तिका ढुंगाना /चितवन
जुम्ला दर्पण । १ भाद्र २०८१, शनिबार ११:५०