सिंजा गाउँपालिकाको नमुना कार्य : शैक्षिक सुधारका लागि विद्यालयमा वडा समिति गठन

विजय रावत,जुम्ला

जुम्लाको सिंजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अवस्थालाई सुधार गर्न पालिकाभित्रका सामुदायिक विद्यालयमा वडा समिति गठन गरेको छ । विद्यालयमा खस्कदै गएको शैक्षिक अबस्थालाई गुणस्तर कायम गर्नका लागि पालिकाको छ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमुख शंकर धितालले जानकारी दिए ।

वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई चलायमानदेखि नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप जिम्मेवार बनाउन विद्यालयमा वडा समिति गठन गरेको शिक्षा शाखाका प्रमुख धितालको भनाइ छ । पालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम समेत संचालन गरेको धितालले जानकारी दिए ।

सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले अभिभावक शिक्षा कार्यक्रम विद्यालयको शैक्षिक अवस्था र विद्यार्थीको सिकाइ क्रियाकलापको निगरानी राख्नेदेखि अभिभावकलाई जिम्मेवार बनाउन, घरमै विद्यार्थीलाई पढाइको वातावरण तयार पार्न सहयोगी हुने बताइन ।

शिक्षा क्षेत्रलाई केही सुधार गर्न यहाँका विद्यालयमा वडा समिति र अभिभावक शिक्षा कार्यक्रमले महत्वपुर्ण भूमिका हुने भएकाले अभिभावक, शिक्षक तथा बिध्यार्थीबीच अन्तरक्रिया र विद्यालयको आमूल शैक्षिक परिबर्तनका लागि अभिभावक शिक्षा कार्यक्रम संचालनमा स्थानीय सरकारको विशेष ध्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालको भनाइ छ ।

विद्यार्थीको वास्तविक सिकाइको अवस्था पहिचान गर्न शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र अभिभावकबीच शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई हल गर्न पालिकाको शिक्षा शाखाले संचालन गरेको सो कार्यक्रम महत्वपूर्ण रहेको मालिका मावि धापाका शिक्षक परेक खत्रीले बताए ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउनु भन्दा पहिला नै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि बिद्यालयको समस्या, गुनासो र शैक्षिक क्षेत्रलाई विकास गर्न सबै निकायबाट सुझाब संकलन गरेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाले विद्यालयमा लागू गरेको वडा समिति गठन र अभिभावक शिक्षा कार्यक्रमले यहाँका विद्यार्थीलाई निकै राहत पुगेको विद्यार्थीहरु बताउँछन् ।