जुम्ला — तातोपानी गाउँपालिकामा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि तीन दिने “विद्यालय व्यवस्थापन र नेतृत्व” सम्बन्धी पुनर्ताजगी तालिम आज सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयका अध्यक्षहरूको सहभागितामा सञ्चालन गरिएको उक्त तालिमले विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा नेतृत्व क्षमतालाई सुदृढ गर्ने उद्देश्य राखेको थियो।
तालिम अवधिभर सहभागीहरूलाई विद्यालय सञ्चालनका व्यावहारिक पक्ष, नेतृत्व विकास, अधिकार र जिम्मेवारीका विषयमा विस्तृत रूपमा सहजीकरण गरिएको थियो। सहयात्रा तेस्रो परियोजनाका शिक्षा प्रमुख खेमराज लामिछानेले नेतृत्व विकास र अधिकारसम्बन्धी सत्र सञ्चालन गर्दै सहभागीहरूलाई विद्यालय सुधारमा नेतृत्वको भूमिकाबारे प्रष्ट पार्नुभएको थियो। छलफलका क्रममा विशेषगरी शिक्षा प्रणाली, विद्यालयको समग्र विकास र बालबालिकाको सिकाइ उपलब्धि कसरी बढाउने भन्ने विषयमा केन्द्रित बहस तथा अन्तरक्रिया भएको थियो।
कार्यक्रमको समापन सत्रमा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विद्यालय व्यवस्थापन समितिहरूले शैक्षिक सुधारमा खेलेको भूमिकाको प्रशंसा गर्दै सहयात्रा तेस्रो परियोजना, किर्डाक नेपाल र सेभ द चिल्ड्रेनप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले तातोपानी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप वृहत् लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
त्यसैगरी, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले तालिममा सिकिएका ज्ञान, सीप र अनुभवहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै सहभागीहरूले आफ्नो-आफ्नो विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहयात्रा तेस्रो परियोजनाका प्रमुख राम रावलले हालसम्म गरिएको लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको गुनासो गर्दै आगामी दिनहरूमा सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले यस्ता तालिमहरूले विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने र लगानीअनुसारको नतिजा हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
समग्रमा, उक्त तालिमले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति थप सचेत बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

डिल्ली कामी । १० चैत्र २०८२, मंगलवार १९:३२